‘पुलिसले गैरकानुनी रुपमा निगरानीमा राख्यो’



स्वास्थ्य र चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसी यतिबेला जुम्लामा छन् । हाडजोर्नी विशेषज्ञ समेत रहेका उनी विगत सात महिनायता सुदूरपश्चिम तथा कर्णालीका दुर्गम क्षेत्रका जनताहरुको उपचार गरिरहेका छन् । लामो समयदेखि नेपालको चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसन र सत्याग्रह गर्दै आएका केसी विलासिताको जीवन त्याग गरेर सामान्य अवस्था मै रमाउने वरिष्ठ चिकित्सक समेत हुन् । पछिल्लो समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका कार्यक्रमहरु शुरु गर्नुपर्नेलगायतका मागहरु राखेर गत बिहीवारको लागि सत्याग्रहको घोषणा गरेका थिए । यसअघि उनलाई जुम्लाको स्थानीय प्रशासनले उनलाई सत्याग्रह गर्न रोेक लगाएको थियो । कोरोना कहरलाई मध्यनजर गर्दै केही समयको लागि सत्याग्रह रोकिएको उनले बताएका छन् । अझै माग पुरा नभए कुनै पनि बेला सत्याग्रह गर्ने उनको चेतावनी छ । हाल जुम्लामा रहेका डाक्टर केसीसँग शुभाकर विश्वकर्माले टेलिफोनमा कुराकानी :-

१. कोरोना कहरका बीच जुम्लामा दैनिकी कसरी बितिरहेको छ ?

केही समयदेखि जुम्ला मै छु । यहाँ बुधवारदेखि निषेधाज्ञा छ । कोरोना संक्रमण बढ्दै गएकोले यहाँको स्थानीय प्रशासनले लकडाउन समेत गरेको छ । त्यो भन्दा अघि म यहाँका दुर्गम बस्तीमा गएर विरामीको उपचार गरिरहेको थिए । केही ठाउँमा मलाई माथिको आदेश भन्दै सेवाप्रवाहमा समेत बाधा पु¥याउने काम भयो । मलाई आम नागरिकका हिसाबमा जनताको उपचार समेत गर्न दिइएन । यहाँको स्थानीय प्रशासन र पुलिसले समेत मलाई गैरकानुनी रुपमा निगरानीमा राख्ने काम गरेको छ । खास यहाँ आउनुको मेरो कारण सत्याग्रहको लागि हो । अघिल्लो पटक सत्याग्रह शुरु गर्न खोज्दा अवरोध भयो । पछि स्थानीय प्रशासनको आग्रहमा रोकियो । मैले बारम्बार सरकारलाई अल्टिमेटम समेत दिइरहेको छु । बिहीवारका लागि तय भएको सत्याग्रह कोरोना कहरका कारण फेरी रोकेका छांै । सरकारले माग पुरा गरेन भने कुनै पनि बेला हाम्रो सत्याग्रह सुरु हुन्छ ।

२. जुम्लामा गर्ने भनिएको सत्याग्रह बारम्बार स्थगित हुनुको कारण के हो ?

लामो समयदेखि सुदूर पश्चिम र कर्णाली क्षेत्रमा छु । पछिल्लो समय जुम्लामा बिहीवारको लागि हामीले सत्याग्रह घोषणा गरेका थियौं । तर कोरोना कहरको कारण देखाउँदै बुधवारदेखि यहाँको स्थानीय प्रशासनले लकडाउन गरेको छ । यति मात्रै होइन केन्द्रदेखि प्रदेश सरकारले समेत हाम्रो सत्याग्रहलाई दमन गर्नको लागि लागिरहेका छन् । यति हुँदाहुँदै पनि हामी निरन्तर अघि बढिरहेका छौं । अहिले कोरोना कहर फैलिएकोले पनि यस्तो परिस्थितिमा जुम्लाबाट हाम्रो अभियानलाई निरन्तर साथ दिइरहने आम नागरिक र जुम्लावासीको विशेष आग्रहलाई मनन् गर्दै हामीले सत्याग्रह कार्यक्रम केही समयका लागि स्थगन गरेका छौं । सरकारले मागहरु पूरा नगरेको खण्डमा कुनै पनि बेला पुनः सत्याग्रह शुरु गर्ने जानकारी पनि गराउँछौं । यो स्थगित भएको हो । रोकिएको होइन । राज्यको चरम लापरबाही विरुद्ध हाम्रो आन्दोलन जारी छ ।

३. यसअघि पनि २०७५ सालमा जुम्लामा अनसन बस्नु भएको थियो, अहिले पनि जुम्ला मै सुरु गर्ने भनिएको सत्याग्रहका माग के–के हुन् ?

नेपालको चिकित्सा, स्वास्थ्य क्षेत्र सुधारको माग हो । त्यसको लागि मैले लामो समयदेखि संघर्ष गर्दै आएको छु । जतिबेला जायज माग राखेर हामी आन्दोलन गर्छौं । सरकार हामीलाई दमन गर्न खोज्छ । सरकारले माग पूरा गर्नको सट्टा उल्टै हक अधिकारको माग गर्ने जुम्लावासीहरुलाई धम्क्याउने र दमन गर्ने काम गरेको छ । प्रधानमन्त्री ओलीको केन्द्र सरकारदेखि कर्णालीको प्रदेश सरकार समेत जायज मागसहितको हाम्रो आन्दोलनलाई दमन गर्न लागी परेका छन् । हाल चलिरहेको कोभिड–१९ महामारीले विकेन्द्रित र गुणस्तरीय स्वास्थ्य सेवा कति महत्वपुर्ण छ भन्ने कुरा प्रष्ट पारेको छ । हाल नेपालमा विद्यमान् स्वास्थ्य प्रणाली कति नाजुक छ, हाम्रो सार्वजनिक स्वास्थ्य सेवा कति अपर्याप्त छ र निजी स्वास्थ्य सेवा कति महंगो छ भन्ने यो महामारीले छर्लंग देखाएको छ । रोग लाग्नै नदिई रोकथाम गर्ने सामुदायिक चिकित्सा र जनस्वास्थ्यको अवस्था कति नाजुक छ भन्ने पनि अब प्रष्ट भएको छ । देशको सत्ता चलाउने व्यक्तिले नै नेपालीको इच्छाशक्तिकै भरमा संक्रामक रोगको महामारी रोकिन्छ भन्ने आशा गरेबाट जनस्वास्थ्यका हिसाबले हामी कति पछाडि छौं भन्ने देखाउँछ । सारा देशको ध्यान आज कोरोना महामारीतिर हुँदा एकतिर अरु रोगका बिरामीको उपचारै नपाई मृत्यु भइरहेको छ भने लकडाउन र निषेधाज्ञाले अर्थतन्त्र ठप्प हुँदा लाखौं मानिसहरु भोकै परेका छन् । यो अवस्थामा पनि स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रमा सुधार तथा सुशासनका लागि संघर्ष जारी राख्नु आवश्यक हुन्छ । त्यसका लागि मिडिया र नागरिक समाजको भुमिका प्रमुख हुन्छ । कोभिड महामारी नियन्त्रण नै प्रभावित हुने गरी सत्तासीन व्यक्तिहरुले निर्लज्ज रुपमा गरेको अरबौंको भ्रष्टाचार उदांगो पानै मिडियाले खेलेको भुमिका सराह्रानीय छ । यद्यपि नैतिकता गुमाइसकेको र लाज पचाइसकेको सरकार प्रमाणित भ्रष्टहरुलाई बचाउन उद्यत् छ । पछिल्लो समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका कार्यक्रमहरु शुरु गर्नुपर्नेलगायतका माग छन् ।

४. सात महिनादेखि सुदूर तथा कर्णालीका विकट बस्तीमा गएर सेवा गर्नु भयो, तर राज्यले तपाईलाई दमन गरिरहेको अवस्था छ, तपाईको निःशुल्क सेवाप्रति राज्यको अंकुश किन स्पष्ट पारिदिनुन ?

यसमा दुई वटा कुरा छ । अहिले तीन तहका सरकार छन् । केन्द्र, प्रदेश र स्थानीय सरकार । केन्द्र सरकारमा रहेका केपी ओली र बादलले यस अघि जुम्लामा अनसन गर्दा बस्दा अपहरण गरे । अहिले प्रदेशमा मुख्यमन्त्री र आन्तरिक मामिला तथा कानुनमन्त्री छन् । उनीहरु कै प्रत्यक्ष निर्देशनमा यहाँको स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय सरकारले मलाई काम गर्न रोक लगाइरहेका छन् । यसले के बुुझिन्छ भने यिनीहरुले अहिलेसम्म देश र जनताको लागि राजनीति गरिरहेका छैनन् । यिनीहरुलाई राजनीतिलाई अर्थोपार्जनको माध्यमको रुपमा उपभोग गरिरहेका छन् । उहाँहरुको जनता प्रति जवाफदेहिता छैन । उहाँहरुको मुलमन्त्र नै भ्रष्टाचार गर्ने, गुण्डागर्दी गर्ने मात्रै हो । अर्को कुरा विगतमा हत्या र हिंसा गरेर आएका मान्छेहरु सधै सत्ता कब्जा कै खेलमा लागिरहन्छन् । आफ्नो स्वार्थको लागि यिनीहरु जे पनि पर्छन् । अब हामीले जनताको वास्तविक आवाज बोल्छौ । जनताका समस्याका बारेमा बोल्छौं । निःशुल्क सेवा गर्छांै । यस्तो भयो भने जनताले यिनीहरुको कालो कर्कुत थाहा पाउँछन् । विरोध गर्छन् । व्यवसाय त सकिन्छ नी ?

५. अर्कातिर तपाईले मानिसहरु संक्रमणका कारण नभई उपचार नपाएर मरिरहेका छन् भनेर दाबी गरिहनु भएको छ, सरकारले गरिरहेका गतिविधि जनताका पक्षमा छैनन् भन्ने हो ?

तपाईले देखिरहनु भएको छ नी उनीहरुको काम गराईको ढङ्ग । चाहे केन्द्र सरकार होस, चाहे प्रदेश सरकार होस । घोटाला गर्ने, भ्रष्टचार गर्ने, विचौलियासँग कमिसन माग्ने । ठूला ठूला पोष्ट दिने । त्यो बाहेक अरु केही पनि गरिरहेका छैनन् । र यो महामारी छ । यसलाई उनीहरुले जनतालाई दमन गर्ने उद्धेश्यले लकडाउन गरिरहेका छन् । महामारी नियन्त्रणको लागि भन्दै निषेधाज्ञाको नाटक मञ्चन भइरहेको छ । नेपालमा कोरोना संक्रमितको संख्या ३७ हजार हाराहारीमा छ । मृतकको संख्या पनि बढ्दो क्रममा छ भनिएको छ । तर कोरोना कारण लकडाउन भयो । जसका कारण विरामी उपचार गराउन पाएनन् । अस्पताल जान पाएनन् । उनीहरुको उपचार नपाएर मृत्यु भइरहेको छ । कोरोना कारण होइन । यहाँ त कोरोना हाउगुजी भएको छ । अब त मानिसहरु भोकभाकै मर्ने बेला मर्छन् । अरु रोग भएको भएपनि कोरोनाको मात्रै उपचार गर्छन् । लकडाउनमा बाहिर निस्कनै दिदैनन् । भित्रै हुलेर राखेका छन् । सेना र प्रहरी लगाएर । जसका कारण मानिसहरु अपांग भएर बाँच्न बाध्य छन् । उपचार नै गर्न जान पाउँदैनन् । आधारभूत अधिकार समेत उनीहरुले पाउन सकेका छैनन् । यो त सरकारको दमन हो नी । हाम्रो आग्रह त जनतालाई क्रसित नबनाऔँ भन्ने हो । जनतालाई त्रसित नहुनको लागि मिडिया र राज्यले पनि भूमिका खेल्नु पर्ने हो । त मिडियाले पनि केही रुपमा जनतालाई जानी नजानी एकप्रकारको त्रास सिर्जना गरिरहेको छ । ठाउँ, परिवेश र क्षेत्रलाई अनुकुल बनाएर सूचना प्रवाह गर्न सक्नुपर्छ राज्यले । यसको प्रत्यक्ष प्रभाव जनताले भोग्नु परेको छ । हाम्रो सरकारसँग माग छ लकडाउन खोल्ने तर पूर्ण रुपमा स्वास्थ्य सावधानी अपनाउने भन्ने नै हो ।

६. कर्णालीबाटै निर्णयक सत्याग्रह हुन्छ भन्नु भएको छ, माग पुरा हुनेमा कत्तिको विस्वस्त हुनुहुन्छ ?

मेरो त साधारण माग हो नी । जुन पहिला पनि सरकारले सम्झौता गरिसकेको थियो । त्यो हुँदा पनि मुख थुन्ने अनि हाम्रो सत्याग्रह बारम्बार बिथोल्नको लागि पुरै राज्यको संयन्त्र लागिरहेको छ । मैले पहिलेदेखि भन्दै आएको छु । ओलीको तानाशाह यहाँ चल्दैन । प्रदेशको कानुनमन्त्रीले नै दमन गरिरहेका छन् । मैले सिंगो देशको स्वास्थ्य क्षेत्र सुधारको लागि लडेको छु । अहिले त उनकै क्षेत्रमा उनकै लागि म लडेको हो नी । सरकारले पहिले भइसकेका निर्णय रोकेका छन् । नरोकेको भए जनताले सेवा पाउँथे । कतिका छोराछोरी डाक्टर पढ्न पाउँथे । यहाँको विकास हुन्थ्यो । यसअघि दुई वर्ष अघि म प्रतिष्ठानमा अनसन बस्दा ओली र बादलको निर्देशनमा मलाई अपहरण गरियो । अनि कर्णालीको मुख्यमन्त्री र गृहमन्त्रीको निर्देशनमा अस्पताल जस्तो क्षेत्रमा गोली चल्यो । कानुनी अनि लोकतान्त्रिक राज्यमा यस्ता कुरा पनि हुन्छन् । हाम्रा नेता कति संवेदनहिन र गैर–जिम्मेवार छन् भन्ने कुरा छ देखिन्छ नी । जनता लुट्न र देश लुट्न व्यवस्त छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई जनताकै हातमा सुम्पेर मात्र काठमाडौं फर्कने योजनामा रहेको उनी सुनाउँछन् । ‘स्वास्थ्य र शिक्षा क्षेत्र सुधारका लागि यहीँ सत्याग्रह बस्छु ।

७. अन्त्यमा सम्पूर्ण नागरिकलाई के भन्न चाहानुहुन्छ ?

म के भन्न चाहन्छु भने कोरोना कहर छ । सुरक्षित बनौं । साथै बारम्बार साबुन पानीले हात धुन, बाहिर निस्कँदा नियमित मास्क लगाउन तथा सामाजिक दुरी कायम गर्न सबै नेपालीहरुलाई आग्रह गर्दछु । यस्तो शिक्षा सबैले बुझ्ने भाषामा निरन्तर दिइरहेर संक्रमणको फैलावट रोक्दै बारम्बार लगाइएका निषेधाज्ञा बन्द गर्न सरकारको ध्यानाकर्षण गराउछु । यस्तो जोखिमको समय निरन्तर खटेर स्वास्थ्य सेवा दिइरहेका सरकारी र निजी क्षेत्रका सबै स्वास्थ्यकर्मिलाई नियमित सेवा–सुविधाका साथै जोखिम भत्ता दिलाउन पनि सम्बन्धित सबैको ध्यानाकर्षण गराउछु । अरुको अधिकार हनन् नगरी सत्याग्रह बस्न पाउने मेरो अधिकार हो । माग पूरा भए काठमाडौं फर्किन्छु, नभए सत्याग्रहका बेला यतै मृत्यु पनि हुन सक्छ । धन्यावाद ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ १९ गते शुक्रबार