काठमाडौँ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज आइतबार आफ्नो पहिलो औपचारिक विदेश भ्रमणका लागि भारत जाँदैछन् । प्रधानमन्त्री शाह आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले भ्रमण सम्पन्न गरी सोमबार साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सकै नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीलाई दिल्लीस्थित विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने छन् । भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका सचिवालयका सदस्यहरु, राजनीतिक सल्लाहकार तथा विभिन्न मन्त्रालयका उच्च अधिकारी सहभागी हुने भएका छन् । टोलीमा नयाँदिल्लीस्थित नेपाली राजदूतावासका राजदूतसहित केही सदस्य पनि भ्रमण रहने छन् ।
प्रधानमन्त्रीको सचिवालयका २६ सदस्यमध्ये आठ जना सदस्य भ्रमणमा जाने भएका छन् । भ्रमण टोलीमा प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार अशिम शाह, आईटी सल्लाहकार विवेक मिश्र, मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्य र सल्लाहकार सुवास शर्मा रहने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट तथा समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम रहेको पनि मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले शाहको सम्मानमा दिवाभोजसमेत आयोजना गर्ने कार्यक्रम रहेको छ । भारत पुगेपछि आइतबार साँझ ६ बजे प्रधानमन्त्री बालेन भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता हुने कार्यक्रम रहेको छ । होटल ताजमहलमा हुने जयशंकरसँगको भेटबाहेक आइतबार अन्य भेटघाट हुनेछैन् । त्यसपश्चात् सोमबार बिहान १० बजे राष्ट्रपति कार्यालयमा बालेनको औपचारिक स्वागत एवं भेटघाट हुनेछ भने उनी सोही दिन राजघाटस्थित समाधिस्थल पुगेर प्रधानमन्त्री शाहले श्रद्धाञ्जली व्यक्त गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री बालेनको भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता पनि सोमबार नै हुने कार्यतालिका छ । मध्यान्ह १२ बजेर २५ मिनेटमा हुने हैदरावाद हाउसमा हुने भेटवार्तामा प्रधानमन्त्री शाह र समकक्षी मोदीबीच सहमति तथा सम्झौता आदानप्रदान एवं संयुक्त पत्रकार सम्मेलनको कार्यतालिका रहेको छ । सोमबारै दिउँसो सवा ३ बजे प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रोपदी मुर्मुसँग भेटवार्ता गर्ने उक्त भेटघाटपछि प्रधानमन्त्री शाह दिल्लीबाट नेपाल फर्कने कार्यतालिका रहेको छ ।
भ्रमणअघि छलफल नगरिएकोमा काँग्रेसको असन्तुष्टि
संघीय संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणअघि प्रतिपक्षी दल र विषयविज्ञसँग छलफल गर्न आवश्यक नठानेको भन्दै असन्तुष्टि जनाएको छ । काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै भ्रमणअघि प्रमुख प्रतिपक्षीलगायत राजनीतिक दल र विषयविज्ञसँग परामर्श गर्ने लोकतान्त्रिक परम्परासमेत सरकारले तोडेको आरोप लगाएका छन् ।
‘मित्रराष्ट्रहरूको महत्त्वपूर्ण भ्रमणअघि राष्ट्रिय हितका विषयमा साझा धारणा निर्माण गर्न प्रमुख प्रतिपक्षीलगायत राजनीतिक दलहरूसँग परामर्श गर्ने हाम्रो स्थापित लोकतान्त्रिक परम्परा हो । यस्तो सकारात्मक परम्पराको निरन्तरता वर्तमान सरकारबाट पनि अपेक्षित थियो,’ शर्माले भनेका छन् । काँग्रेसले भारतसँगको द्विपक्षीय सम्बन्ध र सहकार्यका सम्भावित विषयमा सरकारलाई रचनात्मक सुझाव दिने तयारी गरेको जनाएको छ ।
त्यसका लागि गत बुधबार विषयविज्ञको सहभागितामा विशेष आन्तरिक विमर्शसमेत गरेको शर्माले उल्लेख गरेका छन् । जलवायु परिवर्तन, हवाई सम्पर्क, पर्यटन, व्यापार, ऊर्जा, खेलकुद, उद्यमशीलता, सीमा व्यवस्थापन, सीमावर्ती क्षेत्रका नागरिकका सरोकार र भारतमा कार्यरत नेपाली श्रमिकका समस्यालगायत विषयमा काँग्रेसले छलफल गरेको उनको भनाइ छ । तर, सरकारले प्रमुख प्रतिपक्षी, अन्य राजनीतिक दल र विषयविज्ञसँग परामर्श गर्न आवश्यक नठानेपछि आफूहरूले औपचारिक सुझाव अघि नसारेको शर्माले उल्लेख गरेका छन् ।
प्रधानमन्त्री कुनै एक दल वा सरकारको मात्रै नभई सम्पूर्ण राष्ट्रको प्रतिनिधित्व गर्दै भारत भ्रमणमा जान लागेको उल्लेख गर्दै काँग्रेसले राष्ट्रिय हितका विषयमा व्यापक परामर्श र साझा समझदारी हुनुपर्ने बताएको छ । यद्यपि, सरकारले परामर्श नगरेको विषयलाई प्रधानमन्त्रीको भ्रमणको सम्भावित विषयवस्तुसँग जोडेर नहेर्ने काँग्रेसले जनाएको छ । सरकारसँग राजनीतिक असहमति भए पनि नेपालको राष्ट्रिय हित र भारतसँगको सम्बन्ध सुदृढ बनाउने विषयमा आफ्नो प्रतिबद्धता स्पष्ट रहेको काँग्रेसले उल्लेख गरेको छ ।
काँग्रेसले प्रधानमन्त्रीको भारत भ्रमण क्षणिक लोकप्रियता र प्रचारमा मात्रै सीमित हुन नहुने भन्दै विगतका प्रतिबद्धता कार्यान्वयन, विद्यमान समस्याको समाधान र दीर्घकालीन सहकार्यको आधार निर्माणमा केन्द्रित हुनुपर्ने सुझाव दिएको छ । साथै, भ्रमण सर्वोत्तम राष्ट्रिय हितमा सफल र उपलब्धिमूलक हुनुपर्ने पनि बताएको छ ।









प्रतिक्रिया दिनुहोस्