कोहलपुर ।
३७ जिल्लाका ५२ रिक्त पदको लागि आज उपनिर्वाचन हुदैछ । प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त पदहरुका लागि आज मतदान हुन गइरहेको हो । बाँकेको कोहलपुरमा समेत उपनिर्वाचनको लागि आज मतदान हुदैछ । कोहलपुर नगरपालिका वडा नम्बर ६ मा मतदान हुन गइरहेको हो । गतवर्ष वडाअध्यक्ष राम सोहन थारुको निधन भएपछि रिक्त रहेको पदको लागि आज मतदान हुदैछ । मतदानको लागि कोहलपुर नगरपालिका ५ मा रहेको सिद्धार्थ आधारभुत विद्यालयमा मतदान स्थल तोकिएको छ ।
आज बिहान ७ बजेदेखि अपरान्ह्र ५ बजेसम्म मतदानको समय तोकिएको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए । ‘मतदान स्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन्’ उनले भने, ‘शनिबार बिहान निर्धारित समयबाटै नै मतदान सुरु हुन्छ ।’ बिहीबारै मतदान स्थलमा पुगेका कर्मचारीले शुक्रबार साँझसम्म मतदान स्थलबाट मतदाता परिचय पत्र वितरण गरेका थिए । यहाँ एउटा मतदान स्थल र दुई वटा मतदान केन्द्र तोकिएको छ । मतदान स्थलमा सबै तयारी पुरा भइसकेको ‘क’ मतदान केन्द्रका मतदान अधिकृत भगवान पौडेलले जानकारी दिए । ‘मतदान स्थलमा रहेका दुईवटै मतदान केन्द्रको तयारी पुरा भइसकेको छ’ उनले भने, ‘शनिबार बिहानै ७ बजेबाट नै मतदान गर्न वातावरण निर्माण गरिसकेका छौं ।’
सिद्धार्थ आधारभुत विद्यालयमा रहेका दुई वटै मतदान केन्द्रमा मतदाताहरुलाई मतदान गर्न सहज हुने वातावरण बनाइएको छ । मतदान स्थलको निश्चित एरिया डोरीले घेरबार गरिएको छ । ‘मतदाताहरुलाई सहज होस् भनेर छुट्टाछुट्टै लाइनको व्यवस्था गरेका छौं’ ‘ख’ मतदान केन्द्रका मतदान अधिकृत शेखरबाबु कार्कीले भने, ‘दुवै मतदान केन्द्रमा महिला पुरुषका फरक फरक लाइन हुनेछन् ।’ मतदानका लागि आवश्यक मतपत्र, मतपेटिका लगायतका सामाग्रीसहित कर्मचारी र सुरक्षाकर्मी मतदान स्थलमा खटिएको जिल्ला निर्वाचन अधिकारी खुम प्रसाद सुबेदीले जानकारी दिए ।
‘शनिबार हुने मतदानको सम्पुर्ण तयारी सकिसकेका छौं’ शुक्रबार राति मिसन टुडेसँग कुरा गर्दै उनले भने, ‘निर्धक्क भएर भाग लिन सबै मतदाताहरुलाई आग्रह गर्दछु ।’ कोहलपुरमा उपनिर्वाचनको लागि मतदान स्थलमा १० जना कर्मचारीहरु खटिएका छन् । उपनिर्वाचन हुने क्षेत्रका मतदाताहरूले सरकारी कार्यालयबाट जारी भएका आफ्नो परिचय झल्कने फोटोसहितको कुनै पनि परिचयपत्र देखाएर मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । कोहलपुर ६ मा दुई हजार २६ जना मतदाताहरु रहेका छन् । मतदानलाई लक्षित गरेर कोहलपुरको सुरक्षा व्यवस्था एकदमै कडा पारिएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी हेम बहादुर शाहीले मतदानको दिन र त्यसभन्दा अघि कुनै अप्रिय घटना घट्न नदिन सुरक्षा व्यवस्था कडा पारिएको बताए । उनका अनुसार सुरक्षालाई ध्यान राखेर मतदानको दिन वडा नम्बर ६ मा पास बिना सवारी साधन सञ्चालनमा रोक लगाइने छ । सुरक्षा व्यवस्था मजबुद बनाउनको लागि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग चौबिसै घण्टा खटिएका छन् ।
मतदान स्थल तोकिएको वडा नम्बर ५ को सिद्धार्थ आधारभुत विद्यालयमा प्रहरी निरीक्षकको कमाण्डमा ३५ जनाको टोली पठाइएको छ भने वडा नम्बर ६ मा समेत ५० जनाको टोली परिचालन गरिएको छ । त्यसैगरी शसस्त्र प्रहरीले पनी प्रहरी नायब उपरीक्षकको कमाण्डमा ७० जना शसस्त्र प्रहरी वडा नम्बर ६ मा परिचालन गरेको छ । ‘डिएसपी साबको कमाण्डमा ७० जना प्रहरी परिचालन गरेका छौं’ सशस्त्र प्रहरी बल, ३० नम्बर गण बागेश्वरी बाँकेका गणपति सशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारीले भने, ‘आवश्यकता अनुसार परिचालनको लागि समेत फोर्स तयारी अवस्थामा कोहलपुरमा राखेका छौं ।’ नेपाली सेनाको एक सेक्सन टोलीसमेत निर्वाचन स्थलमा परिचालन भइसकेको अवस्था छ । बुधबारबाट मतदान स्थलको आसपासको क्षेत्र र वडा नम्बर ६ मा सेनाले पैदल गस्ती गरिरहेको भैरब प्रसाद गण बाँकेका गणपती प्रमुख सेनानी नकुल थापाले जानकारी
दिए । आवश्यकता अनुसार थप मद्धतको लागि सेनाको अर्को टोली समेत तयारी अवस्थामा राखिएको उनले बताए । नेपाली सेनाले बाहिरी घेरामा रहेर सुरक्षा प्रदान गर्नेछ । राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले सुरक्षामा आइपर्ने खतराको सम्बन्धमा सूचना संकलन र विश्लेषण गर्नेछन् । सुरक्षा निकायहरुले उपनिर्वाचनमा सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपालाई सुरक्षा चुनौतीको रुपमा लिएको छ । ‘कोहलपुरको आसन्न चुनावमा विप्लव समुह अली सुरक्षा चुनौतीको रुपमा देखिएको छ’ बाँके सुरक्षा स्रोतले भन्यो, ‘अहिलेसम्म कुनै निर्वाचन विरोधी गतिविधी नगरेपनि मतदानको दिन केही गर्नसक्छन् की भनेर अनुमान गरेका छौं ।’
विप्लवको समुहको खतरालाई टार्नको लागि चार वटै सुरक्षा निकायहरुलाई सादा पोशाकमा सुचना संकलनको लागि खटाइएको छ । प्रहरीले विप्लव समुहका नेता कार्यकर्ता देखेसम्म नियन्त्रणमा लिने रणनिती अख्तियार गरेको छ । सुरक्षा चुनौतीको रुपमा विप्लव समुह देखिएपनी मतदान प्रक्रिया र मतदातालाई कुनै पनी चुनौती नहुने ती सुरक्षा अधिकारीले बताए । यसैबिच निर्वाचन आयोगले शुक्रबार भिडिओ अपिल गर्दै प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका सदस्यको विभिन्न पदको उपनिर्वाचनका लागि सबै तयारी पूरा भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले गृह मन्त्रालयको संयोजकत्वमा सबै सुरक्षा निकायको एकीकृत सुरक्षा योजना तर्जुमा गरिएकाले ढुक्क भएर निर्वाचनमा सहभागी हुने वातावरण बनेको बताए ।
‘सबै सुरक्षा निकायको एकीकृत सुरक्षा योजना तर्जुमा गरिएकाले ढुक्क भएर मतदानमा भाग लिन अनुरोध गर्दछौं’, उनले भने । उनले उपनिर्वाचनको पर्यवेक्षणका लागि राष्ट्रिय पर्यवेक्षण संस्थाहरूले अनुमति पाइसकेको र नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूलाई समेत अनुमति प्रदान गरिएको बताए । ‘आयोगमा मिडिया अनुगमन इकाई स्थापना भई अनुगमनको काम भइरहेको छ’, उनले भने । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन सामग्रीहरू सम्बन्धित जिल्ला र मतदान केन्द्रसम्म पु¥याइसकेको समेत जानकारी दिए ।
उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि १ जना, प्रदेश सभा सदस्यतर्फ ३ जना, उपमहानगरपालिका प्रमुख १ जना, गाउँपालिका अध्यक्षका लागि ३ जना, गाउँपालिका उपाध्यक्षका लागि १ जना र स्थानीय तह सदस्यतर्फ ४३ गरी कुल ५२ रिक्त पदमा निर्वाचन हुँदैछ । प्रतिनिधि सभा सदस्यतर्फ ११, प्रदेश सभा सदस्यतर्फ १५ र स्थानीय तहका सदस्यका लागि २० वटा राजनीतिक दलहरू सहभागी भएका छन् । निर्वाचनमा २ लाख ३३ हजार ४ सय २ महिला, २ लाख २० हजार ७ सय १० पुरुष र अन्य २ गरी जम्मा ४ लाख ५४ हजार १ सय १४ जना मतदाताले मतदान गर्दैछन् ।









प्रतिक्रिया दिनुहोस्