तीन दिनदेखि वेपत्ता युवक मृत फेला



बर्दिया, १८ माघ/  तीन दिनदेखि घर परिवारसँग सम्पर्क विहीन रहेका एक युवकको शव छिमेकी गाउँमा फेला परेको छ । ठाकुरबाबा नगरपालिका–२ बलातीका १७ वर्षीय वालकृष्ण आचार्यको शव बुधबार साँझ छिमेकी पेरहनी गाउँको खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
मृत युवकको निधारमा गहिरो चोट रहेको छ । धारिलो बस्तुको प्रहार गरी हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । तीन दिनदेखि छोरो सम्पर्कमा नआएपछि घरपरिवारले खोजीका लागि मंगलबार इलाका प्रहरी कार्यालय भुरिगाउँमा निवेदन दिएका थिए ।

प्रहरी र स्थानीयबासीले खोजी गर्ने क्रममा वेपत्ता युवकको शव छिमेकी गाउँ पेरहनीको एक खेतमा फेला परेको थियो । शव फेला परेलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनक भट्टराईसहितको विशेष टोली घटनास्थल पुगेर अनुसान्धान गरेको थियो ।

अनुसन्धानका क्रममा शंकास्पद ठानिएका १४ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक जनक भट्टराइले बताए । उनले भने, ‘सोधपुछका लागि १४ जनालाई नियन्त्रणमा लिइएको हो । सोधपुछ गरेर केहीलाई छाडिएको छ । ’

घटनाको प्रकृति हेर्दा मृत्यु अस्वभाविक भएकाले विस्तृत अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भट्टराइले बताए । घरपरिवार तथा स्थानीयबासीले घटनाको गहिरो अनुसन्धान गरी हत्यारा पत्ता लगाउन माग गरेका छन् । मृतक युवक परिवारका एक्ला छोरा थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १८ गते बिहीबार