काठमाडौं । तत्कालिन शाही सरकारद्वारा हत्या गरिएका शहिद टोपबहादुर कार्कीको १७ औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । बर्दियाको बाँसगढीमा आयोजित स्मृति सभालाई राजमोका पूर्व महासचिव हरि आचार्य, अखिल नेपाल सुकुम्बासी संघका अध्यक्ष तुल्सीराम सापकोटा, अखिल नेपाल युवक संघका महासचिव कृष्ण पाण्डेलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
२०५९ पुस ३० गते तत्कालीन शाही सेनाले टोपबहादुर र उहाँका बुवा भोजबहादुरको गोली हानी निर्मम हत्या गरेको थियो । बर्दियाको राजापुरस्थित मानपुर टपरामा घरबाट दुबै बाबुछोरालाई अपहरण शैलीमा लतार्दै निकालेर नजिकैको तोरीबामरीमा पुर्याएर गोली हानेर मारिएको थियो ।
नेपाली सेनामा कार्यरत उहाँका छिमेकी हरिराम चौधरीले जग्गाको सीमा विवादका कारण माओवादीको आरोप लगाएर हत्या गराएका थिए । कार्कीको हत्यापछि राजमोले देशब्यापी विरोध गरेको थियो । त्यस क्रममा सेनाले घटना छानबिन गरी गोली हान्न आदेश दिने कमाण्डरसहित घटनामा संलग्नहरुलाई आन्तरिक कारबाही गरेको थियो ।
शाहीकालमा सेनाले गोली चलाएको घटनामा आफ्ना कमाण्डरविरुद्ध कोर्टमार्शल गरेको त्यो पहिलो घटना थियो । राजमोले त्यतिबेलै कार्कीलाई शहिद घोषणा गरेको थियो ।
सहादत प्राप्त गर्ने बेला टोपबहादुर तत्कालीन जनमोर्चा नेपाल बर्दियाको सदस्य, अखिल नेपाल जनवादी युवा संघ बर्दियाका सचिव र भेरीकर्णाली क्षत्रीय समितिको सदस्यमा रहेर पार्टीको जिम्मेवारीमा सक्रिय हुनुहुन्थ्यो ।
आफ्ना सहकर्मीको हत्याबारे स्मरण गर्दै युवक संघका महासचिव कृष्ण पाण्डेले युगदर्शनसँग भन्नुभयो, ‘एउटा असल साथी र पार्टीको इमान्दार सदस्य गुमाउनुको पीडा अहिले पनि उस्तै छ । हरेक वर्ष उहाँको स्मरण गरी शहिद कार्कीले देखाएको बाटोमा निरन्तर अघि बढ्ने सबैले प्रण गर्नुपर्छ ।’
स्वर्गीय कार्कीको परिवार निरन्तर राजमोमा संलग्न रही राजनीतिप्रति क्रियाशील छ । कार्कीकी धर्मपत्नी पार्वती कार्की अखिल नेपाल महिला संघ बर्दियाको उपाध्यक्ष हुनुहुन्छ ।









प्रतिक्रिया दिनुहोस्