प्रहरीमा जागिर लगाइदिन्छु भन्दै रकम असुल्ने प्रहरी फन्दामा



सुर्खेत,२५ वैशाख/   प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पैसा माग्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ ।

खत्रीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले तुलसीसपुर उपमहानगरपालिका –५, दाङका पशुपति ठगीको आरोपमा मंगलबार पक्राउ गरेको हो । खत्रीले सिधै प्रहरी प्रधान कार्यालयका प्रहरी अधिकृतहरुसँग आफ्नो चिनजान रहेको र प्रक्रियाबिना नै प्रहरीमा जागिर लगाइदिन्छु भन्दै चार जनासँग पैसाको बार्गेनिङ्ग गरिहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

खत्रीले पञ्चपुरी नगरपालिका २ सुर्खेतका धनबहादुर माझी, सोही ठाउँका प्रकाश भण्डारी, लेकबेशी नगरपालिका –३, का कृष्टी रोकाय र दुल्लु नगरपालिका –१०, गमौडीका समुनकुमारी शाहीसँग सुरुमा पेश्की प्रतिव्यक्ति २५ हजार र पछि जागिर भइसकेपछि २ लाख ७५ हजार दिनुपर्छ भन्दै मागिरहेको अवस्थामा प्रहरीले विशेष सूचनाको आधारमा वीरेन्द्रनगर ६ स्थित पूजा लोकप्रिय होटलबाट पक्राउ गरेको हो ।

पीडित व्यक्तिहरुलाई सोधपुछ गर्दा आफूहरुसँग खत्रीले सुरुमा उनीहरुबाट शैक्षिक प्रमाणपत्र, फोटो र प्रतिव्यक्ति २५ हजार रुपैयाँ लिन लागेको प्रहरी अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाश भण्डारीलाई खत्रीले दुई पटकसम्म प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पैसा माग्ने गरेको निरीक्षक श्रेष्ठले बताउनुभयो । खत्रीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।-उज्यालो अनलाइन

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख २५ गते मंगलबार