कोहलपुर ।
‘बाढीले खेत बगाएर लान्छ, घरखेत पानीमा डुब्छन्, बालुवाले खेत पटान गरेर बगर बनाउँछ, यो त हाम्रो वर्षेनीको नियति र पीडा नै बनेको छ ।’ बाँके राप्ती नदी तटीय क्षेत्रका बाढीपीडित मंगरु थारुको यो पीडा उनको मात्र होइन । उनी जस्तै नदी तटीय क्षेत्रका २४ हजार बाँकेवासीको पीडा हो । बाँकेको नेपाल–भारत सीमा क्षेत्र नजिक भारतले अन्तरराष्ट्रिय नियमविपरीत लक्ष्मणपुर बाँध र तटबन्ध बनायो । त्यसपछि शुरु भयो, बाँके राप्ती तटीय क्षेत्रका बासिन्दाको वर्षेनीको बाढी र डुबानको पीडा । मनसुनको समयमा भारतले तटबन्धको ढोका त खोल्छ तर आफू अनुकूल । भारतको यस्तो व्यवहारले बाँकेका हजारौं खेतीयोग्य जमीन डुबानमा पर्छ । घरगोठ पानीमा डुब्छ, जनधनको क्षति पनि हुन्छ ।
अझ यतिले पनि नपुगेर बाँकेको सीमावर्ती क्षेत्रमा भारतले बाँधजस्तै अग्लो सडक बनाएको छ । यो सडकका कारण अब त जिल्ला सदरमुकाम नेपालगन्ज पनि डुब्ने खतरा बढेको नगर प्रमुख डा. धवलशम्शेर राणा बताउँछन् । भारतको यस्तै कार्यका कारण प्रत्येक वर्ष बाँकेका होलिया, बेतहनी, फत्तेपुर, टेपरी, घोडियनपुर गाउँ तथा नगर क्षेत्रका झण्डै ५ हजार घरधुरीका करीब २४ हजार नागरिक प्रभावित हुन्छन्, बाढीपीडितको नियति भोग्न बाध्य हुन्छन् । मनसुन चरम उत्कर्षमा भएको समयमा बाँके जिल्ला प्रशासन कार्यालयले नेपाली भूमि डुबान हुन नदिन भारतीय पक्षसँग तटबन्धको ढोका खोल्न आग्रह गरे पनि त्यसले सार्थकता भने पाउँदैन ।
बेलाबखत र आवश्यक परेका बेला मात्र बस्ने दुवै देशका सीमावर्ती जिल्लाका अधिकारीको संयुक्त बैठकमा नेपालको तर्फबाट बाँकेको राप्ती तटीय क्षेत्र डुबान हुन नदिन बाँधको ढोका पर्याप्त खोल्न आग्रह गरिए पनि त्यसको सुनुवाइ हुँदैन । वि.सं. २०७२ मा आएको बाढीबाट बाँके राप्ती नदी तटीय क्षेत्रका बासिन्दाले अहिलेसम्मकै ठूलो जनधनको क्षति भोगेका थिए ।
त्यो वर्षको बाढीलाई सम्झेर बाढीपीडित अझै झस्किने गर्छन् । ‘ती बाढी पीडितमध्ये अधिकांश अहिले पनि जंगल क्षेत्र र ऐलानी जग्गामा अस्थायीरूपमा बसोबास गर्दै आएका छन्, सरकारले उनीहरुको पुनःस्थापनाको स्थायी व्यवस्था नगरेकामा दुःख लागेको छ,’ लक्ष्मणपुर बाँध पीडित संरक्षक समितिका अध्यक्ष जगदीशबहादुर सिंहको गुनासो छ । यो वर्ष मनसुन शुरु भएको पहिलो झरीले नै बाँके राप्ती नदी क्षेत्रका नागरिकलाई झस्काइसकेको छ । गत शनिवार रातिदेखि आइतवार अपराह्नसम्म परेको भारी वर्षाले नदी तटीय क्षेत्रका १०० भन्दाबढी घर डुबानमा परे, दर्जन बढी घर भत्किए, हुलाकी राजमार्गमा पनि क्षति पुग्यो ।
बाढी र डुबानपछि स्थानीय प्रशासन कार्यालयले उद्धार, राहत र अस्थायी पुनःस्थापनाको व्यवस्था त मिलाउँछ, तर यो अवस्था कहिलेसम्म भन्ने प्रश्नको प्रष्ट जवाफ भने कोहीसँग पनि छैन । मनसुनको समय शुरु भएपछि बाँके राप्ती नदी तटीय क्षेत्रका बासिन्दा बाढी र डुबानकै त्रासमै बाँच्नुपर्ने नियति भोग्न बाध्य भएका छन् । ‘रातिको समयमा भारी वर्षा भयो भने उनीहरु सुत्न सक्दैनन्, सुरक्षित स्थानमा पुग्न भागाभाग हुन्छ, फेरि पहिलेकै नियति दोहोरिने त होइन भन्ने सन्त्रासले उनीहरुलाई पिरोल्न थाल्छ,’ बाँके नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको भनाइ छ ।
दुई वर्षअघिको बाढी र डुबानमा परी बाँकेमा आठ जनाको मृत्यु भएको थियो भने ठूलो जनधनको क्षति भएको थियो । हजारौं नागरिक त्यसबाट प्रभावित भएका थिए । स्थानीय प्रशासनको तथ्यांकअनुसार बाढीबाट प्रभावितलाई रू. २१ करोड ७४ लाख नगद, खाद्यान्न, लत्ताकपडा र त्रिपाल र भाँडावर्तन उपलब्ध गराएको थियो । यो वर्ष पनि बाढी र डुबानबाट क्षति कम गर्न जिल्ला विपत् व्यवस्थापन समितिले स्थानीय तहमा विपत् व्यवस्थापन समिति गठन गरेको छ । बाढी र डुबानको विपत् आएको समयमा नागरिकको उद्धारका लागि आवश्यक उपकरणको व्यवस्था, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीलाई पनि तयारी अवस्थामा राखेको छ । नदीमा जल प्रवाहको स्तर खतराको चिह्नभन्दा माथि आएमा साइरन बजाउने व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए ।
नदी र खोलामा जलस्तर बढ्दै
सरकारले खोला तथा नदी किनारमा रहेका बालीनाली असार २८ गतेभित्रै थन्काइसक्न सबैमा अनुरोध गरेको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शनिबार सूचना जारी गर्दै तटीय क्षेत्रमा उच्च सतर्कताका साथ निर्माणको काम गर्न र बालीनाली भए २८ गतेभित्रै थन्काउन अनुरोध गरेको हो । हाल नदी र खोलामा जलस्तर बढ्दो क्रममा रहेको र एक हप्तापछि बहाव उच्च हुने पूर्वानुमान महाशाखाले गरेको छ । शनिबारदेखि सोमबारसम्म प्रमुख र मझौला नदीमा बाढीको जोखिम न्यून रहेको जनाएको छ ।
डेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङ, सुर्खेत, दैलेख, जाजरकोट, अछाम र आसपास जिल्लाका चुरे र पहाडका साना नदीमा बेलुकासम्म बहाव उच्च हुने अनुमान छ । साथै केही नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले सतर्क रहन भनिएको छ । मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर बदली भई पश्चिम र पूर्वी भागमा हल्कादेखि मध्यम खालको वर्षा भएको थियो भने एक–दुई स्थानमा भारी बर्षा भएको थियो ।









प्रतिक्रिया दिनुहोस्