बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले गरे सुटुक्क विवाह



बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सुटुक्क बिहे गरेका छन्। उनले व्यक्तिगत गोप्य समारोहका बिच वेष्टमिनिस्टर गिर्जाघरमा फिअन्से क्यारी सिमण्ड्ससँग विवाह गरेको बेलायती सञ्चारमाध्यमले जनाएको छन्।

जोन्सन र सिमण्डसले शनिबार नजिकका साथी र परिवारका सदस्यको उपस्थितिमा विवाह गरेका हुन्। प्रधानमन्त्री कार्यालयले भने विवाहबारे कुनै प्रतिक्रिया दिन अस्वीकार गरेको बिबिसीले उल्लेख गरेको छ।

तर वर्क एण्ड पेन्सन मन्त्री थेरेज कफीले ट्वीट गरेर बधाई ज्ञापन गरेकी छन्। द मेल अन सण्डेका अनुसार विवाह समारोहमा ३० पाहुना सरिक थिए।

कोरोना भाइरसको महामारीका कारण लागु भएको प्रतिबन्धात्मक नियम अन्तर्गत इंग्ल्याण्डमा बढिमा ३० जना समारोहमा सहभागी हुन पाउँछन्। क्याथोलिक परम्परा अन्तर्गत फादर ड्यानिअल हमफ्रिजले विवाह गराएको उल्लेख छ।

द सनका अनुसार प्रधानमन्त्री कार्यालयका सहयोगीहरुलाई विवाहबारे कुनै जानकारी थिएन। ५६ वर्षका जोन्सनले ३३ वर्षकी सिमण्ड्सँग विवाह गरेका हुन्। उनीहरुका छोरा विलफ्रेड गएको अप्रिलमा जन्मिएका थिए।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १६ गते आइतबार