एसइईको नतिजा तेस्रो हप्ता



काठमाडौं ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा असारको तेस्रो हप्ता मात्रै आउने भएको छ । अघिल्ला वर्षमा असारको पहिलो वा दोस्रो हप्तामै नतिजा आउने गर्थ्यो तर यस वर्ष प्रदेश २ मा प्रश्नपत्र बाहिरिनु, कर्मचारी अभाव हुनु जस्ता विविध कारणले गर्दा नतिजा प्रकाशनमा ढिलाइ भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले उत्तरपुस्तिका जाँचको काम भए पनि नतिजा असारको तेस्रो हप्ता मात्रै सार्वजनिक गर्नेगरी तयारी गरेको बताए । ‘प्रदेश २ मा प्रश्नपत्र बाहिएपछि हामीलाई ८–१० दिन ढिला भयो,’ उनले भने, ‘त्योसँगै कर्मचारी समायोजनको कामले झन् समस्या थपिदियो ।’

परीक्षाले नै लामो समय लिएपछि नतिजा प्रकाशनमा ढिलाई भएको उनको भनाइ छ । उनका अनुसार अहिले डाटा इन्ट्रीको काम भइरहेको छ । चैत १० बाट सञ्चालित एसइई परीक्षामा प्रदेश २ मा परीक्षा हुनुभन्दा अगावै प्रश्नपत्र बाहिरिएपछि रद्द गरिएका विषयको परीक्षा २२ चैतबाट सञ्चालन गरिएको थियो । परीक्षामा चार लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ जेठ २९ गते बुधबार