राप्तीसोनारी गाउँपालिकाको मनोमानी विरुद्ध युवा



कोहलपुर ।

बाँकेको राप्तीसोनारी गाउँपालिका पछिल्लो समय विवादमा पर्दै जान थालेको छ । गाउँपालिकाले नदिजन्य पदार्थ उत्खननका लागि खालेको ठेक्का पटक पटक रद्द गरेपछि विवाद बढेको हो । सोही विषयलाई लिएर बिहीबार राष्ट्रिय युवा संघ बाँकेले स्थानीय प्रशासन र गाउँपालिकामा ज्ञापनपत्र समेत बुझाएको छ ।

नदिजन्य पदार्थ उत्खनन् र ओसार पसारमा गरेको निर्णयका विरुद्ध संघले जिल्ला प्रशासन कार्यालय बाँके र गाउँपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो । गाउँपालिकाले नदिजन्य पदार्थको विक्रिवितरणका लागि तिन पटक टेण्डर खोलेर मिलोमतोमा बदर गरेको आरोप लगाएको छ ।

पछि गाउँपालिका आफैले विक्रिवितरण गर्ने निर्णयको विरोध गर्दै राष्ट्रिय युवा संघ बाँकेले कानुन संगत ढंगबाट काम गर्न माग गर्दै बिहीबार ज्ञापनपत्र बुझाएको हो । कानुन सम्मत ढंगले नदिजन्य पदार्थको ठेक्का नखोल्दा विकास निर्माणका काम समेत प्रभावित भएको राष्ट्रिय युवा संघ बाँकेका सह–संयोजक आकाश कार्कीले बताए ।

‘नियम संगत रुपले समयमा ठेक्का नलगाउँदा करोडौं राजस्व घाटा लागेको छ’ उनले भने, ‘अर्कातर्फ विकास निर्माणका कामहरु समेत प्रभावित भएका छन् ।’ राष्ट्रिय युवा संघ बाँकेका संयोजक कुश्माखर बस्यालले चालु आ.व. को सुरुमै खोल्नुपर्ने ठेक्का विभिन्न बाहानामा बदर गरि पालिकाका केहि पदाधिकारी र कर्मचारीको मिलोमतोमा आफु अनुकुलका केहि व्यक्तिलाई नदिजन्य पदार्थ उत्खनन र ओसार पसार गर्ने जिम्मा दिएकाले त्यसको विरोध गरिएको बताए ।

गाउँपालिकाले गरेको निर्णय सच्याई प्रचलित कानुन अनुसार नगरे चरणबद्ध आन्दोलनका कार्यक्रमसँगै तालाबन्दी समेत गरिने उनले चेतावनी दिए । गाउँपालिका भित्र पर्ने नदिहरुबाट नदिजन्य पदार्थ निकासिको ठेक्का बदर गर्दा बाँकेका निर्माण भैरहेका हुलाकी राजमार्ग लगाएतका ठुला तथा साना आधा दर्जन बढि आयोजनाहरु प्रभावित भएका छन् ।

गैर कानुनी ढंगबाट गाउँपालिका आफैले नदिजन्य पदार्थ निकासि गरि पैसा कमाउने उद्धेश्यमा गाउँपालिकाका अध्यक्ष, कर्मचारी र केहि वडा अध्यक्षहरुले चलखेल गरेको आरोप राष्ट्रिय युवा संघ बाँकेले लगाएको छ । अहिले पनि केही गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधीहरुको मिलोमतोमा राप्तीसोनारी क्षेत्रका नदीहरुबाट नदीजन्य पदार्थ उत्खनन् भइरहेको स्थानीयबासीहरु बताउँछन् । नदीमा जेसिभी हालेर केही समुहले नियम विपरीत दिनरात नदीजन्य पदार्थ अवैध रुपमा उत्खनन् गरीरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत ७ गते शुक्रबार