१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताः पुरुष फुटबलमा आर्मीको प्रभावशाली जित



नन्दराम जैशी । सुर्खेत ।

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबले प्रभावशाली जित निकाल्दै सुखद सुरुवात गरेको छ भने कोशी प्रदेश र बागमती प्रदेशबीचको प्रतिस्पर्धात्मक खेल बराबरीमा टुंगिएको छ । बुधबार सम्पन्न प्रतियोगिताको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ३–० गोल अन्तरले पराजित गर्दै आफ्नो दाबेदारी प्रस्तुत गरेको हो । खेलको सुरुदेखि नै आक्रामक रणनीतिका साथ मैदानमा उत्रिएको आर्मीले लुम्बिनीलाई दबाबमा राख्दै सहज जित दर्ता ग¥यो ।

आर्मीको जितमा भरत खवास, लाकेन लिम्बु र लुम्बिनीका विकास लिम्बुको आत्मघाती गोल निर्णायक बने । खेलको २३औँ मिनेटमा जर्सी नम्बर २१ का भरत खवासले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको आर्मीले दोस्रो हाफमा आफ्नो आक्रमणलाई थप प्रभावकारी बनायो । खेलको ५२औँ मिनेटमा जर्सी नम्बर १० का लाकेन लिम्बुले गोल थप्दै आर्मीको अग्रता दोब्बर बनाए ।

दुई गोलले पछि परेको लुम्बिनीमाथि दबाब बढिरहेका बेला खेलको ६४औँ मिनेटमा अर्को दुर्भाग्यपूर्ण घटना भयो । बल क्लियर गर्ने क्रममा लुम्बिनीका जर्सी नम्बर ४ का विकास लिम्बुबाट आत्मघाती गोल भएपछि आर्मीको जित ३–० मा सुनिश्चित भएको थियो । लुम्बिनीले खेलमा फर्किने प्रयास गरे पनि आर्मीको रक्षापंक्ति तोड्न सकेन । प्रतिस्पर्धात्मक खेलमा लुम्बिनीका फागुराम थारुले पहेँलो कार्ड पाएका थिए ।

म्याच अफिसर वीरेन्द्र पाण्डेका अनुसार खेलमा अनुशासन उल्लंघन गरेपछि उनलाई कार्ड देखाइएको हो । आर्मीको जितले प्रतियोगितामा बलियो टोलीका रूपमा आफूलाई प्रस्तुत गर्ने अवसर दिएको छ । पहिलो खेलमै तीन गोलको अन्तरसहित जित निकाल्नुले टोलीको आक्रमण र खेल नियन्त्रण क्षमतासमेत देखाएको छ ।

गोल जोगाउन नसक्दा बागमतीलाई धक्का

बुधबारकै दोस्रो खेलमा भने दुई गोलको अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा बागमती प्रदेशले कोशी प्रदेशसँग अंक बाँड्नुपरेको छ । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले दुई–दुई गोल गरेपछि खेल २–२ को बराबरीमा सकिएको हो । खेलको सुरुवाती चरणमा दुवै टोलीले गोलका अवसर सिर्जना गर्ने प्रयास गरे पनि बागमतीले पहिलो हाफको ३६औँ मिनेटमा अग्रता लिन सफल भयो ।

बागमतीका एलिक श्रेष्ठले उत्कृष्ट फिनिसिङ गर्दै टोलीलाई १–० को अवस्थामा पु¥याए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको बागमतीले दोस्रो हाफमा पनि आफ्नो लय कायम राख्यो । खेलको ५४औँ मिनेटमा पुनः एलिक श्रेष्ठले व्यक्तिगत दोस्रो गोल गर्दै बागमतीको अग्रता २–० बनाए । लगातार दुई गोल गरेपछि बागमती सहज जिततर्फ अघि बढेको देखिएको थियो ।

तर, दुई गोलले पछि परेको कोशी प्रदेशले हार स्वीकार गरेन । खेलको अन्तिम १५ मिनेटतिर कोशीले आक्रामक खेल प्रस्तुत गर्दै बागमतीको अग्रता उल्ट्याउने प्रयास ग¥यो । खेलको ७५औँ मिनेटमा कोशीले पेनाल्टी अवसर प्राप्त ग¥यो । उक्त अवसरलाई सदुपयोग गर्दै मिलन राईले गोल गरेपछि खेल २–१ को अवस्थामा पुग्यो ।पहिलो गोलपछि थप उत्साहित बनेको कोशीले तीन मिनेटपछि नै बराबरी गोल फर्कायो । खेलको ७८औँ मिनेटमा पदम भट्टराईले गोल गर्दै कोशीलाई खेलमा फर्काए ।

त्यसपछि दुवै टोलीले निर्णायक गोलका लागि प्रयास गरे पनि थप गोल हुन सकेन । दुई गोलको अग्रता जोगाउन नसक्नु बागमतीका लागि निराशाजनक रह्यो । सुरुवातमा खेल नियन्त्रणमा राखेको बागमतीले उत्तरार्धमा रक्षात्मक कमजोरी देखाउँदा कोशीले पुनरागमन गर्ने अवसर पायो । यता, दुई गोलले पछि परेको अवस्थामा पनि अन्तिम समयसम्म संघर्ष गरेको कोशीले महत्वपूर्ण अंक हात पा¥यो । खेलको दोस्रो हाफमा दुवै टोलीले गोलका केही राम्रा अवसर सिर्जना गरे पनि तिनलाई सदुपयोग गर्न सकेनन् । खेलमा कोशीका पदम भट्टराई र सविन घिमिरे तथा बागमतीका संजीव अर्यालले पहेँलो कार्ड पाएका थिए ।

आज कर्णाली र गण्डकी भिड्दै

पुरुष फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार पनि दुई खेल सञ्चालन हुनेछन् । घरेलु मैदानमा खेलिरहेको कर्णाली प्रदेशले बिहान ९ बजे गण्डकी प्रदेशको सामना गर्नेछ ।
घरेलु समर्थकको साथ पाउने कर्णालीका लागि यो खेल प्रतियोगितामा आफ्नो क्षमता देखाउने महत्वपूर्ण अवसर हुनेछ । त्यस्तै, बिहीबार दिउँसो २ः३० बजे हुने दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

बुधबारका खेलले प्रतियोगितामा आर्मीको बलियो सुरुवात र कोशीको संघर्षपूर्ण पुनरागमनलाई चर्चामा ल्याएका छन् । अब बिहीबारको खेलमा घरेलु टोली कर्णालीसहित एपीएफ र मधेश प्रदेशको प्रदर्शन कस्तो रहन्छ भन्ने प्रतीक्षा फुटबलप्रेमीले गरेका छन् ।

महिला क्रिकेटमा बागमती र कोशीको विजयी सुरुवात

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा बागमती प्रदेश र कोशी प्रदेशले विजयी सुरुवात गरेका छन् । बुधबार सुर्खेतमा सम्पन्न दुई खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई सात विकेटले तथा कोशीले आयोजक कर्णाली प्रदेशलाई ४९ रनले पराजित गर्दै प्रतियोगितामा आफ्नो उपस्थिति बलियो बनाएका हुन् । बागमतीको जितमा ओपनर हेलिषा गुरुङको अविजित अर्धशतकीय पारी निर्णायक बन्यो भने कोशीको जितमा कप्तान रुविना क्षेत्रीको जिम्मेवार ब्याटिङ र लकिता राजबंशीको घातक बलिङ मुख्य आधार बन्यो ।

दुवै टोलीले फरक शैलीमा जित निकाल्दा महिला क्रिकेटमा ब्याटिङ र बलिङबीचको सन्तुलनले नतिजामा पार्ने प्रभावसमेत देखिएको छ । पहिलो खेलमा बागमतीले सुदूरपश्चिमलाई सात विकेटले हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा सात विकेट गुमाएर ११२ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो । सुदूरपश्चिमका लागि मनिषा बोहराले सर्वाधिक ३० रन बनाइन् ।

उनले टोलीको इनिङ्स सम्हाल्ने प्रयास गर्दा स्नेहा महराले २२ तथा अनु कडायतले अविजित २३ रनको योगदान दिइन् । अनुले आक्रामक ब्याटिङ गर्दै १५ बलमा एक चौका र एक छक्का प्रहार गरिन् । कप्तान ऋतु कनौजियाले पनि अविजित १५ रन जोड्दै टोलीलाई सम्मानजनक योगफलसम्म पु¥याउन सहयोग गरिन् । बागमतीका बलरहरूले सुदूरपश्चिमलाई ठूलो योगफल बनाउन भने दिएनन् । कप्तान अस्मिना कर्माचार्यले प्रभावशाली बलिङ गर्दै तीन विकेट लिइन् ।

संस्कृति फुयाँल र लक्ष्मीमाया रुम्बा लामाले समान एक विकेट लिए । ११३ रनको लक्ष्य पछ्याएको बागमतीले १८ ओभरमै तीन विकेट गुमाएर जित सुनिश्चित ग¥यो ।
बागमतीको जितको आधार ओपनर हेलिषा गुरुङ बनिन् । उनले धैर्य र आक्रामकताको संयोजन गर्दै ५१ बलमा अविजित ५५ रन बनाइन् । उनको पारीमा ६ चौका समावेश थियो । हेलिषालाई लक्ष्मीमाया रुम्बा लामाले २० रन बनाएर साथ दिइन् । कामना श्रेष्ठले १३ तथा विपिसा शाहीले १० रनको योगदान गरिन् ।

सुदूरपश्चिमका अनु कडायत र स्नेहा महराले समान एक विकेट लिए पनि बागमतीलाई लक्ष्यसम्म पुग्नबाट रोक्न सकेनन् । अर्धशतकीय पारी खेल्दै टोलीलाई जित दिलाएकी हेलिषा गुरुङ प्लेयर अफ द म्याच घोषित भइन् । उनको प्रदर्शनले बागमतीको ब्याटिङ क्षमतासँगै दबाबपूर्ण अवस्थामा लक्ष्य पछ्याउने क्षमता पनि उजागर गरेको छ ।

कोशीको पुनरागमन

बुुधबारको भएको दोस्रो खेलमा कोशी प्रदेशले आयोजक कर्णाली प्रदेशलाई ४९ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता ग¥यो । उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको कोशीका लागि यो जित अंकतालिकामा फर्किने महत्वपूर्ण अवसर बन्यो । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको कोशीले कप्तान रुविना क्षेत्रीको उत्कृष्ट अर्धशतकको मद्दतमा निर्धारित ओभरमा १२५ रन बनायो । रुविनाले ५७ बलको सामना गर्दै एक छक्का र नौ चौकासहित ६२ रन जोडिन् । उनले कप्तानी जिम्मेवारीसँगै ब्याटिङमा पनि अग्रणी भूमिका निर्वाह गर्दै टोलीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पु¥याइन् ।

कोशीका लागि काजोल श्रेष्ठले १४ र खुशी राजबंशीले १० रन बनाए । लकिता राजबंशीले नौ रन जोड्दा विमला महला सात र फुलकुमारी राजबंशीले अविजित ६ रन बनाइन् । कर्णालीका तर्फबाट रमा बुढाथोकीले दुई तथा रविना बुढामगरले एक विकेट लिइन् । १२६ रनको लक्ष्य पछ्याएको कर्णाली भने कोशीको अनुशासित बलिङसामु टिक्न सकेन । घरेलु मैदानमा समर्थकको साथ पाएको कर्णाली ७६ रनमै समेटियो । कर्णालीका लागि शिखा दवाडीले सर्वाधिक २० रन बनाइन् ।

सोविका शाहीले १२ तथा रमा बुढाथोकीले १० रन जोडिन् । किरणकुमारी कुँवरले नौ, गंगा खड्काले सात र सोना चन्दले सात रन बनाउँदा अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् । कर्णालीको ब्याटिङ क्रम भत्काउन कोशीकी लकिता राजबंशी निर्णायक बनिन् । उनले चार ओभरमा एक मेडन राख्दै केवल पाँच रन खर्चेर तीन विकेट लिइन् । अत्यन्त किफायती बलिङ गर्दै कर्णालीको रन गति रोकेकी लकिता प्लेयर अफ द म्याच घोषित भइन् । कोशीका निशा शाह र एलिशा खादियाले समान दुई विकेट लिए । कप्तान रुविना क्षेत्री र निरु राजबंशीले पनि एक–एक विकेट हात पार्दै कर्णालीलाई सस्तैमा समेट्न महत्वपूर्ण भूमिका खेले ।

महिला बास्केटबलमा पुलिस, आर्मी र बागमतीको दबदबा 

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलमा दोस्रो दिन बुधबार चार खेल सम्पन्न भएका छन् । प्रतियोगिताको दोस्रो दिन भएका खेलमा नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले जित निकाल्दै आफ्नो उपस्थिति बलियो बनाएका छन् । तर, मधेश प्रदेश भने दुवै विधाका खेलमा पराजित हुँदै निराश हुन पुगेको छ । बुधबार भएका खेलको नतिजाले महिला बास्केटबलमा विभागीय टोली र प्रदेशबीचको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ ।

विशेषगरी नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशले विपक्षी टोलीमाथि फराकिलो जित निकाल्दा त्रिभुवन आर्मी र बागमती प्रदेशले भने कम अन्तरको प्रतिस्पर्धात्मक खेलमा सफलता हात पारे । फुल कोर्ट (५×५) विधाअन्तर्गत भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले आयोजक कर्णाली प्रदेशलाई ५२–१९ अंकले पराजित ग¥यो । सुरुदेखि नै खेलमा पकड बनाएको पुलिसले कर्णालीलाई दबाबमा राख्दै ३३ अंकको फराकिलो अन्तरले जित दर्ता गरेको हो ।

घरेलु मैदानमा समर्थकको साथ पाएको कर्णालीले पुलिसको आक्रामक खेललाई रोक्न सकेन । त्यस्तै, दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशमाथि एकपक्षीय जित निकाल्यो । सुदूरपश्चिमले मधेशलाई ४७–३ अंकले पराजित गर्दै दिनकै सबैभन्दा फराकिलो अन्तरको जित दर्ता ग¥यो । मधेश प्रदेशले खेल अवधिभर अपेक्षित प्रदर्शन गर्न नसक्दा सुदूरपश्चिमले सहज जित आफ्नो पक्षमा पा¥यो । ४४ अंकको अन्तरले भएको यो जितले सुदूरपश्चिमको बलियो प्रदर्शनलाई उजागर गरेको छ ।

महिला बास्केटबलको (३×३) विधाअन्तर्गत भएका अन्य दुई खेलमा पनि विभागीय र प्रदेश टोलीबीच प्रतिस्पर्धा भयो । पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई १३–८ अंकले पराजित ग¥यो । तुलनात्मक रूपमा प्रतिस्पर्धात्मक बनेको खेलमा आर्मीले पाँच अंकको अग्रता कायम गर्दै जित सुनिश्चित गरेको हो । त्यसैगरी, (३×३) विधाकै अर्को खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई ८–३ अंकले हरायो । बागमतीले पाँच अंकको अन्तरले खेल आफ्नो पक्षमा पार्दा मधेशले बुधबार खेलेका दुवै विधामा हार बेहोर्नुप¥यो ।

बुधबारका चार खेलको नतिजालाई हेर्दा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशले फुल कोर्ट विधामा प्रभावशाली प्रदर्शन गरेका छन् भने त्रिभुवन आर्मी र बागमती प्रदेशले (३×३) विधामा सफलता हासिल गरेका छन् । यसले प्रतियोगितामा विभागीय टोलीसँगै प्रदेशस्तरीय टोलीहरूबीच पनि प्रतिस्पर्धा तीव्र बन्दै गएको संकेत गरेको छ । समग्र नतिजा मधेश प्रदेशका लागि भने चुनौतीपूर्ण रह्यो ।

एउटै दिन फरक दुई विधामा प्रतिस्पर्धा गरेको मधेश दुवै खेलमा पराजित भयो । अर्कोतर्फ, चार फरक टोलीले जित निकाल्दा महिला बास्केटबल प्रतियोगितामा प्रतिस्पर्धाको दायरा फराकिलो बनेको छ । १०औँ राष्ट्रिय खेलकुदअन्तर्गत जारी महिला बास्केटबल प्रतियोगिताका आगामी खेलले टोलीहरूको वास्तविक प्रतिस्पर्धात्मक क्षमता र उपाधि यात्रालाई थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर ११ गते बिहीबार