सुदीप अधिकारी । बर्दिया ।
आफ्नै घर आँगनमै विशेषज्ञ स्वास्थ्य सेवा पाइएला भनेर ठाकुरबाबा नगरबासीले सोचेका पनि थिएनन् । स्थानिय सरकारले आफ्नै नगरमा विशेषज्ञसहितको स्वास्थ्य सेवा दिने गरि अस्पताल सञ्चालन गरेपछि यतीखेर नगरबासी दंग परेका छन् ।
नगरमै अस्पताल सञ्चालनमा आएपछि विशेषज्ञ सेवा लिनका लागि पनि अन्यत्र जानु पर्ने नगरबासीको बाध्यता हटेको छ । विशेषज्ञ स्वास्थ्य सेवा घरदैलोमै पाउने भएपछि नगरबासी खुशी भएका छन् ।
ठाकुरबाबा नगरपालिकाले शनिबार आधारभूत नगर अस्पतालको औपचारिक उद्घाटन गरेको छ । पहिलो चरणमा ५ शैँयाबाट आधारभूत नगर अस्पतालको सुरुवात गरिएको छ । चरणवद्धरुपमा अस्पतालमा शैँया बिस्तार गरिने नगरपालिकाले जनाएको छ । ठाकुरबाबा नगरपालिका वडा नं १ मा रहेको नेउलापुर स्वास्थ्य चौकीको भवनलाई अस्पातलको रुपमा प्रयोग गरिएको छ ।
नगरवासीलाई स्वास्थ्यको अधिकार सुनिश्चित गर्न नगरमै अस्पताल सञ्चालन गरिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताए । नगरप्रमुख श्रेष्ठले भने, ‘नगरमै सहजरुपमा विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा पाउँनु नगरबासीको अधिकार हो । नगरबासीको अधिकार स्थापित गर्न अस्पताल सञ्चालन गरिएको हो ।’
अस्पताल सञ्चालनमा आएपछि नगरबासीलाई स्वास्थ्यमा सहज पहुँच पुगेको छ । नगरमा विशेषज्ञ सेवासहितको अस्पताल नहुँदा नगरबासी विशेषज्ञ सेवा लिन अन्यत्र जानु पर्ने बाध्यता थियो ।
अस्पतालबाट पहिलो चरणमा ओपिडी सेवा, साधारण एक्सरे, भिडियो एक्सरे, इसीजी, साधारण शल्यक्रिया, रगत जाँच, क्षयरोग जाँच, सिकलसेल जाँचलगाएतका स्वास्थ्य सेवा प्रदान गरिने ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र राजबंशीले जानकारी दिए ।
हाल अस्पतालमा १ जना एमबीबीएस डाक्टर, २ जना स्टाफ नर्स, परिचरलगाएतका कार्मचारीले सेवा प्रदान गर्ने बताइएको छ ।
नगरमै विशेषज्ञसहितको स्वास्थ्य सेवा पाइने भएपछि आफुहरु निकै खुशी भएको स्थानिय केशवप्रसाद खनालले बताए । ५ शैँयाबाट सुरुवात गरिएको अस्पतालललाई ५० शैँयासम्म पुर्याउने नगरपालिकाको योजना रहेको छ ।
५० शैँयाको अस्पताल निमार्णको कामसमेत अघि बढाइएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताए । ५० शैँयाको अस्पताल निमार्णको लागि डीपीआर तयार भइसकेको पालिकाले जनाएको छ ।
केही दिनमै अस्पताल निमार्णको कार्य अघि बढाइने नगरपालिकाले जनाएको छ । अस्पाताल निमार्णका लागि नगरले पहिलो चरणमा १ करोड रुपैँयाँ बजेट छुट्याएको छ ।
भने संघिय र प्रदेश सरकारबाट पनि केही रकम प्राप्त भएका नगरपालिकाले जनाएको छ । नगरमा एउटा विशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालसँगै पालिकाले ‘एक वडा–एक आधारभूत स्वास्थ्य केन्द्र’ भन्ने अभियान चलाएर नगरका ९ वटै वडामा आधारभुत स्वास्थ्य केन्द्र स्थापना गर्ने कार्यसमेत अघि बढाएको छ ।









प्रतिक्रिया दिनुहोस्