राप्तीसोनारीका वडा सरकार आफ्नै भवनमा



नेपालगन्ज ।

बाँकेको राप्तीसोनारी गाउँपालिका ६ नम्बर वडा कार्यालयले आफ्नै नवनिर्मित भवनबाट काम सञ्चालन गरेको छ । राप्ती सोनारी गाउँपालिका अध्यक्ष एवम् प्रमुख अतिथी लाहुराम थारूले मंगलबार एक समारोहका बीच उक्त भवन उद्घाटन गरेका थिए ।

उक्त भवन ४४ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले गाउँपालिका अन्तर्गतका सबै वडाले अब आफ्नै कार्यालय भवनबाट सेवा सञ्चालन गर्ने बताउनु भयो ।

गाउँपालिकाको वडा नम्बर ३ र ६ कार्यालय यसअघि भाडामा सञ्चालन हुँदै आएका थिए ।

गाउँपालिका कार्यालयले टिनको घरबाट आफ्नो सेवा प्रवाह गरिरहेको बताउँदै अध्यक्ष थारुले भने, ‘जबसम्म संघ अथवा प्रदेश सरकारबाट गाउँपालिका निर्माण गर्नका लागि बजेट आउँदैन, तबसम्म म विकास बजेटबाट गाउँपालिका भवन बनाउन चाहदैन, किनकी हामीले भाडा तिर्नु परेको छैन, टिनको कार्यालय भवन भएपनि हामी खुसी छौं ।’

गाउँपालिकाको विकासका लागि सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेकाले आफ्नै निर्माण उपकरण (ग्रेडर, रोलर) खरिद गरेका कारण सहज भएको उनले दाबी गरे । कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्रीले गाउँ–गाउँमा विकास निर्माणका काम हुँदा पहिलेको भन्दा धेरै परिर्वतन देखिएको बताइन् ।

‘हाम्रै कार्यकालमा पनि धेरै बाटाहरु पिच भइसकेका छन्,’ उनले भनिन् ‘हामीले चुनाव जित्ने वित्तिकै २०७४ को बाढीले सारा राप्तीसोनारीलाई बगायो, हाम्रो बजेट त्यहाँ खर्च भयो, हामी पहिलो वर्ष बाढी पीडितको ब्यवस्थापनमै अल्मलियौं, अहिले फेरी कोरोना महामारीले अस्तब्यस्त पारेको छ ।’

राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बिकले वडा कार्यालय जनताको कामसँग प्रत्यक्ष जोडिएको बताउँदै हरेक कामको सिफारिस गर्दा जनप्रतिनिधीले विशेष ध्यान दिनुपर्ने सुझाव दिए ।

जनप्रतिनिधीले गरेका निर्णयलाई कार्यान्वयन गर्ने जिम्मा कर्मचारीको भएको उनको भनाई छ । ‘जनप्रतिनिधीको महत्वपुर्ण सहयोगी हातको रुपमा कर्मचारी हुन्छन्, जनप्रतिनिधीले गरेका निर्णयलाई कर्मचारीको पाटोबाट कार्यान्वयन गरिन्छ,’ उनले भने ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष जनकबहादुर थारुले वडा कार्यालयले करिव चार वर्षसम्म भाडामा बसेर काम सञ्चालन गरेकोमा अब आफ्नै भवनबाट जनतालाई प्रभावकारी सेवा दिने प्रतिवद्धता बताए ।

‘वडा कार्यालयको भवन निर्माणका लागि जसले जग्गा प्रदान गर्नुभयो, म जग्गा सहयोगी दातालाई हृदयदेखी धन्यवाद दिन्छु,’ उनले भने ।

उद्घाटन कार्यक्रमलाई राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष रामलखन थारु, वडानम्बर ८ का वडाअध्यक्ष खुमबहादुर बस्नेत, नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष गोबिन्द दहित, नेपाली कांग्रेस राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का सभापति मदन बुढा र वडा नम्बर ६ का वडा सदस्य कुलबहादुर थारुले सम्बोधन गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ मंसिर २४ गते बुधबार