मनाइयो पाँचौं संविधान दिवस



कोहलपुर ।

पाँचौं संविधान दिवस बाँके सहित देशभर विभिन्न कार्यक्रमको आयोजना गरेर भव्यताका साथ मनाइएको छ । दिवसको अवसरमा बाँकेको कोहलपुर, नेपालगञ्ज, खजुरा, जानकी, बर्दियाको गुलरिया, बाँसगढी, मधुवन, राजापुर लगायतका स्थानीय तहले विभिन्न कार्यक्रम गरेका थिए । कोहलपुर, नेपालगञ्ज, खजुरा, बाँसगढी लगायतका स्थानमा दिवसको अवसरमा शुक्रबार बिहान प्रभातफेरी निकालिएको थियो । कोहलपुर नगरपालिकाको आयोजनामा चौराहादेखि सुरु भएको प्रभातफेरी साझा चोक हुँदै पुनः कोहलपुर चौराहामा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोण सभालाई नगर प्रमुख लुट बहादुर रावतले सम्बोधन गरेका थिए । उनले संविधान सबैको साझा दस्तावेज भएकोमा जोड दिए । ‘संविधान सभा मार्फत जारी भएको नेपालको संविधान सबैको साझा दस्तावेज हो’ नगर प्रमुख रावतले भने, ‘यसको पूर्ण कार्यान्वयनका लागि सबै एकजुट हुनुपर्ने आवश्यक छ ।’ नेपाल र नेपालीलाई थप बलियो र समृद्ध बनाउन संविधानको भूमिका महत्वपूर्ण हुने बताउँदै उलने सबै वर्ग र समुदायलाई प्रतिनिधित्व गर्ने नेपालको संविधान विश्वकै उत्कृष्ट बताए । बाँकेका अन्य स्थानीय तहहरुले नेपालगञ्ज उपमहानगरपालिका, खजुरा, जानकी, बैजनाथ गाउँपालिकाहरुले दिवसको अवसरमा प्रभातफेरी निकालेका थिए ।

यसैगरी बर्दियाका विभिन्न स्थानीय तहरुले समेत विभिन्न कार्यक्रमको आयोजना गरेर शुक्रबार संविधान दिवस मनाएका छन् । बाँसगढी नगरपालिकाले साँस्कृतिक झाँकी सहित प्रभातफेरी गरेको थियो । प्रभातफेरीले बाँसगढी बजार परिक्रमा गरी नेरा मावि बाँसगढीमा पुगि औपचारीक समारोहमा परिणत भएको हो । उक्त समारोहलाई सम्बोधन गर्दै संविधान सभा सदस्य निर्मल प्रकाश सुवेदीले नेपालको संविधानले सबै नागरिकहरुलाई सम्मान गरेको बताए । संविधान जारी भएको ४ बर्ष भईसकेको अवगत गराउदै ४ बर्षको अवधिमा संविधान कार्यान्वयले छलाङ्ग मारेको उनले दावी गरे ।

बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारीले नगरपालिकाले संविधानको मुल मर्म र भावनालाई आत्मा साथ गर्दै कार्यान्वयनको दिशा तर्फ उन्मुख भएको बताए । उनले संविधानमा उल्लेखित मुलभुत सेवा प्रभाहसँग सामाजिक र मौलिक हक अधिकारको कार्यान्वयनको लागि प्रत्यत्नशील रहेको बताए । सबै स्थानीय तहहरुमा भएका प्रभातफेरीमा संविधान सभा सदस्य, स्थानीय जनप्रतिनिधी, उद्योगी व्यवसायी, कर्मचारी, विद्यार्थी, शिक्षक, सुरक्षाकर्मी लगायतको उपस्थिती रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ असोज ४ गते शनिबार