सुदीप अधिकारी । बर्दिया ।
लकडाउनको मौका छोपेर निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा वन तथा वन्यजन्तुको तस्करीमा लागेका तस्कर धमाधम पक्राउ पर्न थालेका छन् । लकडाउनको बेला बर्दिया राष्ट्रिय निकुञ्जले सुरक्षा गस्तीलाई झनै चुस्त बनाएपछि तस्करहरु धमाधम पक्राउ पर्न थालेका हुन । एक साताको अवधीमा निकुञ्ज तथा मध्यवर्ती क्षेत्र भित्र प्रवेश गरि अवैध कार्य संलग्न रहेका ५५ जनालाई पक्राउ गरिएको निकुञ्जले जनाएको छ ।
पछिल्लो एक साताको अवधीमा अवैधरुपमा काठ चोरीनिकासी गर्ने जोधिपुर इलाकाबाट १ जना, मध्यवर्ती सामुदायिक वनमा रुखविरुवा हटाएर खनजोत गर्ने र क्यापिङ्ग गरि माछा मार्ने ठाकुरबाबा–२ बलातीका ८ जना, सामुदायिक वन अतिक्रमण गरि पक्की घर बनाउने ठाकुरबाबा– ८ का ३ जना, बोक्रा ताछेर रुख सुकाउने ८ जना र निकुञ्ज क्षेत्र भित्र पर्ने बबई नदीमा अवैधरुपमा माछा मार्ने सैनवार क्षेत्रका ३५ जनालाई पक्राउ गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।
पक्राउ परेका उपर अनुसन्धान गरि कानुनी प्रकृया अघि बढाइएको निकुञ्जले जनाएको छ । लकडाउनको मौका छोपेर निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका विभिन्न स्थानमा तस्करहरु वन तथा वन्यजन्तुका अवैध क्रियाकलापमा संलग्न रहेको पाइएपछि निकुञ्जले सुरक्षामा थप कडाइ गरेको जनाएको छ । निकुञ्ज क्षेत्रमा अवैधरुपमा माछा मार्न प्रयोग भएका डुंगा, जाल, बल्छी, ट्युव र रुख काटन प्रयोग गरिएको आरा, बञ्चरोलगाएतका समाग्री पनि बरामद गरि नष्ट गरिएको निकुञ्ज प्रशासनले जनाएको छ ।
लकडाउन भएयता निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा अवैधरुपमा प्रवेश गरि तस्करीमा संलग्न हालसम्म ९१ जनालाई पक्राउ गरिएको निकुञ्ज स्रोतले जनाएको छ । निकुञ्जमा वन्यजन्तुका तस्करहरु सक्रिय हुन थालेपछि निकुञ्जले पनि सुरक्षा सर्तकता पनि बढाएको छ । वन्यजन्तुको तस्करीलाई रोक्न निकुञ्ज प्रशासनले यतीखेर सेना र निकुञ्जका कर्मचारी परिचालन गरि निकुञ्ज भित्र स्विप अपरेशन, पेट्रोलिङ, एम्बुसिङ र क्यामेरा ट्रयापिङ जस्ता कार्यलाई प्रभावकारी ढंगले अघि बढाएको निकुञ्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्