कोहलपुर,११ फागुन/ बाँकेको डुडुवा गाउँपालिकाले दुई वटा विधेयक पास गरेको छ भने आर्थिक ऐन २०७४ लाई संशोधन गरेको छ । गाउँपालिकाको बुधबार बसेको विशेष गाउँसभाले शिक्षा विधेयक र सहकारी विधेयक ऐन २०७४ पारित गरेको हो ।
गाउँपालिकाको शिक्षा र सहकारी सम्वन्धी व्यवस्थापन, नियमन तथा अनुगमन, दर्ता सम्वन्धी व्यवस्था गर्न शिक्षा र सहकारी विधेयक पारित गरिएको गाउँपालिकाका प्रमुख नरेन्द्रकुमार चौधरीले बताए ।
उनका अनुसार गाउँपालिकाको आर्थिक ऐन २०७४ को प्रथम संशोधन गरिएको छ । आर्थिक ऐनमा सहकारी दर्ता दस्तुर, एफएम रेडियो दर्ता, कृषि फारम दर्ता, निजी स्वास्थ्य संस्था दर्ता, राजपत्र एवं कानूनहरुको विक्री दस्तुर शुल्क निर्धारण गर्नुपर्ने भएकाले संशोधन गरिएको गाउँपालिकाले जनाएको छ ।
बुधबार साँझ अबेर सकिएको बैठकमा वडा नं.–३ का अध्यक्ष भण्डारीलाल यादवले रमपुर्वा कटैहिया जाने बाटो अन्र्तगत डुडुवा नालामा पक्की पुलको निमार्ण, हल्कारापुर्वा जोडने डुडुवा नालामा पक्की नाला निमार्ण गर्नुपर्ने सहितको संशोधन प्रस्ताव दर्ता गराएका थिए ।
यस्तै वडा नं.–६ का अध्यक्ष मोहनराम मिश्रले हिरिमिनिया कृषिको पकेट क्षेत्र भएकाले बजार प्रवद्र्धनका लागि सवारी साधनको व्यवस्था, अन्न तथा विउ भण्डार, अन्नपात सुकाउने फड निमार्ण, गाउँपालिका अन्र्तगत रहेको वन क्षेत्रको व्यवस्थापन सहितको संशोधन प्रस्ताव दर्ता गराएका थिए ।
साथै वडासदस्य तिरथराम कुर्मीले शिक्षा ऐन अन्र्तगत गाउँ शिक्षा समितिमा गाउँपालिकाबाट विशेषज्ञलाई समावेश सहितको संशोधन प्रस्ताव दर्ता गरेका थिए ।
तीनै जनाले दर्ता गराएका प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गरिएको थियो भने सभामा विधेयक समितिका संयोजक लिलावती यादवले तीन वटै विधेयक प्रस्तुत गरेका थिए ।
गाउँपालिकाले यसअघि बसेको विशेष गाउँसभाले अहिलेसम्म आर्थिक ऐन, विनियोजन विधेयक ऐन, आर्थिक कार्यविधि ऐन, शिक्षा ऐन र सहकारी ऐन गरी पाँच वटा विधेयक ऐन पारित गरी कार्यन्वयनमा ल्याइएको प्रमुख प्रशासकिय अधिकृत दिपक पौडेलले बताए ।
गाउँ सभामा गाउँपालिका अध्यक्ष चौधरीले होलियादेखि हलबलडोली हँुदै कम्दीसम्म कालोपत्रे निमार्ण, बेतहानीको बाबागाउँ रमपुर्वाहुदै कालोपत्रे,
कम्दी मिलनचोकदेखि एयरपोर्टसम्मको कालोपत्रे, बेतहानी, रमपुर्वा कम्दी र लडियाघाटमा पक्की पुल निमार्ण, डुवान क्षेत्रका लागि हिउँदे र वर्षे दुई तल्ले घर निमार्ण, डुवानमुक्त क्षेत्र बनाउने गुरुयोजना र राप्ती तथा डुडुवा नियन्त्रण तटवन्ध निमार्ण सहितको ८ वटा ठुला योजना निमार्णका लागि केन्द्रीय सरकारसंग माग गर्ने प्रस्ताव पेश गरेका थिए ।
यस्तै उनले शितभण्डार, खेलकुद मैदान र आवश्यक पुर्वाधार, चिनी मिल स्थापना, उखुखेती पर्वद्धन, ५० शैयाको अस्पताल स्थापना, विद्युतीय सब दह गृह निमार्ण, मलामी विश्राम गृह निमार्ण, सडक कालोपत्रे निमार्ण सहितको ९ वटा योजना प्रदेश सरकारसँग माग गर्ने प्रस्ताव पेश गरेका थिए । पेश गरिएका सबै प्रस्तावलाई पारित गरिएको थियो ।
गाउँपालिकाको ऐन पारित भएपछि कार्य गर्न सहज हुने वडा सचिव ऋषिराज गौतमले बताए । गाउँपालिका अध्यक्ष चौधरीको अध्यक्षतामा बसेको गाउँसभाको बैठकको संचालन प्रमुुख प्रशासकिय अधिकृत पौडेलले गरेका थिए ।