रेलमार्गले जोडिए अयोध्या र जनकपुरधाम



जनकपुरधाम ।

भगवान् रामको जन्मभूमि भारतको अयोध्या र माता सीताको जन्मभूमि नेपालको जनकपुरधामलाई जोड्ने रेल सेवा मंगलबार बिहान जनकपुर आइपुगेको छ । लामो समयदेखि प्रतीक्षामा रहेको अयोध्या–जनकपुर रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’ जनकपुरधाम आइपुगेसँगै दुई धार्मिक सहरबिचको सहज आवागमनका साथै धार्मिक पर्यटन विस्तारको नयाँ सम्भावना खुलेको छ ।

भारतको अयोध्याबाट ६०४ किलोमिटर दूरी पार गर्दै १९ घण्टाको यात्रापछि रेल मंगलबार बिहान ९ः४० बजे जनकपुरधाम रेल्वे स्टेसनमा आइपुगेको हो । रेल जनकपुरधाम स्टेसनमा प्रवेश गरेसँगै स्वागतका लागि उपस्थित स्थानीयवासीले ‘जय श्रीराम’ र ‘सीताराम’को जयघोष गर्दै यात्रु तथा रेलका चालक दलका सदस्यलाई भव्य स्वागत गरेका छन् । रेलबाट ओर्लिएका भारतीय तीर्थयात्रीलाई सयपत्री फूलको माला लगाएर स्वागत गरिएको थियो भने मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र संघीय श्रम, रोजगार तथा युवामन्त्री रामजी यादवले संयुक्त रूपमा उनीहरूको स्वागत गरेका थिए ।

अयोध्याबाट सिधै रेलमार्ग हुँदै जनकपुरधाम आइपुगेका तीर्थयात्रीको स्वागत गर्न बिहानैदेखि रेल्वे स्टेसन परिसरमा स्थानीयवासीको भीड लागेको थियो । ‘हाम्रो माता सीताको जन्मभूमि मिथिलामा यहाँहरूलाई स्वागत छ’ लेखिएको ब्यानर राखेर स्टेसन परिसरमा स्थानीयले भजनकीर्तनसमेत गरेका थिए । नेपाल रेल्वे कम्पनीले यात्रुको स्वागतका लागि स्टेसन परिसरमा विशेष पण्डाल निर्माण गरेको थियो ।

रेलबाट ओर्लिएका यात्रुलाई पण्डालमा राखेर खाजाका प्याकेट वितरण गरिएको थियो भने बटुकहरूले स्वस्तिवाचन गरी परम्परागत रूपमा स्वागत गरेका थिए । स्वागत समारोहमा मिथिलाको धार्मिक तथा सांस्कृतिक पहिचान झल्किने झाँकी र सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।

रेलसँगै हवाईमार्ग र सीमा आवागमन सहज बनाउन आग्रह

रेल सेवाको आगमनसँगै आयोजित स्वागत कार्यक्रममा मुख्यमन्त्री सरोजकुमार यादवले अयोध्याबाट सिधै जनकपुरधाम रेल आइपुग्नु ऐतिहासिक उपलब्धि भएको बताए । दुवै देशका प्रधानमन्त्रीलाई धन्यवाद दिँदै उनले मिथिलावासीको लामो समयदेखिको चाहना पूरा भएको उल्लेख गरे । अब रेलमार्गसँगै जनकपुरधाम र अयोध्यालाई हवाईमार्गबाट समेत जोड्नुपर्नेमा उनको जोड थियो ।

उनले भने, ‘म दुवै देशका प्रधानमन्त्रीलाई धन्यवाद दिन चाहन्छु । मिथिलावासीको चाहना यहाँहरूले पूरा गरिदिनुभएको छ । अब जनकपुरधामदेखि अयोध्यासम्म हवाईमार्गको व्यवस्थापनमा समेत ध्यान दिन दुवै देशका प्रधानमन्त्रीसमक्ष आग्रह गर्दछु ।’ केही वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुरधामको भ्रमण गरेपछि दुई धार्मिक सहरबिचको सम्बन्ध थप प्रगाढ बनेको उल्लेख गर्दै उनले त्यसैको परिणामस्वरूप रेल सेवा सञ्चालनसम्मको अवस्था आएको बताए ।

मुख्यमन्त्री यादवले रेलमार्गबाट आउने तीर्थयात्रीलाई सहज भए पनि सडकमार्ग हुँदै भारतबाट नेपाल आउने पर्यटकले सीमा क्षेत्रमा भन्सार प्रक्रियाका कारण सास्ती खेप्नुपरेको बताए । उनले भारतीय पर्यटक बोकेर आउने बसलाई २४ घण्टासम्मका लागि भन्सार छुटको व्यवस्था गर्न नेपाल सरकारसँग आग्रह गरे । पर्यटक बोकेर आउने सवारीसाधनलाई अनावश्यक प्रक्रियामा अल्झाउन नहुने उनको भनाइ थियो ।

उनले नेपाल–भारतबिचको सम्बन्धलाई ‘बेटी–रोटी’को सम्बन्धका रूपमा व्याख्या गर्दै सीमावर्ती क्षेत्रका बासिन्दालाई समेत आवतजावतमा सहज वातावरण बनाउनुपर्नेमा जोड दिए । ‘नेपाल र भारतबिच बेटी–रोटीको सम्बन्ध छ । तर, मधेश र सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई एकअर्काको देशमा आउजाउ गर्न अहिले पनि कठिनाइ छ । विवाह, छेकालगायतका पारिवारिक तथा सामाजिक सम्बन्ध प्रभावित भइरहेका छन् । यसलाई सहज बनाउन दुवै देशले सहकार्य गर्नुपर्छ,’ उनले भने ।

कार्यक्रममा संघीय श्रम, रोजगार तथा युवामन्त्री रामजी यादवले अयोध्या र जनकपुरधामबिचको सम्बन्ध केवल दुई धार्मिक सहरबिचको सम्बन्ध नभई पारिवारिक, सांस्कृतिक र भावनात्मक सम्बन्ध भएको बताए । त्रेतायुगमा भगवान् राम जनकपुरधाम आएर भगवान् शिवको धनुष भंग गरी माता सीतासँग विवाह गरेको धार्मिक मान्यताको स्मरण गर्दै उनले विवाहपछि राम जनकपुरका ज्वाइँ बनेको बताए ।

उनले भने, ‘माता सीतासँग विवाहपछि भगवान् राम जनकपुरको ज्वाइँ बन्नुभएको ऐतिहासिक मान्यता छ । त्यसैले यी दुई सहरबिचको सम्बन्ध केवल आवतजावतको सम्बन्ध होइन, परिवारबीचको सम्बन्ध हो । यो संस्कृति, परम्परा, आस्था, प्रेम र आत्मीयताको सम्बन्ध हो ।’ उनले रेल सेवाले दुई देशका नागरिकबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।

जानकी मन्दिर दर्शन गरेर अयोध्या फर्किए तीर्थयात्री

मंगलबार जनकपुरधाम आइपुगेको रेलमा करिब एक हजार भारतीय तीर्थयात्रीसँगै भारतीय रेल्वेका उच्च अधिकारी तथा सुरक्षाकर्मी पनि आएका थिए । रेलबाट आएका अधिकारीहरूमा भारतीय एडिसनल डिभिजनल रेल्वे म्यानेजर सन्नी सिन्हा, सिनियर डिभिजनल कमर्सियल म्यानेजर अमृतेश कुमार, डिभिजनल अपरेसन्स म्यानेजर अरविन्दु कुमारलगायत थिए ।

जनकपुरधाम आइपुगेका तीर्थयात्रीलाई जानकी मन्दिर दर्शनका लागि स्थानीय प्रशासनले एक दर्जनभन्दा बढी बसको व्यवस्था गरेको थियो । तीर्थयात्रीलाई बसमार्फत जानकी मन्दिर पु¥याउन र मन्दिरको दर्शन तथा पूजाआजामा समेत विशेष व्यवस्था मिलाइएको थियो । दर्शनपछि स्टेसन फर्किएका उनीहरूलाई स्टेसन परिसरमै निःशुल्क भोजनको व्यवस्था गरिएको थियो । भोजनपछि सबै तीर्थयात्री पुनः सोही रेलबाट दिउँसो १ बजे अयोध्याका लागि फर्किएका थिए ।

हप्तामा एकपटक नियमित रेल सेवा सञ्चालन हुने

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले अर्को सातादेखि जनकपुरधाम र अयोध्याबीच नियमित रूपमा रेल सेवा सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए । उनका अनुसार यो रेल सेवाले जनकपुरधामलाई भारतको धार्मिक पर्यटन सञ्जालसँग जोड्नेछ । नियमित सेवा सुरु भएपछि अयोध्याबाट जनकपुरधाम आउने र जनकपुरधामबाट अयोध्या जाने यात्रुलाई रेलमार्गबाट यात्रा गर्न सहज हुनेछ ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भारतको नयाँदिल्लीबाट संयुक्त रूपमा भर्चुअल माध्यममार्फत उक्त रेल सेवाको उद्घाटन गरेका थिए । उद्घाटनपछि सोमबार दिउँसो १२ः३० बजे अयोध्याधामबाट प्रस्थान गरेको रेल विभिन्न स्टेसन हुँदै मंगलबार बिहान जनकपुरधाम आइपुगेको हो ।
६०४ किलोमिटर लामो यात्राका क्रममा रेल भारतको उत्तर प्रदेश र बिहारका विभिन्न सहर हुँदै नेपाल प्रवेश गरेको थियो ।

यात्राका क्रममा मन्कापुर, बस्ती, गोरखपुर, नरकटियागञ्ज, रक्सौल, सीतामढी, शिशो, मधुबनी र जयनगरलगायतका स्टेसन हुँदै रेल जनकपुरधाम आइपुगेको हो । जनकपुर आइपुगेको रेलमा १७ वटा डिब्बा रहेकोमा त्यसमा स्लिपर, एसी थ्री टियर, एसी थ्री टियर इकोनोमी र एसी टु टियरका सुविधा उपलब्ध थिए ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर १० गते बुधबार