पौडीमा एकैदिन चार राष्ट्रिय कीर्तिमान



नेपालगन्ज ।

नेपालगन्जस्थित पौडी पोखरीमा बुधबार कीर्तिमानै कीर्तिमानको वर्षा भयो । प्रतियोगिताको दोस्रो दिन सुदूरपश्चिमका अर्थव सिंह, बागमतीका अभिव प्रधान, एनआरएनएकी लिली बोहरा र नेपाल पुलिस क्लबको रिले टोलीले नयाँ राष्ट्रिय कीर्तिमान रचेका हुन् । पुरुष ४०० मिटरमा सुदूरपश्चिमका अर्थव सिंहले ४ मिनेट ५६।७६ सेकेन्डमा दूरी पार गर्दै आफ्नै पुरानो कीर्तिमान भंग गरी स्वर्ण जिते । यस स्पर्धामा पुलिसका मयोन श्रेष्ठले रजत र बागमतीका अरिक कर्माचार्यले कास्य पदक हात पारे ।

यस्तै, महिला ८०० मिटर फ्रिस्टायलमा एनआरएनएकी लिली बोहराले ९ मिनेट ३४।०६ सेकेन्डको समय निकाल्दै आर्मीकी डुअना लामाको कीर्तिमान तोडिन् । डुअनाले पनि आफ्नो पुरानो समय सुधार गर्दै रजत जितिन् भने पुलिसकी देभान्सी जोशीले कास्य पाइन् । लिलीले बुधबारै २०० मिटर फ्रिस्टायलमा समेत स्वर्ण जितिन् । पुरुष १०० मिटर ब्रेस्टस्ट्रोकमा बागमतीका अभिव प्रधानले १ मिनेट ०१।५१ सेकेन्डमा दूरी पूरा गर्दै प्रारम्भ भण्डारीको कीर्तिमान तोडे ।

अभिवले ५० मिटर बटरफ्लाईमा समेत स्वर्ण थपे । यता, पुरुष ४ गुणा २०० मिटर फ्रिस्टायल रिलेमा नेपाल पुलिस क्लबले झण्डै एक दशक पुरानो कीर्तिमान भंग ग¥यो । इर्भिन श्रेष्ठ, आरुष अवाले, मयोन श्रेष्ठ र काल्किन श्रेष्ठको टोलीले ८ मिनेट ३२।१३ सेकेन्डमा दूरी पार गर्दै सन् २०१६ को कीर्तिमान तोडेको हो । बुधबारै सम्पन्न अन्य स्पर्धामा महिला ५० मिटर बटरफ्लाईमा एनआरएनएकी मिखा काया थापा, पुरुष २०० मिटर फ्रिस्टायलमा पुलिसका इर्भिन श्रेष्ठ र महिला १०० मिटर ब्याकस्ट्रोकमा बागमतीकी आर्या महर्जनले स्वर्ण जिते ।

महिला ४ गुणा १०० मिटर र मिक्स ४ गुणा ५० मिटर मिड्ले रिले दुवैमा बागमतीले स्वर्ण कब्जा ग¥यो । दोस्रो दिनको समाप्तिसम्म पौडीमा कुल ६ वटा राष्ट्रिय कीर्तिमान बनिसकेका छन् । अंक तालिकामा ९ स्वर्णसहित बागमती शीर्ष स्थानमा रहँदा ६ स्वर्णसहित एनआरएनए दोस्रो र ३ स्वर्णसहित पुलिस तेस्रो स्थानमा छ । आर्मी २ तथा सुदूरपश्चिम र कोशी प्रदेशले १–१ स्वर्ण जितेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर ११ गते बिहीबार