नेपालमा हालको परिवर्तन र संघीय गणतन्त्रको जग माओवादी जनयुद्ध नै थियो ।
१० वर्ष लामो संघर्षपछि नेपालमा अधिनायकवाद सिध्याउँदै संघीय गणतन्त्र स्थापना गर्यो । त्यसका लागि हजारौंले बलिदान दिए । नेकपा माओवादी केन्द्रको नेतृत्वमा भएको जनयुद्धले जनतामा चेतना मात्रै जगाएन, देशमा व्यवस्था परिवर्तनलाई पनि सम्भव बनायो ।
पुरातन मूल्य मान्यता, संस्कार, धर्म र अन्धविश्वास नै समाज रुपान्तरणको मुख्य समस्या भएको माओवादीको तत्कालीन निष्कर्ष थियो । यद्यपि माओवादी र कम्युनिष्टहरुले अहिले पनि यो मुद्दालाई छाडेका छैनन् ।
भौतिकवादी या कम्युनिष्ट यी दुवै पक्षले पुरातन मूल्य मान्यतालाई मिथक र कु–संस्कारका रुपमा लिन्छन् । हो केही कु–संस्कार पनि छन् । तर, त्यो कु–संस्कार अन्त्यका लागि संरचना नै नभत्काइ सम्भव नहुने कम्युनिष्टहरुको मुल एजेण्डा हो । सोही मुद्दाकै कारण माओवादी सत्तामा पुग्यो ।
सत्तामा पुगेपछि अब त समाज परिवर्तन हुन्छ भन्ने जनतामा ठूलो अपेक्षा थियो । हिजो जसले समाजका मूल्यमान्यता भत्काउने निर्देशन दिए उनीहरु नै अहिले तिनै मूल्य मान्यतालाई राजनीतिक हतियारको रुपमा प्रयोग गर्दैछन् ।
जब नेतृत्वको बोल्ने शैली र व्यवहारबीच भिन्नता आउँछ तब विचारबाट स्खलित भएको मान्ने सकिने जानकार बताउँछन् । महेन्द्रबहादुर शाही हाल कर्णालीका मुख्यमन्त्री हुन् । हिजो सामाजिक मान्यता भत्काउने र समाज विकासशील नहुनुको मुख्य कारण नै धार्मिक आस्था भएको निचोडसहित ती संरचना भत्काउँदै हिँड्नेमध्येका एक उनी पनि हुन् ।
जिउज्यानको परवाह नगरी उनले देशमा व्यवस्था परिवर्तनका लागि लडे । परिवर्तन पनि ल्याए । तर, व्यवस्था परिवर्तनपछि के ? अहिले नेतृत्वका व्यवहार देखेर जनता प्रश्न गर्दछन्, के हिजोको त्यो लडाईं र आक्रोश केवल सत्ता प्राप्तिका लागि मात्रै हो त ? संघीयता लागू भएसँगै प्रदेश सरकारहरु गठन भए ।
कर्णालीको पहिलो मुख्यमन्त्रीका रुपमा यीनै शाही चयन भए । धर्मनिरपेक्षताका पक्षधर हुँ भन्दै हुँकार दिने शाहीले आफ्नो पदभार सम्हाल्नुअघि तिनै मान्यताको संरक्षणमा गए जसलाई युद्ध लड्दा भत्काउँदै हिँडेका थिए ।
मठमन्दिर भत्काएनन् मात्रै, त्यहाँ आस्था राख्ने र पूजापाठ गर्नेको टुप्पीसम्म काट्न भ्याए । तर, उनै शाही जो वर्ग संघर्षबाट स्थापित भएका थिए पदभार सम्हाल्नुअघि मन्दिरमा पूजा गर्न गए । पूजा मात्रै गरेनन् कालो बोकाको बली नै दिए । आखिर उनको पदका लागि एक निर्दोश पशुको हत्या किन ।
त्यतिबेला निकै आलोचित भएका थिए शाही । तर, नेतृत्वमा बसेपछि सबै आस्थाप्रति सम्मान राख्नुपर्ने भन्ने तर्क प्रस्तुत गरियो । हो यो एक हदसम्म सही हो । तर, हिजो जुन एजेण्डा लिएर सत्ताविरुद्ध युद्धमा होमिए फेरि तिनै संरचना जोगाउन किन त ? दश वर्षे सशस्त्र युद्धको समयमा मन्दिर भत्काउनेदेखि धार्मिक अनुष्ठानहरु विथोल्ने काम गरेको माओवादीका तत्कालीन छैटौं डिभिजन कमाण्डर हुन् शाही ।
अहिले फेरि उनै मुख्यमन्त्री शाही एउटा भवन शिलान्याश गर्नुअघि धामी झाक्रीबाट पूजा गराउँछन् । मंगलबार गृह जिल्ला कालिकोटको पचालझरना–तीन पडेथामा गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको धामीद्वारा पूजा गराएर शिलान्यास गराइएको हो ।
अहिले उनको उक्त पूजाको भिडियो भाइरल बनेको छ । मुख्यमन्त्री शाहीलाई धेरैले विचारबाट स्खलित हुँदै अब धार्मिक आस्थाको आड लिन खोजेको आरोप लगाएका छन् । कतिपयले त जलवायु परिवर्तनको असर भन्दै व्यङ्ग्यसमेत गरेका छन् ।
सुर्खेतका पत्रकार गोविन्द खत्री भन्छन्, ‘देउताका थान भत्काउने, धामीको टुप्पी काट्नेहरु कित छिट्टै परिवर्तन भएका ? जलवायु परिवर्तनको असर नपर्नुपर्ने हो यस्तोमा !’ उनले मुख्यमन्त्री हुँदा मन्त्रालय छिर्नुअघि कालो बोका काटेको प्रशंग पनि कोट्याएका छन् । मंगलबारको घटनाले पनि सामाजिक सञ्जालमा चर्चा पाएको छ । यतिबेला मुख्यमन्त्री शाही मात्रै होइन नेतृत्वमाथि नै प्रश्न तेर्सिएका छन् ।
ठेक्का आव्हान भएपछि तीन करोड ८५ लाखमा पुष्पाञ्जली पीएस जेभी प्रालिले भवन निर्माणका लागि सम्झौता गरिसकेको छ । मुख्यमन्त्रीले मंगलबार ‘पचालो’ देवताका मूल धामी धनसिंह ऐडीको हातबाट चामल लिएर भवन शिलान्यास गरे । यति मात्र होइन, उक्त जग्गासमेत देवताको नाममा रहेको पाइएको छ । देवताका नाममा रहेकाले अनुमतिका लागि पूजा गरिएको र धामीले अक्षता दिएपछि शिलान्यास भएको गाउँपालिकाले जनाएको छ ।
माओवादीको आधार इलाका कर्णाली नै थियो । उनीहरुले द्वन्द्व पनि यही प्रदेशबाटै सुरु गरेका थिए । धार्मिक मान्यता भत्काउनु पहिलो योजना थियो । सोही अनुसार स्थानीयको आस्थामाथि धमाधम प्रहार भयो । त्यसको विरुद्ध जाने कतिको त हत्या नै भयो । मन्दिरका मुर्तिहरु लुटेर हतियारसमेत बनाइयो । तर, अहिले उही नेतृत्व त्यहि संरचना र मान्यता पूज्दै हिँड्नु चाहिँ आश्चर्यलाग्दो छ ।
कतिपयले त पछि फर्किए भन्ने तर्क पनि गर्दछन् । तर, यसले नेतृत्व धमाधम विचार र सिद्धान्तबाट क्रमशः स्खलित हुँदैछ भन्ने बुझिन्छ । मुख्यमन्त्री शाही मात्रै होइनन् उनीहरुका सुप्रिम कमाण्डर पुष्पकमल दाहाल (प्रचण्ड)ले भैंसी पूजा गरेको घटना पनि बेलाबेला चर्चामा आइरहन्छ । केपी ओली र प्रचण्डबीच त राममन्दिर बनाउने विषयमा त जुहारी नै चल्यो ।
यदि आज तिनै मुल्यमान्यतामाथि राजनीति गर्ने हो भने हिजो युद्धमा हुँदा किन भत्काइयो अहिले जनताले तेस्र्याएको मूल प्रश्न यही हो । हुन त जति प्रश्न गरे पनि मुख्यमन्त्री शाही जवाफ दिँदैनन् । उनको नैतिकता, जिम्मेवारीमाथि जति नै प्रश्न उठे पनि उनी मौन रहन माहिर छन् ।
कृषिमन्त्रीको कुरा होस कि कालो बोका प्रकरण उनले अहिलेसम्म त्यसको जवाफ दिएका छैनन् । अब यो धामी पूजा र देवताबाट लिएको अनुमतिबारे पनि मुख्यमन्त्री कार्यालयले प्रष्टीकरण दिन्छ कि दिँदैन त्यो हेर्न बाँकी छ ।










प्रतिक्रिया दिनुहोस्