खुल्यो कर्णाली करिडोर



सुर्खेत ।

सुक्खा पहिरो पन्छाएपछि अवरुद्ध रहेको कर्णाली करिडोर सञ्चालनमा आएको छ । कर्णाली करिडोर अन्तर्गत कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ भौरेकुनामा आएको सुक्खा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको
हो । निकै ठूलो सुक्खा पहिरो आएका कारणले कर्णाली करिडोरको राजमार्ग अवरुद्ध भएको थियो ।

कर्णाली करिडोरमा आएको सुक्खा पहिरो शुक्रवार बिहान पन्छाएपछि करिडोर खुलेको र यातायातका साधन चल्न थालेको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले जानकारी दिए । ‘कर्णाली राजमार्ग अवरुद्ध भएको करीब १२ दिनपछि खुला भएको छ’ उनले भने, ‘वर्षातका कारणले धेरै ठाउँमा पहिरो गएको थियो ।

कर्णाली राजमार्गको भौरेकुना सुक्खा पहिरो सेना, प्रहरी र स्थानीयवासीको पहलमा खुल्ला गरिएको हो ।’ लगातारको वर्षाका कारणले कर्णाली करिडोर १२ दिनदेखि नै अवरुद्ध रहेको थियो । कर्णाली करिडोर कालिकोटको खुलालु–हुम्ला सडकमा वर्षातका कारणले पहिरो जाँदा अवरुद्ध भएको थियो ।

कर्णाली करिडोर अन्तर्गत कालिकोटको नरहरिनाथ गाउँपालिका–१ लालीघाट, सान्नी त्रिवेणी गाउँपालिकाको भौरेकुना, रेगिंल, कोट, आमतडा, पचालझरना गाउँपालिकाको भुराबगर–जारकोट र बाजुरा जिल्लाको करिडोरको सडकखण्डमा पहिरो गएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार १९ गते शनिबार