एमालेले निलम्बन गरेका सांसद बैठकमा सहभागी, फेरि संसद अवरुद्ध



सुर्खेत । नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशले निलम्बन गरेका तीन सांसद आजको संसद बैठकमा उपस्थिति भएपछि संसद बैठक एमाले सांसदहरुले फेरि बैठक अवरुद्ध गरेका छन् ।

फ्लोक्रस गरेर नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीको कुर्सी जोगाइदिने चार सांसदमध्य तीन जनालाई एमालेले असार १० गते फेरि निलम्बन गरेको थियो । तर निलम्बन गरेका तीनै जना एमाले सांसद बैठकमा सहभागी भएपछि एमालेले आजको बैठक अवरुद्ध गरेको हो ।

सर्वोच्च अदालतले फ्लोक्रस गर्ने चार जना सांसदलाई गरेको कारवाही नमिलेको भन्दै तत्कालका लागि यथावत राख्न आन्तरिम आदेश जारी गरेको थियो । प्रदेश सभामा सभामुख राजबहादुर शाहीले चारै जना सांसदहरु कायम भएको पत्र पढेर सुनाएका थिए ।

सांसद कायम भएको पत्र सभामुखले घोषणा गरेपछि सांसद प्रकाश ज्वाला बैठकमा सहभागी हुँदै आएका थिए । उनी प्रतिपक्षको कुर्सीमा बस्दै आएका थिए । तर तीन मन्त्री भने यसअघिका बैठकमा उपस्थिति भएका थिएनन् । एमालेले थप एक महिना निलम्बन गरेपछि एमालेबाट सरकारमा सहभागी मन्त्रीहरु अम्मरबहादुर थापा र नन्दसिंह बुढा भने आजको बैठकमा सहभागी भएका थिए । उनीहरु सत्तापक्षको कुर्सीमा गएर बसेका हुन् ।

अर्थमन्त्री शर्मा उठेपछि‘
कर्णाली प्रदेश सभाको आठौं अधिवेशनको १३ औं बैठकको कारवाही प्रारम्भ हुन्छ सभामुखले भनेपछि एमाले संसदीय दलका नेता यामलाल कंडेलले आफ्नो धारणा राख्न शुरु गरेका थिए । त्यहीँ क्रममा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मरबहादुर थापा बैठकमा सहभागी हुन्छन् । थापा आएको चाल पाएपछि आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा मन्त्री थापा तिर हेर्छन् । उनी जुरुक्क उठेर थापालाई बस्न आग्रह गर्दछन् ।

मन्त्री थापा शर्मा बसिरहेको कुर्सीमा बसेपछि शर्मा अर्को कुर्सीमा गएर बस्छन् । संसद बैठक शुरु नहुनु अगावै मन्त्री बुढा भने मुख्यमन्त्री शाहीको बायाँ कुर्सीमा बसिसकेका थिए । आजको बैठकमा कृषि मन्त्री कुर्मराज शाही भने सहभागी भएनन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार १३ गते आइतबार