सुदीप अधिकारी । बर्दिया ।
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रण गर्न सीमावर्ती क्षेत्रहरुमा यात्रुहरुको चेकजाँच र अनुगमनमा कडाई गरिने भएको छ । आइतबार बर्दियाको ठाकुरद्वारामा भएको नेपाल—भारत संयुक्त जिल्ला समन्वय बैठकमा दुबै देशका अधिकारीहरु बीच सीमावर्ती क्षेत्रहरुमा चेकजाँचमा कडाइ गर्ने सहमती भएको हो । बैठकमा कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न दुवै देशका अधिकारीहरु सिमाबाट हुने अनावश्यक आवतजावत रोक्ने, सिमामा आवतजावत गर्ने व्यक्तिहरुको प्रभावकारी अनुगमनमा गर्ने सहमत भएका छन् ।
खुल्ला सिमाका कारण हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्न सिमानामा चेकजाँच, निगरानी र अनुगमनलाई तिव्रता दिँदै ब्यापक प्रचारप्रसार गर्ने सहमती भएको बताइएको छ । दुई देश बीच भएको समन्वय बैठकमा कोरोना भाइरस नियन्त्रणलाई नै प्रमुख एजेण्डा बनाइ छलफल भएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले वताए । सिमाबाट अत्यावश्यक काममा मात्र आउजाउ गर्न दिइने बताइएको छ ।सिमामा आवतजावत गर्ने व्यक्तिहरुको चेकजाँचका क्रममा शंकास्पद बिरामी भेटिए क्वारेन्टाइन् वा आईसोलेशन उपचार कक्षमा पठाउने बैठकमा सहमती भएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए ।
दुवै देशका समकक्षीहरुसँग सहकार्य गरेर कोरोना विरुद्ध अघि बढ्न दुबै देशका अधिकारीहरु प्रतिवद्ध रहेको प्रजिअ लामिछानको भनाई छ । कोरोनासँगै सीमानामा शान्ति सुरक्षा, अपराध नियन्त्रण, सीमावर्ती क्षेत्रका स्थानियको दैनिक सरोकारका विषयमा समेत छलफल भएको बताइएको छ । कोरोनाका कारण नेपाल भारत सीमा शिल आशंका गरिएपनि यसबारे बैठकमा कुनै कुनै निर्णय नभएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए । दुबै देशका नागरिकका दैनिक सरोकारका विषयमा सहज वातावरण बनाउन दुवै देशका अधिकारीहरु सहमत भएको बताइएको छ ।
अन्तरदेशीय समन्वय वैठकमा भारतको बहराईच, श्रावस्ती र बलरामपुर जिल्लाका अधिकारी र नेपालका तर्फबाट बर्दिया र बाँके जिल्लाका प्रजिअ सहितको सुरक्षा समितिका अधिकारीहरु सम्मिलित भएका थिए । बैठकमा भारतको सिनियर मेडिकल टीम र नेपालबाट जिल्ला अस्पताल बर्दियाका प्रमुख डाक्टर शुभाष पाण्डेय सहितको टोली सहभागी भएका थिए ।








प्रतिक्रिया दिनुहोस्