थुनुवाको ‘आरडीटी’ जाँच



नेपालगञ्ज ।

बाँकेमा प्रहरी हिरासतमा रहेका थुनुवाहरुको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किट मार्फत कोरोना जाँच गर्न थालिएको छ । जिल्लाका विभिन्न प्रहरी हिरासतहरुमा रहेका थुनुवाहरुको थुनछेक बहस अघि ‘आरडीटी’ जाँच गर्न थालिएको हो । केही दिनअघि गृहमन्त्रालयले सबै थुनुवाहरुको ‘आरडीटी’ किट मार्फत कोरोना परीक्षण गर्ने निर्णय गरेको थियो । सोही अनुसार बाँकेमा समेत थुनुवाहरुको ‘आरडीटी’ जाँच गर्न सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीर बहादुर ओलीले जानकारी दिए ।

‘कोरोनाको संक्रमण फैलिन नदिन प्रहरी सचेत छ’ उनले भने, ‘विभिन्न मुद्धामा हिरासतमा रहेकोहरुलाई हामीले ‘आरडीटी’ जाँच गर्न सुरु गरेका छौं ।’ आइतबार जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेका १० जनालाई थुनछेक बहस अघि ‘आरडीटी’ जाँच गरिएको थियो । उनीहरु सबै जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी
दिए । जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय कोहलपुर, इलाका प्रहरी कार्यालय जमुनाहा, इलाका प्रहरी कार्यालय भगवानपुर र वडा प्रहरी कार्यालय नेपालगञ्जको हिरासतमा थुनुवाहरु राखिने गरेको छ ।

अहिलेसम्म ‘आरडीटी’ जाँच गरेका कसैलाई पनि कोरोनाको लक्षण नदेखिएको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए । विभिन्न मुद्धा चल्ने शाखाबाट प्रहरीले सामान्य मुद्धाका थुनुवाहरुलाई यसअघि नै हाजिरी जमानीमा छोडिसकेको छ । अहिले हिरासतहरुमा जघन्य अपराधका थुनुवामात्रै रहेका छन् । थुनुवाहरुलाई अदालतमा थुनछेक बहसमा लैजानुअघि कोरोना भाइरस भए नभएको ‘आरडीटी’ जाँच गर्न लागिएको हो ।

तर बाँकेमा जाँचको लागि ‘आरडीटी’ किट पप्र्यात मात्रामा नभएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत तथा कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । अहिलेसम्म जिल्लाको लागि भनेर ६ सय वटा मात्र ‘आरडीटी’ किट आएको उनले बताए । त्यसमध्ये अहिले १ सय ८५ वटा किटमात्रै बाँकी रहेको छ । जिल्लाका १७ वटा क्यारेन्टाइनमा बसेर १४ दिन पुगेकाहरुको ‘आरडीटी’ जाँच गर्ने गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख ८ गते सोमबार