बाँके।
बाँकेको कोहलपुर न्यूरोडस्थित खुला मैदानमा चर्चित तीनवटा नेपाली ब्यान्डले शुक्रबार आफ्नो सांगीतिक प्रस्तुति राख्ने भएका छन् । एकै स्थानमा गायक प्रकाश सपूतको भाका नेपाल, गायक प्रमोद खरेलको परम्परा ब्यान्ड र फिरन्ते ब्यान्डको विशेष सांगीतिक हुन गइरहेको हो । नेपाली संगीत, कला तथा संस्कृतिको प्रवद्र्धन गर्दै देशभर सांगीतिक माहोल सिर्जना गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको ‘सुरताल म्युजिकल टुर २०८३’अन्तर्गत कोहलपुरमा यो कार्यक्रम हुनेछ ।
कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक सुरताल इभेन्ट एण्ड एम्युजमेन्ट प्रालिका अध्यक्ष प्रशान्त सुनारले जानकारी दिए । उनका अनुसार सांगीतिक प्रस्तुति शुक्रबार अपरान्ह २ बजेदेखि राति ८ बजेसम्म हुनेछ । नेपाली संगीतको पहुँच विस्तार गर्ने र विभिन्न स्थानका दर्शकलाई एउटै सांगीतिक मञ्चमा जोड्ने लक्ष्यसहित अघि बढाइएको यस टुरमा नेपाली संगीत क्षेत्रका लोकप्रिय कलाकारहरूको प्रस्तुति रहने उनले दाबी गरे ।
‘यस कार्यक्रमको विशेष आकर्षण भनेको एउटै मञ्चमा तीनवटा सांगीतिक प्रस्तुति हेर्न सकिनेछ,’ सुनारले पत्रकारहरूसँग भने, ‘दर्शकले रु. ३०० मै प्रकाश सपूतको आफ्नो भाका नेपाल टिमसहित, प्रमोद खरेल तथा परम्परा र फिरन्ते ब्यान्डको सांगीतिक प्रस्तुति हेर्न पाउनेछन् ।’ आयोजकले कोहलपुर तथा आसपासका सम्पूर्ण संगीतप्रेमी, दर्शक र शुभचिन्तकहरूलाई कार्यक्रममा उपस्थित भई भव्य रूपमा सफल बनाउन हार्दिक अनुरोध समेत गरेको छ ।
कार्यक्रमको सञ्चालन पत्रकारद्वय कृष्णराज अधिकारी र ममता थापाले गर्नेछन् । सांगीतिक प्रस्तुति प्रत्यक्ष हेर्नको लागि इसेवामार्फत टिकट खरिद गर्न सकिनेछ । आयोजकका अनुसार एउटा टिकटको मूल्य ३०० रूपैयाँँ तोकिएको छ भने इसेवामार्फत टिकट ५०० रूपैयाँँमा दुईवटा टिकट उपलब्ध हुनेछन् । कार्यक्रमस्थलमा समेत टिकट किन्न सकिने आयोजकले जानकारी दिएको छ ।









प्रतिक्रिया दिनुहोस्