‘रोगले देश फर्कायो, भोकले कालापहाड’



शुभाकर विश्वकर्मा । कोहलपुर ।

बुटवलका सुरज दवाडी कोरोना महामारी सुरु भएपछि गत जेष्ठ महिनाको पहिलो साता नेपाल आएका थिए । कोरोना कहरका बीच करिब तीन महिना उनी घरसै बसे । तर कोरोना कहर कै बीच भारत फर्किदै छन् । भारतमा कोरोना संक्रमण अत्याधिक बढ्न थालेपछि रोगबाट बच्न आएका उनी भोक टार्न भएपनि भारत जान परेको सुनाउँछन् । भन्छन्, ‘कोरोनाका कारण बाँच्ने आशा गरेर आएको थिए । लामो समय बसेपछि भोकले मरिने डर भयो । त्यसैले फेरी भारत मै फर्किदै छु ।’ आइतबार नेपाल–भारत सीमा नाका जमुनाहामा भेटिएका दवाडी एक्लै थिएनन् । उनीसँग अरु चार जना पनि थिए ।

बाँकेको नेपालगञ्ज स्थित जमुनाहा नाकाबाट भारततर्फ जादै गरेका नेपाली युवाहरु ।  तस्बिर : डिल्ली शाही

भारत जानको लागि आवश्यक कागजात हातमा लिएर लाइनमा उभिरहेका उनले भारत जानु रहर भन्दा पनि बाध्यता भएको बताए । उनका अनुसार कोरोनाका समयमा घर परिवारमा खानेकुराको अभाव हुन थालेपछि कमाई गर्नको लागि जानु परेको हो । घरका जेठो छोरा उनी केहीसमय यता भारतमा एक होटलमा काम गर्छन् । ६ जनाको परिवार उनी भारत मै मजदुरी गरेर पाल्छन् । तर चैत्र यता नेपाल सरकारले लकडाउन गरेपछि उनको परिवारको आम्दानीको स्रोत नै गुमेको थियो । ‘कहिले पनि कोरोना कहर छ । के गर्ने जानै प¥यो । यहाँ बसौ भने न सरकारले केही गर्छ न खान केही छ ।’

मिसन टुडे दैनिक सँग कुराकानी गर्दै उनले भने । यस्तै गुल्मीका विष्णु राना पनि जमुनाहामा भेटिए । हिमाञ्चल प्रदेशमा मजदुरी गर्ने उनी पनि गत असारमा घर फर्किएका थिए । उनको समुहमा पनि पाँच जना थिए । नेपालमा आम्दानीको माध्यम केही नभएको र त्यहाँ स्याउको सिजन सुरु भएकोले कमाई हुने आशाले फर्किएको उनले बताए । भारतबाट आएपछि तीन महिना बिना काम घर मै बसे उनी । ‘विश्वभरी कोरोना कहर सुरु भएपछि आएको थिए । तीन महिना बसे । अलिअलि कमाएको सकियो । परिवार चलाउन समस्या भयो । यहाँ जिविकोपार्जनको स्रोत केही छैन । त्यसैले भोक टार्न भारत फर्किएको हुँ’ उनले भने ।

उनीहरु दुवै जनाले भारतको आधार कार्ड बनाएका छन् । उनका अनुसार आधार कार्ड बनाएको भएर साह्रै गाह्रो हुने रहेछ । यहाँ त आधार कार्ड नबनाएका लाई छिर्न नै दिदैन । उनीहरु मध्ये एक जनाको आधार कार्ड नभएकोले भारत जान पाएनन । उनी पहिलो पटक गाउँका साथीहरुसँग धन कमाउन भारत जाँदै थिए । उता भारत सरकारले समेत आधार नभएकालाई छिर्न दिदैन । रोजगारीको लागि कालापहाड हिडेका नेपाली आधार कार्ड नभएका कारण यति बस्न बाध्य छन् ।

राना र दवाडी त उदाहरण मात्र हुन् । अहिले जमुनाहामा रोगका कारण स्वदेश फर्किएका र भोकका कारण भारत फर्किने नागरिक धेरै छन् । उनीहरु भारत फर्किनुको कारण बेरोजगारी र सरकारको बेवास्ता नै भएको बताउँछन् । आउने जाने यो क्रममा दैनिक चलिरहेको
छ ।

नेपाल आउने र भारत फर्किनेहरुको घुँइचो

अहिले नेपाल–भारत सीमा नाका निकै व्यस्त हुने गरेको छ । भारतबाट नेपाल आउने र नेपालबाट भारत जानेहरुको निकै ठूलो घुँइचो लाग्ने गरेको हो । प्रहरीले सीमा नाकामा समेत निकै कडाई गर्दै आउने र जानेहरुको व्यवस्थापन गरिरहेको छ । चैत्र ११ गते सरकारले देशव्यापी लकडाउन गरेयता जमुनाहामा अत्यावश्यक बाहेक अन्य अवस्थामा उता छिर्न समेत पाइदैन । ६ महिनाको अवधिमा यही नाका भएर हजारौ मानिस नेपाल भित्रिएका छन् ।

यही नाका भएर विशेषगरी कर्णाली प्रदेश र ५ नम्बर प्रदेशका बहुसंख्यक मानिसहरु आएका हुन् । भारतका विभिन्न क्षेत्रमा मजदुरी गर्न गएका नागरिक कोरोना कहरका कारण स्वदेश फर्किएका थिए । तर भदौ यता भने भारतमा मजदुरी भरिरहेका नेपालीहरु भारत फर्किन थालेका छन् । एक महिनायता दैनिक भारतबाट नेपाल आउने र नेपाल आउनेहरु संख्या दैनिक बढिरहेको छ । अहिले जमुनाहाबाट नेपाल आउनको लागि अनिवार्य नेपाली नागरिकता पीसीआर रिपोर्ट माग्ने गरिएको छ । नेपालबाट भारत जानको लागि पनि अनिवार्य आधार कार्ड हुनुपर्छ ।

जमुनाहास्थित सुरक्षा अधिकारी लामो समय देखि भारतमा मजदुरी र विभिन्न शिलशिलामा बसोबास गरिहेका र आधार कार्ड बनाएका नागरिक मात्र भारत जान पाउँछन् । आधार कार्ड नभएका नागरिकलाई भारत सरकारले भारत प्रवेशको लागि अनुमति दिएको छैन । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता सुवास खड्का दैनिक सरदर एक सय ५० भारत जाने गरेको बताउँछन् । उनका अनुसार एक महिनाको अवधि अनुमानित ४५ सय जना नागरिक भारत प्रवेश गरिसकेका छन् । उनीहरु भारतीय आधार कार्ड बनाएका नेपाली मात्रै हुन् । अहिलेसम्म सबै भन्दा बढी दिल्ली र हिमाञ्चल प्रदेशमा जाने गरेका छन् ।

उताबाट पनि दैनिक १ सय जनाको हाराहारीमा नागरिक आउने गरेका छन् । ‘भारतबाट प्राय कर्णाली सहित पहाडि जिल्लाका नागरिक आएका छन् । हिमाञ्चल प्रदेशमा स्याउको सिजन सुरु भएकोले उता जान लागेको बताउँने धेरै छन् । अत्यावश्यक बाहेक अन्यलाई आवातजावतमा कडाइ गरिएको छ’ उनले भने । यस्तै नेपाल तर्फबाट सीमा नजिकैको रुपैडिहामा औषधि खरिद र उपचारको लागि मात्रै नेपाली नागरिकताको फोटोकपी राखेर मात्रै जान पाउँछन् । अन्यथा मान्छे प्रयोजनका लागि जान नदिइएको र कडाई गरिएको उनको भनाई छ ।

प्रकाशित मिति : २०७७ भदौ ३० गते मंगलबार