कोहलपुर,१४ वैशाख/ यसवर्षको राष्ट्रपति उत्कृष्ट क्षेत्रीय पुरस्कार साविकका मध्यपश्चिमका पाँच जना किसानले प्राप्त गरेका छन् ।

विभिन्न क्षेत्रमा आवद्ध भई कृषि उत्पादनमा व्यवसायीक खेती गरेका उत्कृष्ट किसानहरुलाई शुक्रबार प्रदान गरिएको छ ।
व्यवसायिक कृषि पेशालाई सम्मानीत पेशा बनाउन र कृषकको मनोभावना उच्च राख्न सहयोग पुगेको भन्दै बाँकेका लाल बहादुर सुनार सहित पाँच जना कृषकलाई क्षेत्रीयस्तरको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको हो ।
साविक मध्यपश्चिम विकास क्षेत्रमा उत्कृष्ट कृषि खेती गर्दै आएका डोल्पाका रणजीत बोहरा, दैलेखका देवेन्द्रकुमार गोदार, सुर्खेतका प्रेमकुमार आचार्य र सल्यानका सुरेशकुमार गाहा मगर सहितले राष्ट्रपति कृषक पुरस्कार प्राप्त गरेका हुन् ।
साविकको मप विकास क्षेत्रका १५ जिल्लाबाट परेको आवेदनका आधारमा उत्कृष्ट कृषक चयन गरिएको हो । कृषि पेशालाई व्यवसाय र आम्दानीको प्रमुख स्रोत बनाएका कृषकलाई हरेक वर्ष राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिन्छ ।
सम्मानपछि उनीहरुले स्वदेशमा केही गर्नुपर्छ भन्ने इच्छाशक्ति भए विदेशसिनुपर्ने समस्या नभएको बताए । उनीहरुलाई जनही २५ हजार रुपैयाँ र प्रमाणपत्र सहित सम्मान प्रदान गरिएको छ ।
कृषकहरुलाई सम्मानपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कृषिजन्य उत्पादनको बजार व्यवस्थापन प्रदेश सरकारले गर्ने बताए ।
‘दुनियाले मरुभुमि र समुद्रमा समेत कृषिको विकास गरेका छन् ।’ मुख्यमन्त्री शाहीले भने, ‘हाम्रो प्रदेशमा त झन उपयुक्त हावापानी, माटो र चरणक्षेत्र छन, हामीले किन बाहिरबाट आयात गरेर खाने ?’ कर्णाली प्रदेश कृषि उत्पादनको लागि राम्रो संभावना वोकेको प्रदेश भएको वताउँदै मुख्यमन्त्री शाहीले फलफुल, पशुपालन, तरकारी र अन्नवालीको व्यवसायीक खेतीमा लाग्न जोड दिए ।
सरकारले भर्खरै ल्याएको नीति तथा कार्यक्रम र वजेटमा समेत उच्च प्राथमिकता दिएको भन्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको कृषि उत्पादनलाई अर्गानिक कृषि उत्पादनका रुपमा ‘व्राष्डीङ्ग’ गरिने वताए ।









प्रतिक्रिया दिनुहोस्