कोहलपुर ।
सडक दुर्घटनाको बिषयलाई लिएर तनावग्रस्त बनेको बा“केको कोहलपुर सामान्य बन्दै गएको छ । सोमबार बेलुकी पीडित पक्ष र प्रशासनबीच ६ बुँदे सहमति भएसँगै मंगलबार बिहानबाट यहाँको जनजिवन सामान्य बन्दै जान थालेको हो । आइतबार बिहान पौने १० बजेको समयमा ना २ ख ९४५९ नम्बरको ट्रकले त्रिभुवन माविमा अध्ययनरत छात्रा प्रकृति चन्दलाई ठक्कर दिएको थियो । विद्यालय अगाडि नै ट्रकको ठक्करबाट छात्रा गम्भिर घाइते भएपछि आक्रोशित विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए । आन्दोलनले उग्र रुप लिएपछि आइतबार र सोमबार कोहलपुर तनावग्रस्त बनेको थियो ।
आन्दोलनका कारण शिक्षण संस्था, व्यापार व्यवसाय, कार्यालयहरु तथा यातायातका साधनहरु ठप्प भएका थिए । सहमतिसँगै मंगलबार बिहानबाट जनजिवन सामान्य अवस्थामा फर्किएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । ‘सहमतिसँगै कोहलपुरमा सामान्य अवस्थामा फर्किसकेको छ’ इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले भने, ‘अहिले पहिलाको जस्तो कुनै असहज बातावरण छैन ।’ आन्दोलन रोकिएसँगै कोहलपुरमा परिचालन गरिएका सयौं नेपाल प्रहरी र शसस्त्र प्रहरी समेत फिर्ता गरिएको छ । ‘दुर्घटना लगत्तै थप मद्दतको लागि आएका सुरक्षाकर्मीहरु फिर्ता भइसकेको अवस्था छ’ प्रहरी नायब उपरीक्षक सिंहले भने, ‘सुरक्षालाई मध्यनजर गरेर अहिले पनि यहाँबाट नै सुरक्षाकर्मी परिचालित भएका छन् ।’
ट्रकको ठक्करबाट गम्भिर घाइते १३ वर्षिया छात्रा चन्द त्रिभुवन नमुना माविमा कक्षा १० मा अध्ययनरत थिइन् । सहपाठी गम्भिर घाइते भएपछि आक्रोशित भएका विद्यार्थीहरुलाई प्रहरीले दमन गरेपछि भिड अनियन्त्रित बनेको थियो । अनियन्त्रित भिडलाई नियन्त्रणमा लिनको लागि प्रहरीले हवाई फायर समेत गर्नुपरेको थियो । शान्तिपुर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै विद्यार्थी तथा स्थानीयहरु आक्रोशित हुन पुगेका थिए । कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले मंगलबार देखि व्यापार व्यवसाय सञ्चालनमा आएको जनाए । ‘दुई दिनदेखि ठप्प रहेको कोहलपुरमा मंगलबारदेखि चहलपहल सुरु भइसकेको छ’ उनले भने, ‘बिस्तारै बजारमा किनमेल गर्न आउने मानिसहरुको सख्ङ्या बढ्दैछ ।’ आइतबार दुखत घटना भएको भन्दै संघका अध्यक्ष अधिकारीले यस्ता भैपरी आउने घटनाहरुमा सबैको साथ सहयोग हुनुपर्नेमा जोड दिए ।
कोहलपुर साझा चोक नजिकै व्यवसाय गर्दै आएका चिन्तामणी उपाध्याय (सिएम) ले समेत ६ बुँदे सहमतिपछि पसलहरु खोलिएको जानकारी दिए । ‘आइतबार र सोमबारको जस्तो कुनै तनाव उत्पन्न भएन’ उनले भने, ‘निर्वाध रुपमा पसल सञ्चालन गर्न पाइयो ।’ व्यवसायी उपाध्यायले कोहलपुर क्षेत्रमा पछिल्लो समय सवारी दुर्घटना बढिरहेको भन्दै त्यसलाई नियन्त्रणको लागि सम्बन्धित निकायलाई ध्यान दिन आग्रह गरे । मंगलबार बिहान न्युन मात्रामा सार्वजनिक सवारी साधनहरु सञ्चालनमा आएपनी दिउँसोबाट भने नियमित रुपमा जस्तै गरी सञ्चालनमा आएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ । बालिकालाई ठक्कर दिने ट्रकमा विद्यार्थीहरुले आगजनी गरिदिएका थिए भने अन्य दुई दर्जनभन्दा बढी सवारी साधनमा तोडफोड गरेर क्षती पु¥याइदिएका थिए ।
विद्यार्थीको आन्दोलन उग्र बन्दै गएपछि आइतबार साँझ स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको थियो । कोहलपुरको जनजीवन सामान्य बन्दै गएपछि प्रशासनले निषेधित क्षेत्र हटाएको छ । सोमबार बेलुकी पीडित पक्ष र प्रशासनबीच ६ बुँदे सहमति भएसँगै कोहलपुरमा लगाइएको निषेधित क्षेत्र हटाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार खड्काले जानकारी दिए । प्रशासनले पूर्वमा रोहिणी खोला, पश्चिममा किरण नाला, उत्तरमा नौबस्ता चोक र दक्षिणमा पिपरी चोकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।








प्रतिक्रिया दिनुहोस्