सुनपत्थरी नाका जोड्ने सडक भत्कीयो



शिवु खनाल । दाङ ।

निर्माण काम शुरु भएको वर्ष दिन पुग्न नपाउँदै दाङको सुनपत्थरी नाका जोड्ने सडक भत्कीएको छ । दाङको लमही नगरपालिका वडा नम्बर ९ भिमबाददेखि भारतसँग जोडिएको दाङको पश्चिम सुनपत्थरी नाका जोड्ने सडक ठेकेदारको लापरबाहीको कारणले निर्माण गरिएको एक महिना टिक्न नपाउँदै सडक भत्किएको हो । उक्त सडकमा सडककै लागि बनाइएकोे तटबन्ध समे बाढीले बगाएको छ । गएको वर्ष भिमबाद, गोठुवा, सुनपत्री, सुनछहारी र सुनपत्थरीनाका जोड्ने सडक निर्माण गरिएको थियो । उक्त सडक एक महिना पनि टिक्न नसकेको स्थानियहरुले गुनासो पोखेका छन् ।

‘सडक पुरै हिलाम्मे छ आवतजावमा निकै समस्या भएको छ’ स्थानीय हर्क अधिकारीले भने । लमही नगरपालिका वडा नम्बर ९ भिमबाददेखि राजपुर गाउँपालिका वडा नम्बर ७ सुनपत्थरीनाका जोड्ने उक्त सडक ३२ किलोमिटर रहेको छ । प्रदेश नं.५ सरकार अन्तरगत पर्ने पूर्वाधार विकास कार्यालय दाङबाट एक करोड ५० लाखको लगानीमा उक्त सडक निर्माण गरिएको थियो ।

गत असार मसान्तमा सम्पन्न भएको उक्त सडक निर्माण स्टिमेट अनुसारको काम हुन नसकेको, स्थानियहरुले बताएका छन् । स्थानीय अधिकारीका अनुसार ‘सडक निर्माण अन्तरगत रकम अनुसारको काम नभएको र निर्माण गरिएको सडक भन्दा पहिलेकै सडक हिंडडुलको लागि उचित थियो । अहिले उक्त सडक सामान्य दैनिक उपभोग गर्ने सामाग्रीहरु ओसारपोसारको लागि कठिन भएको छ । सडक निर्माणको जिम्मा पाएको गरिमा कन्ट्रक्सन प्रा.लि.का प्रोपाइटर शरद गिरीले सडक स्थानीयले गुनासो गरे अनुसार नभत्केको दाबी गरे ।

मर्मत समयावधि अझैपनि भएकाले संरचना नै भत्केको अवस्थामा कम्पनीबाट पूरा गर्ने उनको भनाई रहेको छ । उक्त सडकको नियमनको जिम्मा पाएको पूर्वाधार विकास कार्यालय दाङका प्रमुख इन्जिनियर बासुदेव भण्डारीले सडक बिग्रीएको भन्ने केही सूचना पाएपनि आफुहरु फिल्डमै पुगेर अवलोकन गर्न नपाएको जानकारी दिए । ‘सुन्नमा आएको छ, हामी जान पाएका छैनौ विकट बस्तीमा जाने सडक रोलरले दवाउन नपाएका कारण केही ग्राभेल बग्ने, माटो बगाउने काम भएको होला’ उनले भने, ‘यसलाई पुनः बनाउन सकिन्छ । संरचना नै बिग्रीएको अवस्थामा निर्माण कम्पनीबाट निर्माण हुन्छ ।’

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ २ गते मंगलबार