सुर्खेत/ कर्णालीमा चालु आर्थिक वर्षभित्र पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यसहित कर्णाली–रारा पर्यटन वर्ष २०७५ घोषण गरेको करिब तीन महिला पुग्न लाग्यो । पर्यटनमार्फत आर्थिक समृद्धिको लागि भन्दै प्रदेश सरकारले तामझामका साथ गत बैशाख १ गते रारामा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भव्यताका साथ पर्यटन वर्षको शुभाम्भ गरियो । संख्यात्मक प्रगति देखाउने प्रण गरेको प्रदेश सरकारसँग भने यो तीन महिनाको अवधिमा कति पर्यटक भित्रिए भन्ने कुनै तथ्याङ्क छैन ।
रारा घुम्नकै लागि कति पर्यटक कुन क्षेत्रबाट आएका छन् भन्ने अभिलेख अहिलेसम्म राख्न नसक्नुले पर्यटन वर्षको लक्ष्य अनुसार वर्षको अन्तिममा कस्तो तथ्याङ्क सार्वजनिक हुने हो भन्ने यहाँका नागरिकमा शंका उत्पन्न समेत भएको छ । प्रदेशको पर्यटनको मुख्य तालुकदार निकाय पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयले पनि सरकारले चालु आर्थिक वर्षमा पर्यटन प्रवद्र्धनका लागि विनियोजन गरेको बजेटसमेत खर्चिन सकेको छैन ।
पर्यटन वर्ष उद्घाटनमा ६३ लाख रुपैयाँ खर्चिएको सरकारले त्यसपछि तीन महिना हुँदा पनि रारामा के भएको छ भन्ने फर्केर पनि हेरेको छैन । कति पर्यटक भित्रिए र तीनीहरुले कति रोयल्टी तिरेका छन् भन्ने पनि कुनै तथ्याङ्क अहिले प्रदेश सरकारसँग छैन । हालसम्म पर्यटक आह्वागमनको तथ्याङ्क संकलन गर्ने संरचना पनि निर्माण गर्न सकेको छैन । संघीय संरचना अनुसार संकलन गरिएको तथ्यांक समेत मन्त्रालयसँग नभएको जनाइएको छ ।
यस्तै, रारामा मात्रै होइन, कर्णालीमा पर्यटकिय क्षेत्रमा घुम्नको लागि कति पर्यटक आएका छन् भन्ने पनि तथ्याङ्क अभिलेख गरिएको छैन । हवाई यात्रामार्फत कर्णालीमा पुगेका बाह्य पर्यटकको तथ्याङ्क सम्बन्धीत बिमानस्थलसँग भएमात्रै सरकारले भने आफैले संकलन गर्ने संयन्त्र निर्माण गर्न सकेको छैन । तर व्यवस्थीत रुपमा विगतदेखि नै तथ्यांक संकलन हुने क्षेत्रमा भने उनीहरुले नै राख्ने गरेका छन् ।
सुर्खेतको बुलबुले र काँक्रेबिहार आउने पर्यटकहरूको तथ्यांक संकलन गरिदैं आए पनि मन्त्रालय त्यसबारे जानकार छैन । जसले गर्दा महिनामा कति जना आन्तरिक र बाह्य पर्यटकहरूले अवलोकन गरे भन्ने बारेमा प्रदेश सरकार जवाफविहीन छ ।
पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयका शिवराम अधिकारीले कर्णालीका पर्यटकीय स्थलहरूमा कति पर्यटक भित्रिए भन्ने बारेमा कुनै अभिलेख राख्ने नगरिएको जानकारी दिए । मन्त्रालयमा कर्मचारी र बजेट अभावका कारण पर्यटकीय क्षेत्रमा कुनै कार्यक्रम गर्न नसकिएको उनको भनाइ छ ।
भव्यताका साथ पाँच लाख पर्यटक भित्र्याउने घोषणा गरिएपनि अभिलेख राख्ने संयन्त्र नहुँदा मन्त्रालयलाई सूचना माग्न आउनेलाई के तथ्यांक हातमा थमाउने भन्ने चिन्तामा देखिएको छ । ‘अभियान सुभारम्भ भएपनि केही कार्यक्रम गरिएन, आगामी आवमा मन्त्रालयले पर्यटन क्षेत्रको पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ’ उनले भने ।
पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने, सामुदायिक होटल स्थापना गर्ने लगायतका कार्यक्रमको ड्राफ्ट तयारीमा मन्त्रालय लागिपरेको छ । उनका अनुसार मन्त्रालयका लागि करिब ६० करोड बजेट प्रदेश सरकारले विनियोजन गरेको छ । सोही बजेटको आधारमा पर्यटन क्षेत्रको विकासलाई पहिलो प्राथमितामा राखेको छ।
अभिलेख राख्नका लागि प्रत्येक जिल्लामा समन्वय समिति गठन प्रक्रियामा जान निर्देशन दिइसकेको प्रदेशका पर्यटनमन्त्रीले नन्दसिंह बुढाले बताए । बजेट नहुँदा लक्ष्य अनुसारको काम लगाउन नसकेको भन्दै उनले उनीहरुमार्फत नै स्थानीय तहका पर्यटकीय सम्पदाहरूको सूची संकलन गरी रणनीतिक योजना बनाउने बताए ।
पर्यटन विकासमा ९८ करोड
मन्त्री नन्दसिंह बुढाले पर्यटन विकासमा रु ९८ करोड छुट्याइएको जानकारी दिएका छन् । मन्त्रालयको कूल बजेटको रु ९८ करोड पर्यटन विकासमा छुट्याइएको जानकारी दिएका हुन् । उनले पर्यटनको विकासका लागि भौतिक पूर्वाधार निर्माणमा जोड दिने हेतुले कूल बजेटको ५२ प्रतिशत रकम यसमा विनियोजन गरेको बताए ।
‘कर्णाली प्रदेश सरकारले वैशाख १ गते ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ को विधिवत् उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट गराइसकेको छ, त्यसले गर्दा पर्यटक आउनेक्रम बढेको छ’ मन्त्री बुढाले भने । तर उनीसँग पनि हालसम्म कति पर्यटक भित्रिएका छन् भन्ने कुनै तथ्यांक छैन ।
पर्यटकीय पूर्वाधार निर्माणार्थ रारामा तीन करोड, डोल्पामा दुई करोड, हिमालय गे्रट ट्रेलकनका लागि दुई करोड, बुलबुले ताल निर्माणमा पाँच करोड र काक्रेविहारका लागि १० करोड बजेट विनियोजन गरिएको हो । उनका अनुसारे प्रदेशका १० वटै जिल्लाको भिडियो डकुमेन्ट्री संकलन गरी प्रदेशको पर्यटन विकासको खाका तयार गरिने छ । कर्णाली प्रदेश सरकारले पर्यटन प्राधिकरणको विचार ल्याए पनि अन्त्यमा पर्यटन बोर्ड नै आवश्यक छ भन्ने निष्कर्षमा पुगेको पनी मन्त्री बुढाको धराणा छ ।
यस्तै, कर्णालीको पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारको भूमिका विषयमा बहस गर्न सुर्खेत पुगेका पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले कम लगानीमा बढी प्रतिफल र रोजगार दिएर सुनिश्चितताका साथ निरन्तर चलिरहने एक मात्र क्षेत्र पर्यटन उद्योग भएको बताए ।
उनले पर्यटकको बसाइँ लम्ब्याउन सक्ने खालको आवश्यक नीति, पूर्वाधार र वातावरण निर्माण गर्न सकिए मात्र पर्यटन क्षेत्रको विकास र समृद्धि हुने उल्लेख गरे ।









प्रतिक्रिया दिनुहोस्