होली नखेल्न आग्रह गर्दै प्रहरीको माइकिङ



नेपालगञ्ज ।

आज तराई क्षेत्रमा मनाइने होली पर्वलाई लक्षितगरी बाँके प्रहरीले विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । होली विशेष सुरक्षा योजना अन्तर्गत धेरै भीडभाड हुने सम्भावित स्थानमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिने बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर ओलीले जानकारी दिए । होलीमा कुनैपनि खालका आपराधिक गतिविधी हुन नदिनका लागि जिल्ला भरमा तीन सय प्रहरी सुरक्षाका लागि खटाइनेछ । आवश्यक परे प्रहरीको जनशक्ति बढाइने उनले बताए ।

‘विश्वभर कोरोना भाइरसको संक्रमण फैलिहेको अवस्थामा नेपालमा यसको संक्रमणलाई रोक्न भीडभाड नगर्न आग्रह गरेका छौ,’ प्रहरी उपरीक्षक ओलीले भने, ‘अवज्ञा गर्ने र जवर्जस्ती रङ, पानी हालेमा पक्राउ गरी कानूनी कारबाही अघि बढाउँने छांै ।’ गृहमन्त्रालयले पनि कोरोना भाइरसको संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गदै होलीमा भिडभाड, सांगितिक कार्यकम नगर्न आग्रह गरेको छ ।

बालबालिकाले घरको छतबाट पानी छ्याप्ने क्रम बढदै गएपछि नियन्त्रणका लागि प्रहरीले अभिभावकलाई सचेत गराएको छ । बालबालिकाले इच्छा विपरीत कसैलाई रङ तथा लोला हानेमा अभिभावकलाई समेत कारबाही गरिनेछ । प्रहरीले जवर्जस्ती लोला, रङ हानेको उजुरी आउनासाथ तत्काल घटना स्थलमा पुग्ने गरी टोली तयार अवस्थामा राखिएको प्रहरी उपरीक्षक ओलीले बताए ।

यसबाहेक सिसीटीभी क्यामराबाट निरन्तर निगरानी गर्ने प्रहरीले जनाएको छ । होलीलाई मर्यादित, सुरक्षित र सभ्य बनाउन प्रहरीले विभिन्न स्थानमा चेक पोइन्ट राखेर निगरानी बढाउने जनाएको छ । बाँके प्रहरीले सोमबार साँझसम्म जिल्लाका विभिन्न स्थानहरुमा होली नखेल्न आग्रह गर्दै माइकिङ समेत गरेको थियो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमप्रति सचेत रहन भन्दै प्रहरीले होली नखेल्न अनुरोध गर्दै माइकिङ गरेको हो । बाँके प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले भीडभाड हुने गरी होली नखेल्न, ट्राफिक नियम उल्लंघन नगर्न अनुरोध गर्दै माइकिङ गरिएको जानकारी दिए ।

‘नेपालगञ्ज, कोहलपुर, खजुरामात्रै होइन, जिल्लाभरी नै माइकिङ गरिरहेका छौं’ उनले भने । यसअघि जिल्ला प्रशासन कार्यालय बाँके, नेपाल पत्रकार महासंघ बाँके शाखा, नेपाल कम्प्युनिस्ट पार्टी बाँके, विभिन्न स्कुल कलेज लगायतका संघ संस्थाले भीडभाड हुने गरी होलीलगायतका कार्यक्रम नगर्न अनुरोध गरिसकेका छन् ।

प्रकाशित मिति : २०७६ फागुन २७ गते मंगलबार