कोहलपुर/ तीजलाई महिलाहरुको सुख, दुःख साटासाट गर्ने, रमाईलो गर्ने पर्वको रुपमा लिईन्छ । साथीसँगै एकजुट नाच्ने र गाउने पर्व पनि हो तीज । नेपाली हिन्दु नारीहरुले यस पर्वलाई आफुले भोगेका दुःख, व्यथा गित मार्फत अभिव्यक्त गर्छन् । पछिल्ला केही वर्षयता भने तीजलाई खर्चिलो पर्वको रुपमा मनाउन थालिएको छ । तीज नजिकिदै जाँदा तीज विषेश कार्यक्रम पनि हुन थालेका छन् ।
तीज रमाईलो गर्ने मात्रै भन्दा पनि सामाजिक कुसंस्कार बिरुद्धको पर्वको रुपमा मनाउनु पर्ने सरोकारवाला बताउछन् । बाँकेको कोहलपुरमा शुक्रबार लागुऔषध दुव्र्यसन बिरुद्धको सतेचनामुलक तीज विशेष कार्यक्रमका सहभागिहरुले तीजलाई सन्देशमुलक पर्वका रुपमा मनाउन सकिने बताए । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक विर बहादुर थापाले तीज पर्वलाई खर्चिलो भन्दा पनि समाजमा रहेका विकृति, विसंगति बिरुद्धको पर्वको रुपमा लिनु पर्ने बताए । तीज पर्वको अवसरमा पारेर विभिन्न लागुऔषध दुव्र्यसन बिरुद्ध काम गरिरहेका संस्थाहरुको सहकार्यमा गाउँ गाउँ र टोल टोलमा कार्यक्रम उनले जानकारी दिए ।
‘पछिल्लो समय लागुऔषध दुव्र्यसन समाजमा ठूलो समस्याको रुपमा खडा भएको छ’ प्रहरी निरीक्षक थापाले भने, ‘तीजलाई लागुऔषध दुव्र्यसन बिरुद्धको पर्व बनाऔँ ।’ तीज लगायतका पर्वहरु मनाउँदा सामाजिक विकृति, विसंगति बिरुद्ध मनाउनुपर्नेमा उनको जोड थियो । कोहलपुर नगरपालिका वडा नम्बर ८ स्तरीय आमा समुहका उपाध्यक्ष सुनिता बिष्टले सबै महिलालाई तीजलाई भड्किलो पर्वको रुपमा नमाउन आग्रह गरिन् । ‘हामी सबै मिलेर समाजमा रहेका विकृति अन्त्य गराउनु पर्छ’ उनले भनिन्, ‘लागु औषध दुव्र्यसन बिरुद्धको पर्वको रुपमा तीजलाई लिनुपर्छ ।’
आमा समुहको तर्फबाट समाजमा रहेका विसंगति हटाउनको लागि सक्रिय भएको पनि उनले बताइन् । तीजलाई खर्चिलो र भड्किलो रुपमा नमाउन गाउँका महिलाहरुले अभियानको थालेको उनले दाबी गरिन् । समाज सेवा संस्था नेपाल कोहलपुर नगरपालिका वडा नम्बर ८ स्तरीय ईकाई समितिका अध्यक्ष अस्मिता पुन मगरले तीजलाई व्यक्तिगत दुःख सुख साटासाट मात्रै गर्ने नभई सामाजिक कार्यका लागि पनि सदुपयोग गर्न सन्देश दिने हेतुले कार्यक्रम गरिएको जानकारी दिईन् । ‘तीजलाई लागुऔषध दुव्र्यसन बिरुद्धको पर्वको रुपमा मनाऔँ’ उनले भनिन्, ‘यसको लागी हामी सबै एकजुट हुनुको विकल्प छैन ।’
लागुऔषध दुव्र्यसन बिरुद्ध काम गर्दै आएको समाज सेवा संस्था नेपाल अध्यक्ष बिनोद थापा संस्थाले नगरपालिकाका सबै वडाहरुमा यस्तै खाले कार्यक्रम आयोजना गर्दै सतचेतना फैलाउदै गएको बताउँछन् । कार्यक्रम बोल्ने अन्य वक्ताहरुले समेत महिलाहरुलाई फजुल खर्च गर्ने, अरुको देखासिकी गर्ने नभई, गहना प्रर्दशन गर्ने पर्वका रुपमा तीजलाई नलिन आग्रह गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्