जिल्लाको वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोइलीमा ‘अर्ध नारेश्वर’को मुर्ति स्थापना गरिएको छ । त्यहाँको रहेको शिव मन्दिरमा शनिबार ‘अर्ध नारेश्वर’को मुर्ति स्थापना गरिएको हो ।
मन्दिरमा स्थापना गरिएको ‘अर्ध नारेश्वर’को मुर्ति ५१ फिट अग्लो रहेको छ । धार्मिक तथा पर्यटनको विकासका निम्ति लगाइएको महाँपुराणबाट संकलित रकमले ‘अर्ध नारेश्वर’को मुर्ति निर्माण गरेर त्यहाँ राखिएको थियो ।
प्राचिनकालमा एउटै ढुंगाबाट बनेको शिवको यस मन्दिरलाई विश्व सामु चिनाउनका लागि आधा शिव र आधा पार्वतीको मुर्ती राखिएको वीरेन्द्रनगर– ९ वडाका वडाअध्यक्ष सुरेश मानन्धरले बताए ।
उनका अनुसार २१ फिटको मुर्ति र ३० फिट अग्लो मुर्ति राख्ने ठाउँ गरि ५१ फिटमा राखिएको छ । ४ सय वर्ष पुरानो शिव मन्दिरमा कान नसुन्ने र बोल्न नसक्ने व्यक्तिहरु आउँदा बोल्ने र सुन्ने भएर जाने विश्वास समेत रहेको उनले बताए ।
शिव भूमि भन्न मिल्ने लाटिकोइली क्षेत्रमा शिव मन्दिर, काँक्रेबिहार, अधेरी गुफा जस्ता स्थानले समग्र वीरेन्द्रनगरको धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित समेत रहेको छ । मन्दिरमा भेटिएको शिलालेख अनुसार साके संवत १५०४ र इस्वी संवत् १६३९ मा स्थापना भएको शिवमन्दिरमा स्थापना गरिएको उक्त मुर्तिका लागि २६ लाख रुपैयाँ लागत लागेको छ ।
साथै कर्णालीकै सबैभन्दा पुरानो इतिहाँसको रुपमा रहेको शिव मन्दिर भग्नावशेष रुपमा रहेको र विभिन्न सहयोगी दाताहरुबाट दान मागी मन्दिरलाई पुननिर्माण गरेको वडा अध्यक्ष मानन्धरले बताए ।
‘मन्दिरको व्यवस्थापनका लागि २०७५ साल साउनमा शिवपुराण महायज्ञको आयोज नागरिएको थियो । महापुराणबाट एक करोड सातलाख २९ हजार नौ सय रुपैयाँ संकलन भयो’ उनले अगाडि थपे, ‘उक्त स्थापना गरिएको अर्ध नारेश्वरको शिव पार्वतीको मुर्ति नेपालमै अग्लो र पहिलो पटक स्थापना गरिएको हो ।’
उक्त मन्दिरमा एउटै ढुंगाबाट शिव र पार्वतिको आधा–आधा शरीर जोडिएर बनेको ‘अर्ध नारेश्वर’ मुर्तिले समाजमा सकारात्मक सन्देश पु¥याउने भएकोले नयाँ योजनाका साथ लागेर नयाँ मुर्ति निर्माणको निर्णय गरिएको स्थानीयबासीले बताए ।
उनीहरुले प्रदेश र केन्द्र सरकारले पनि यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न बजेट छुट्याउनुपर्ने माग गरे । मुर्ति एउटै ढुगांबाट निर्माण भएको नेपालकै एकमात्र अग्लो अर्ध नागेश्वरको मुर्ति भएको वडा अध्यक्ष मानन्धरले दाबी गरे ।










प्रतिक्रिया दिनुहोस्