कोहलपुर ।
बाँके कोहलपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि चर्चा सुरु भएको छ । संघले आफ्नो चुनावी साधारणसभाको मिति सार्वजनिक गरेसँगै व्यवसायीहरुमा नेता नेतृत्वको चर्चा समेत सुरु भएको हो । आउँदो बैशाख २७ गते संघको साधारणसभाको मिति तोकिएको संघका अध्यक्ष चक्र बहादुर अधिकारीले जानकारी दिए ।
‘केही समयअघिको कार्यसमिति बैठकले बैशाख २७ गते साधारणसभाको मिति तोकेका छौं’ उनले भने, ‘हामि अहिले साधारणसभाको तयारीमा नै खटिएका छौं ।’ साधारणसभामा संघको आगामी कार्यकालको लागि नयाँ नेतृत्व सहमतीको आधारमा चयन हुने सभ्भावना भने देखिदैन । त्यसैले अहिलेबाट नै विभिन्न दल निकट व्यवसायीहरु निर्वाचनको आन्तरीक तयारीमा लागिसकेका छन् । खासगरी अहिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस निकट व्यवसायीहरु चुनावको आन्तरीक कसरतमा लागेका हुन् ।
नेपाली काँग्रेस निकट प्रजातान्त्रीक उद्योगी व्यावसायीको समुहले आइतबारसम्म केही उम्मेदवारहरुको टुङ्गो लगाइसकेको छ । उक्त समुहका संयोजक मात्रिका सापकोटाले पदाधिकारीमा सह–कोषाध्यक्ष बाहेक अन्य पदका उम्मेदवारहरु टुङ्गो लगाइसकिएको जानकारी दिए । उनका अनुसार प्रजातान्त्रीक उद्योगी व्यावसायीको समुहबाट अध्यक्षमा लक्ष्मणराज पौडेल, वरिष्ठ उपाध्याक्षमा प्रदिप भट्टराई, उपाध्यक्ष उद्योग तर्फ चण्डी गैरे, वाणिज्य तर्फ संगिता सुवेदी, महासचिवमा देवानन्द अर्याल, उप–महासचिवमा दिपकराज भण्डारी र कोषाध्यक्षमा सिता कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।
‘सह–कोषाध्यक्ष र सदस्य पदहरुका उम्मेदवार केही दिनमा टुङ्गो लाग्नेछ’ समुहका संयोजक सापकोटाले भने, ‘संघको आसन्न निर्वाचनलाई मध्यनजर गरेर तयारी थालेका हौं ।’ प्रजातान्त्रीक उद्योगी व्यावसायीको समुहका नेता राजेन्द्र श्रेष्ठले पनि संघको निर्वाचनको लागि चुनावी सरगर्मी सुरु भइसकेको बताए । ‘निर्वाचनको मिति घोषणा नभएपनि हामीले चुनावको तयारी अगाडि बढाइसकेका छौं’ उनले भने, ‘बाँकी रहेका पदका उम्मेदवारहरु पनि एक हप्ता भित्र टुङ्गो लगाउँछौ । बजारमा चुनावको माहौल सुरु भइसकेको छ ।’
सत्तारुढ नेकपा निकट प्रगतिशिल व्यवसायी समुहले भने उम्मेदवार छनोट गरेको छैन । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकता भई बनेको नेकपामा आकांक्षी धेरै भएकाले प्रगतिशिल व्यवसायी समुहले उम्मेदवार छनोट गर्न ढिलाई गरेको हो । प्रगतिशिल व्यवसायी समुहका नेता एकनारायण चाँपागाईले अध्यक्षको उम्मेदवारमा बिष्णु खनाल पक्कापक्की जस्तै भएको बताए । ‘म त अहिले काठमाडौंबाट आउँदै छु’ आइतबार साँझ उनले भने, ‘अध्यक्षमा बिष्णु खनालजीको पक्कापक्की जस्तै छ । अन्य पदमा साथिहरुले बैठक बसेर टुङ्गो लगाउँदै हुनुहोला ।’ स्रोतका अनुसार प्रगतिशिल व्यवसायी समुहबाट हुने उम्मेदवारहरुको औपचारीक रुपमा आज टुङ्गो लाग्ने स्रोतले जनाएको छ । यो समुहका नेता नरेन्द्र शर्माले व्यावसायीक हितका लागि व्यावसायीक समुहहरु बीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने
बताए ।
आफ्नो समुहले पनि उम्मेदवारहरुको छनोट केही दिनमा नै सक्ने उनले जानकारी दिए । अहिले उम्मेदवारहरु छनोटका लागि दुवै समुहका नेताहरु आन्तरीक बैठकहरुमा जुटिरहेका छन् । यसपटकको निर्वाचनमा पनि विगतमा जस्तै दुई वटा समुहबिच चुनावी प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । अहिलेसम्म संघको निर्वाचनको मिति भने घोषणा भएको छैन । चैत्र १९ गतेसम्म संघले सदस्यता नविकरण र नयाँ सदस्यता वितरण गर्ने समय तोकेको छ । १९ गतेसम्म नविकरण गर्ने सदस्य र नयाँ लिनेले मात्र निर्वाचनमा मतदान गर्न पाउँनेछन् । अहिलेको निर्वाचनमा कोहलपुर नगरपालिका भन्दा बाहिरका व्यवसायीहरुले भोट समेत हाल्न पाउँनेछैनन् ।









प्रतिक्रिया दिनुहोस्