‘प्रदेशले बनाउँछ स्थानीयले संरक्षण गरोस्’



कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिकामा मानसरोवरको प्रतीकात्मक स्थल सहितको बोटानिकल गार्डेन (उद्यान) बन्ने भएको छ । बोटानिकल गार्डेनको सोमबार एक कार्यक्रमका बिच प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले शिलान्यास गरेका थिए । गाउँपालिकाको वडा नम्बर ६, लालपुरस्थित न्यू हरियाली सामुदायिक वन उपभोक्ता समुहको जङ्गल हाताभित्र मानसरोवरको प्रतीकात्मक स्थल सहितको बोटानिकल गार्डेन निर्माण हुन गइरहेको हो । बोटानिकल गार्डेनको शिलान्यास गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले निर्माण गर्ने संरचनाको संरक्षणका लागि स्थानिय सरकार प्रतिबद्ध हुनुपर्ने बताएका थिए ।

‘स्थानियहरूको प्रत्यक्ष सहभागिता भएमात्र बोटानिकल गार्डेनको योजनाले पुर्णता पाउनेछ’ उनले भने, ‘बोटविरूवाले मात्र पर्यटक आकर्षण गर्न सक्दैन, त्यसकालागि भौतिक संरचनाका साथै आतिथ्य संस्कारमा समेत विशेष ध्यान दिनुपर्छ ।’ गार्डेन निर्माण गर्न प्रदेश सरकारले मात्रै पनि लगानी गर्न सक्ने भन्दै मुख्यमन्त्री पोखरेलले स्थानीय सरकारले त्यसलाई दिगो बनाउन योजना बनाउनुपर्ने बताए । ‘यो उद्यान बनाउन यहाँको स्थानीय सरकारले एक रुपैयाँ पनि लगाउनुपर्दैन । सबै लागि प्रदेश सरकारले गर्छ’ उनले भने, ‘बरु निर्माण सम्पन्न भएपछि स्थानीय सरकारले यसको संरक्षणको दायित्त्व लिनुपर्छ ।’

यहाँको संस्कार, संस्कृति, व्यवहार अति आवश्यक रहेको भन्दै उनले निर्माण गरिएका संरचनालाई जिवन्त बनाउने गाउँपालिकाको काम रहेको बताए । अन्य स्थानहरुमा पाइने भन्दा फरक र भिन्न भिन्न प्रकारका विरुवा तथा फुलहरुको विरुवा रोप्नुपर्नेमा मुख्यमन्त्री पोखरेलले जोड दिए । ‘वनस्पती उद्यानमा यही आसपासमा पाइने विरुवा रोपेर केही हुँदैन’ उनले भने, ‘यहाँ नपाइने रुख र फुलहरुका विरुवा हुर्काउन सके त्यसलाई हेर्न मानिसहरु आउन सक्छन् ।’

उद्यान भित्रका विरुवाहरु हुर्काउन स्थानीयहरुको ठूलो सहयोग हुनुपर्ने उनले बताए । ‘अहिलेको मास्टर प्लान अनुसार काम भए भौतिक संरचना निर्माण गर्न दुई वर्षभित्र पुरा हुनसक्छ’ उनले भने । तर विरुवा हुर्काउन १० वर्षसम्म पनि लाग्छ सक्छ अनी मात्र यसले सार्थकता पाउनेछ । बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचालले संरचनाको संरक्षण गर्न आफुहरु तयार रहेको बताएका थिए । ‘आन्तरीक तथा बाह्य पर्यटकहरु भित्र्याउन यसले थोरै भएपनी मद्धत पु¥याउनेछ’ उनले भने, ‘संरक्षण मात्र होइन अन्य कामहरुमा समेत सहयोग गर्न गाउँपालिका पछाडी पर्नेछैन ।’ न्यू हरियाली उपभोक्ता समितिका अध्यक्ष नन्द विश्वकर्माले प्रदेश सरकारले गरेको विश्वासलाई आफुहरुले कुनै कमि हुन नदिने बताए ।

‘यहाँका संरचना मात्र होइन् गरिमालाई समेत बचाउने छौं’ उनले भने,‘निर्धारित समयमा नै हेर्नलायक ठाउँ बनाउन हामी स्थानीयहरु कुनै कमि हुन दिन्नौं ।’ प्रदेश सरकारबाट बिनियोजित रकम मध्येबाट डिभिजन वन कार्यालय बाँकेले आर्थिक वर्ष ०७६÷७७ को वार्षिक बजेट कार्यक्रम अन्तर्गत राज निर्माण निर्माण सेवा नेपालगञ्जसँग १ करोड ६ लाख ८ हजार २ सय ९१ मा निर्माण सम्झौता गरेको छ । यो रकम पहिलो चरणको काम गर्नको लागि रहेको डिभिजन वन कार्यालय बाँकेका डिभिजनल अधिकृत मोहन श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ फागुन ६ गते मंगलबार