कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकाले दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी भएको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण देखाउँदै औषधिजन्य सामग्री लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गरेको पाइएमा कडा कारबाही गरिने नगरपलिकाले चेतावनी दिएको हो । नगरपालिकाकी उप–प्रमुख तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक सञ्जु कुमारी चौधरीद्धारा जारी विज्ञप्तिमा विपत्तिको समयमा मानवीय सहयोग गर्नु पर्ने समयमा हुने कुनै पनि प्रकारका अमानवीय गतिविधि सह्य नहुने चेतावनी दिइएको छ ।
‘कोरोना भाइरसलाई जोडेर अनर्गल तथा भ्रामक प्रसार भइरहेको पाइएको छ’ उक्त विज्ञप्तिमा भनिएको छ, ‘कृत्रिम अभाव गरेको र कालोबजारी भएको पाइएमा सूचना दिनोस् । तत्काल कारबाही हुन्छ ।’ कोरोना भाइरसबाट बच्नको लागि रोकथाम तथा नियन्त्रणका उपाय अबलम्बन गर्न समेत आग्रह गरिएको हो । उनका अनुसार कोरोना भाइरसका बारेमा जानकारी दिनको लागि सबैलाई आग्रह गरिएको छ । यस्तै नगरपालिकाले विभिन्न माध्यम तथा माइकिङ गरेर नगरपालिकाले जनचेतना फैलाइरहेको उनले जानकारी दिइन् । तीन प्रदेशको ट्रान्जिट प्वाइन्टका रुपमा रहेको कोहलपुरमा कोरोना भाइरसको संक्रमण हुन नदिनको लागि बसपार्कमा हेल्थ डेस्कको समेत स्थापना गरिएको छ । ‘कोही कसैले पनि कृत्रिम अभाव र कालोबजारी भएकोमा पाइएमा तत्काल कारबाही गरिन्छ’ उनले भनिन्, ‘अनुगमनलाई समेत तिव्रता दिइनेछ ।’ सेनिटाइजर र मास्कको अभाव देखिएको भन्ने गुनासो व्यापक रुपमा आाएकोले तत्काल अनुगमन गर्ने त्यसो भएको पाइएमा कारबाही गरिने उनले बताइन् ।
सरकारी कार्यालय मै छैन सतर्कता
बैजनाथ गाउँपालिका वडा नम्बर ३ नवखेतका भक्त बहादुर खप्तरी मगर ईलाका प्रशासन कार्यालय कोहलपुरमा पुगे । उनले कोरोना भाइरसको पूर्वतयारीको लागि कुनै पनि सतर्कता अपनाइएको देखेनन् । तर उनी भने कपडाको मास्क लगाएका थिए । ‘यहाँका यदि धेरै सेवाग्राहीको भीडभाड छ, सरकारले भीडभाडमा नजानु भनेको छ’ छोरीको नागरिक बनाउन त्यहाँका पुगेको उनले भने, ‘यहाँ त केही पूर्वतयारी तथा सतर्कता अपनाइएको देखिएन ।’ उनले भने जस्तै उक्त कार्यालय परिसर भरी सेवाग्राहीको भिड नै थियो । कार्यालय भित्र कार्यालय प्रमुखको कार्यकक्षदेखि मुलढोकामा असुरक्षित रुपमा लाइनमा बसेका थिए ।
जबकी सरकारले २५ जना भन्दा बढि मानिसहरुको भीडभाड जम्मा हुन नदिन आग्रह नै गरीसकेको छ । कार्यालयमा पुगेका करिब ९० प्रतिशत सेवाग्राहीले मास्क लगाएका थिएनन् । नागरीकता बनाउनको लागि ईलाका प्रशासन कार्यालयमा पुगेका नरेश उपाध्यायलाई धेरै सेवाग्राहरुको भिडभाड हुने क्षेत्रमा सतर्कता नअपनाएको महशुस भयो । ‘यस्तो अवस्थाले त कसरी कोरोना भाइरसको संक्रमणबाट बच्न सकिएला । यस्ता कुरामा गम्भीर रुपमा सतर्कता अपनाउनु पथ्र्यो’ उनले भने । सरकारले समेत नागरिकको स्वास्थ्य स्थितिको मध्यनजर गर्दै संयमता अपनाउनु पर्नेमा उनले जोड दिए । उक्त कार्यालयमा हातधुनको लागि साबुन पानीको व्यवस्था समेत छैन । बिहान कार्यालय आउने कर्मचारीहरुका लागि समेत ज्वरो जाँच गर्ने कुनै व्यवस्था गरेको देखिएन ।
कार्यालयका नायव सुब्बा बसन्तकमल आचार्यले सेवाग्राहीहरुको लागि भनेर अहिले सम्म कूनैपनि व्यवस्था नभएको जानकारी दिए । उनका अनुसार सरकारले हरेक क्षेत्रमा उच्च सतर्कता अपनाउने भनेको भएपनि छुट्टै व्यवस्था गर्न नसकेको बताए । स्थानीय सरकारको रुपमा रहेको कोहलपुर नगरपालिकामा समेत कोरोना भाइरसबाट जोगिन कुनै पुर्व सर्तकता समेत अपनाइएको पाइदैन । जनप्रतिनिधी र कर्मचारीहरुले कोरोना विरुद्ध नगरपालिकाले सचेत रहेको बताएपनि कार्यालयमा हात धुनको लागि साबुन पानीको राम्रो व्यवस्था समेत गरेको छैन ।








प्रतिक्रिया दिनुहोस्