चेतनारायण पाण्डेय । सुर्खेत ।
आज कृष्ण पक्षको दुतियाका दिन राउटे समुदायको कुल देउता मस्टो पुज्ने दिन हो । मंसिरमा कृष्ण पक्षको दुतियाका दिन राउटेहरुले मस्टो पुज्ने गर्दछन् । मस्टो पुज्ने दिनको अघिल्लो दिन सम्मपनि मस्टो पुजनका लागि खसी र चामल खोज्दै राउटेहरू कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भौतारीरहेका भेटिए ।
दैलेखको गुराँस गाउँपालिकामा बसोबास गर्दै आएका राउटे समुदायबाट ५ जना राउटे युवा खसी र चामल जोहो गर्न बिगत केहि दिनदेखि प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा हारगुहार गरीरहेका छन् । सेतो कपडाको मैलो परेको बुर्को ओढेका ५ जना राउटेका युवा शुक्रबार पानी रोकिने र आफुहरुको चामलको जोहो हुने आशामा बसेका थिए । चिसो मौसममा न्यानो लुगा त कता हो कता आप्mनो रिती रिवाज बचाउन र चलिआएको चलन निभाउन हारगुहार गर्नु बाहेक कुनै बिकल्प थिएन ।
‘हाम्मो सबैभन्दा ठूलो पर्व मंसिर २८ गते पर्याको छ, त्यहीका लागि हामीलाई खर्चपानी अभाव भयाको छ,’ राउटे जितबहादुर शाहीले भने, ‘मुंसिर मुहिनाको भत्ता पाइए पनि त्यो पुइसाले हामीकन नपुग्न्या भयो त्यसैले सहयोग माग्दै आइपुग्याका हौं ।’ ४६ परिवार राउटेलाई मस्टो पूजामा प्रतिपरिवार एउटा खसी काट्नैपर्ने प्रचलन रहेकाले ४६ वटा खसि चाहिएको उनले बताए । शाहीका अनुसार राउटे समुदायमा पूजाका लागि बोका नै चाहिने बाध्यता छैन, खसीबाख्रा भएपनि प्रति परिवार एक वटा हुनैपर्छ । शुरूमा उनीहरू गुराँस गाउँपालिका पुगेका थिए, तर स्थानीय सरकारले आफूहरूसँग बजेट नभएकाले केही गर्न नसकिने जवाफ दियो ।
केन्द्रबाट खसी आउने आश्वासन पाएपनि अहिलेसम्म नपठाइएको उनीहरूको गुनासो छ । ‘उपप्रधानमुन्त्री ईश्वर पोखरेलले खसी पठाइदिन्छु भन्याका थिया, आजसम्म आइपुग्याका छैनन्,’ अर्का राउटे युवाप्रकाशबहादुर शाहीले भने, ‘यो पालिको पूजा खल्लो हुन्छ कि भन्या मनमा लाग्याको छ ।’ जंगलमा पहिला जस्ता जीवजन्तु पाइन छोड्या त्यसैले आफुहरु हरेक ठाउँमा सहयोग स्वरुप खसी र चामल माग्दै आएको उनको थियो । ‘पहिले जस्तो बाँदरहरू जंगलमा पाइँदैन । खसी काट्नुको विकल्प रहेन’ उनले भने, ‘यहिपाली देउता साह्रै रिसाउने हुन । आम्नो रिती रिवाज बाहिरको रक्सी खाँदा छन् हब्बै ।
अझै देउता पुजीकन खसी नकाट्यात क्या अनिकाल हुन्या हो ।’ गुराँस गाउँपालिकाका अध्यक्ष खेमबहादुर वलीले भत्ता बाहेक अन्य खर्च दिने स्रोत आफूहरूसँग नभएको बताए । ‘हामीसँग उहाँहरूलाई दिने अन्य स्रोत केही पनि छैन,’ उनले भने, ‘यो पालि उहाँहरूलाई अन्य सहयोग गर्न सक्ने अवस्था गाउँपालिकासँग छैन ।’ कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले उनीहरूको मागलाई सकेसम्म प्रदेश सरकारले केहि सम्बोधन गरेको बताए । ‘कोही पनि भोको नहुन् भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘यदि उहाँहरूसँग चामल नै नभएको अवस्था हो भने सरकारले आवश्यकता अनुसार आज नै गएर सहयोग गर्छ ।’ सहयोगका लागी स्थानीय सरकारले समेत प्रदेश सरकारसँग सहकार्य गर्नुपर्ने उनले बताए ।









प्रतिक्रिया दिनुहोस्