निकुञ्ज मध्यवर्ती क्षेत्रमा हात्ती आतङ्क, दिउँसै गाउँ पस्न थाले जङ्गली हात्ती



सुदीप अधिकारी : बर्दिया,१९ चैत/ ठाकुरबाबा नगरपालिका–२ कर्मला गाउँ र सो आसापासका बासीन्दा शनिबार दिनभर नै त्रसित रहे । निकुञ्जको छेवैँमा विहानैदेखि ठूलोठूलो आवाजमा कराइ रहेको जंगली हात्ती दिउँसोपख त बस्तीमै छि¥यो ।

मात्तिएको हात्ती बस्तीमै पसेपछि गाउँमा कोलाहाल मच्चियो । बस्तीका मानिसहरु सुरक्षित रहन दौडादैड गरे । केटाकेटी र बुढापाखालाई गाउँलेले सुरक्षित स्थानमा राखे । युवाहरु भने एकजुट भएर हात्तीलाई धपाउने उपाए गरी रहे ।

केही सिप लागेन । बस्तीमा पस्ने वित्तिकै मुखैमा गहुँबाली पाए पछि हात्ती एकसुरले गहुँ खान थाल्यो । हात्ती धपाउन गाउँलेले जती होहल्लागरे पनि हात्ती बस्तीबाट बाहिरीने कुनै चाल देखाएन । बरु बढी होहल्ला सुन्दा मानिसहरु भए तिर नै दैडिन खोज्थ्यो । धपाउनेहरु भागाभाग गर्थे ।

गाउँलेहरुले करिव ३ घण्टासम्म हात्ती धपाउन कोशिस गरि गरे । तर हात्तीले स्थानिय गणेशबहादुर घर्तीको गहुँबाली छाडेन । केही समयपछि हात्ती धपाउन नेपाली सेना र निकुञ्जका कर्मचारी पनि आए । सेनाले फायरिङ्ग पनि खोल्यो । तै पनि हात्ती भागेन ।

गहुँबाली वरपर आफनै सुरमा घुमिर¥यो । ‘खेतमा गहुँ खाइरहेको हात्ती कुन बेला घर भए तिर आउने हो भन्ने गाउँले सबैमा त्रास छाइ रह्यो,’ कर्मला गाउँका सन्तराम चौधरीले हात्तीको त्रास सुनाउँदै भने, ‘राती सुनसान भएको बेला त आउथ्यो–आउथ्यो । अब त दिउँसै बस्तीमा पस्न थाल्यो ।

दिनरात डरैडरले बस्नु पर्छ ।’ हात्ती गाउँ पसेको थाहा पाएपछि छिमिकी गाउँका मानिसहरु पनि हात्ती धपाउन आए । ‘दिउँसो करिव ३ बजे गाउँ पसेको हात्ती साझ पर्दै जाँदा कोलाहाल बढेपछि करिव पौने ६ बजे तिर बल्ल निकुञ्ज पस्यो,’ स्थानिय सन्तराम चौधरीले सुनाए ।

करिव ३ घण्टा हात्तीको त्रासमा बिताएका स्थानियले हात्ती निकुञ्ज छिरेपछि बल्ल राहतको सास फेरे । एक्लै हिड्ने यो हात्ती एक सातायता यसै क्षेत्रमा रहदै आएको स्थानियबासी बताउँछन् ।

यस अघि पनि यही गाउँमा हात्ती पसेर एक जनाको ज्यान लिएको थियो । केही समय अघि गेरुवा गाउँपालिकाको मनाउँ गाउँमा एकाविहानै पसेका ३ वटा हात्तीले आतंक मच्चाएका थिए । घर भत्काउँदै बेसुरले हिडेका हात्तीको आक्रमणमा परि एक जनाको ज्यान नै गयो । २ जना घाइते भए ।

गत असोजमा विद्यालयमा पढाइ सकेर साइकलमा घर जाँदै गर्दा सूर्यपटुवा परबोझीका–१३ वर्षीय युवराज चौधरीलाई हात्तीले बिचबाटैमा आक्रमण ग¥यो । घाइते चौधरीको उपचारको क्रममा अस्पतालमा मृत्यु भयो ।

सोही दिन साझपख त्यही हात्तीले ७४ वर्षीय बृद्ध पुरइ थारुलाई आक्रमण गर्यो । बृद्ध थारुको पनि उपचारकै क्रममा मृत्यु भयो । वर्ष दिनयता जंगली हात्तीकै आक्रमणमा परेर निकुञ्जसँग सिमा जोडिएको मध्यवर्ती क्षेत्रका ६ जनाले ज्यान गुमाईसकेका छन् ।

सयौँ बिघा जमिनमा लगाइएको बालीनाली सखाफ भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको दक्षिण पश्चिम मध्यवर्ती क्षेत्रमा जंगली हात्तीको आतंक बढेको बढ्यै छ । जंगली हात्ती गाउँमै पसेर मानिसलाई आक्रमण गर्न थाले पछि स्थानिय निकै त्रसीत भएका छन् ।

जंगली हात्तीले गाउँमा पसेर मानिसलाई आक्रमण गर्ने, बालीनाली र घरगोठ सखाप पार्न थालेपछि मध्यवर्ती क्षेत्रका बासीन्दाहरु हिजोआज हात्तीको डरले रातभर जाग्राम बस्न थालेका छन् । दिउँसै हात्ती गाउँ पस्न थालेपछि यहाँका बासीन्दा काममा जान समेत डराउन थालेका छन् ।

निकुञ्ज मध्यवर्ती क्षेत्रमा पर्ने बर्गदा, सैनवार, डुम्रेनी, सिहंवाहिनी, कर्मला, बलाती, आम्बासा गाउँ हात्तीबाट सबैभन्दा बढी प्रभावित गाउँ हुन् । यसैगरि शिवपुर, ठाकुरद्धारा, सुर्यपटुवा, कैलाशी, डल्ला, पत्तथरबोझी, डाडागाउँ, मनाउँलगाएतका दर्जन भन्दा बढी बस्ती पनि हात्तीबाट प्रभावित
छन् । यस क्षेत्रका स्थानीयबासीहरु जहिलेपनि आफुहरुलाई असुरक्षित महशुस भएको बताउँछन् ।

‘ दिनहुजसो हात्ती गाउँ पस्छ । बालीनाली त परै जावस् ज्यान जोगाउनै गाह्रो भइ सक्यो । दिउँसै हात्ती गाउँ पस्न थाल्यो । वर्षौदेखि हात्तीकै त्रासमा छौ, ’ स्थानिय कर्मला गाउँका शिवनारायण थारुले पिँडा सुनाए ।

हात्ती, गैंडाजस्ता जंगली जनावर गाउँ पस्नबाट रोक्न निकुञ्जले मध्यवर्ती क्षेत्रको आसपासमा विद्युतीय तार बिस्तार गरेपनि उक्त तार ठाउँठाउँमा चुडिएकोले हात्ती सजीलै गाउँ पस्ने गरेको छ । वन्यजन्तुलाई गाउ पस्नबाट रोक्न विद्युतिय तारबार प्रभावकारी नभएको स्थानियबासी बताउँछन् ।

निकुञ्ज आसपासका गाउँमा बर्षेनी जंगली हात्तीले ठूलो जनधनको क्षती गर्दै आएको भएपनी निकुञ्जले जंगली जनावरबाट हुने क्षती रोक्न कुनै दिर्घकालिन योजना नबनाएको स्थानीयबासीको आरोप छ ।

पछिल्लो समयमा स्थानिय तह र निकुञ्जले वन्यजन्तुलाई गाउँ पस्नबाट रोक्नका लागि मध्यवर्ती क्षेत्रका आसपासका गाउँको किनारमा जालीसहितको विद्युतीय तारवार लगाउने योजना ल्याएको छ ।

जस अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने ठाकुरबाबा नगरपालिका–७ मोहनपुर गाउँमा १ हजार १ सय मिटर क्षेत्रफलमा जालीसहितको तारवार लगाइएको छ । स्थानियबासीले गाउँको सिमा छुने मध्यवर्ती क्षेत्र पुरैमा पक्की पर्खाल लगाउन माग गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत १९ गते सोमबार