काठमाडौँ ।
नेकपा (एमाले)ले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्दैछ । मंसिर २ र ३ गते काठमाडौँमा हुने दुईदिने भेलालाई एमालेले पार्टीको राजनीतिक तथा सांगठनिक दिशा स्पष्ट पार्ने रणनीतिका रूपमा लिएको छ । सामान्य संगठनात्मक जमघट मात्र नभई पार्टीको समग्र राजनीतिक अवस्था, नेतृत्वको कार्यदिशा र आगामी चुनावी रणनीतिबारे साझा धारणा निर्माण गर्ने अवसरका रूपमा एमालेले प्रस्तुत गरेको छ । भेलाको मुख्य आकर्षण पाँच शीर्ष नेताले प्रस्तुत गर्ने छुट्टाछुट्टै राजनीतिक तथा सांगठनिक कार्यपत्र रहनेछन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले फरक–फरक विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । अध्यक्ष ओलीले वर्तमान नेपालको राष्ट्रिय राजनीति, बदलिँदो राजनीतिक परिस्थिति र एमालेको भावी कार्यदिशाबारे आफ्नो धारणा प्रस्तुत गर्नेछन् । वरिष्ठ नेता भण्डारीले समसामयिक राजनीतिक परिस्थितिको विश्लेषणसहित कार्यपत्र पेस गर्नेछिन् ।
उपाध्यक्ष रामबहादुर थापाले संसदीय संघर्ष, उपाध्यक्ष विष्णु पौडेलले एमाले नेतृत्वको सरकारका पालामा भएका विकास निर्माणका कामको तथ्यांकसहितको विवरण र महासचिव पोखरेलले पार्टी शुद्धीकरण तथा संगठनात्मक सुधारसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन् । एमालेले राष्ट्रिय राजनीतिको विश्लेषणदेखि पार्टीको आन्तरिक अवस्था, संसदीय भूमिका, विगतको सरकारको कार्यसम्पादन र संगठन सुधारसम्मका विषयलाई एउटै मञ्चमा बहसका लागि ल्याउन खोजेको छ ।
राष्ट्रिय भेलामा प्रस्तुत हुने पाँच कार्यपत्रले एमालेले अहिले प्राथमिकतामा राखेका राजनीतिक तथा सांगठनिक विषयलाई प्रतिनिधित्व गर्नेछन् । अध्यक्ष ओलीको कार्यपत्रलाई भेलाको राजनीतिक दिशानिर्देशक दस्तावेजका रूपमा हेरिएको छ । वर्तमान राष्ट्रिय राजनीतिमा एमालेको भूमिका के हुने, समसामयिक राजनीतिक घटनाक्रमलाई पार्टीले कसरी व्याख्या गर्ने र आगामी दिनमा कस्तो राजनीतिक कार्यदिशा अवलम्बन गर्ने भन्ने विषयमा उनको धारणा महत्वपूर्ण हुनेछ ।
वरिष्ठ नेता भण्डारीको कार्यपत्रले समसामयिक राजनीतिक अवस्थाबारे पार्टीभित्रको बहसलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ । उपाध्यक्ष थापाको कार्यपत्र संसदीय संघर्षमा केन्द्रित हुनेछ । संसद्मा एमालेको भूमिका, संसदीय अभ्यास र राजनीतिक प्रतिपक्षका रूपमा पार्टीले अपनाउनुपर्ने रणनीतिबारे यसले बहसको आधार तयार गर्ने अपेक्षा छ । त्यस्तै, उपाध्यक्ष पौडेलले एमाले नेतृत्वको सरकारका पालामा भएका विकास निर्माणका कामलाई तथ्यांकसहित प्रस्तुत गर्नेछन् ।
यस कार्यपत्रमार्फत पार्टीले आफ्नो विगतको शासनकालको उपलब्धि, विकास निर्माण र सार्वजनिक नीतिको कार्यसम्पादनलाई राजनीतिक बहसको विषय बनाउन खोजेको देखिन्छ । महासचिव पोखरेलको कार्यपत्र भने पार्टीको आन्तरिक जीवनसँग सम्बन्धित हुनेछ । पार्टी शुद्धीकरण, संगठनात्मक अनुशासन, कार्यशैली सुधार र संगठनलाई प्रभावकारी बनाउने विषयमा उनले धारणा राख्नेछन् । यसरी पाँचवटा कार्यपत्रले एमालेको बाह्य राजनीतिक भूमिका र आन्तरिक संगठन दुवैलाई समेट्नेछन्।
पालिका तहको ठूलो सहभागिता
एमालेले राष्ट्रिय भेलामा देशभरबाट तीन हजार १६४ जना नेता, कार्यकर्ता तथा विभिन्न तहका प्रतिनिधि सहभागी गराउने जनाएको छ । काठमाडौँको कार्की ब्याङ्क्वेटमा हुने भेलामा केन्द्रीय नेतृत्वदेखि जिल्ला, पालिका र जनसंगठनसम्मका प्रतिनिधिको सहभागिता रहनेछ । संगठन विभाग प्रमुख भानुभक्त ढकालले प्रस्तुत गरेको विवरणअनुसार भेलामा ३४६ जना केन्द्रीय सदस्य, ८१ जना केन्द्रीय निकायका प्रतिनिधि र ५५ जना प्रदेश, भारत प्रवास तथा प्रवासी नेपाली मञ्चका प्रतिनिधि सहभागी हुनेछन् ।
त्यस्तै, जिल्ला तहबाट ४४० जना र पालिका कमिटीबाट एक हजार ५०६ जना प्रतिनिधि सहभागी हुनेछन् । संघीय संसद् तथा राष्ट्रिय सभाका ३५ जना, प्रदेशसभाका १५५ जना, स्थानीय तहका प्रमुख तथा अध्यक्ष १९६ जना, उपप्रमुख तथा उपाध्यक्ष ३४२ जना तथा जनसंगठनका ९६ जना प्रतिनिधिको सहभागिता रहनेछ । प्रतिनिधित्वको संरचनामा पालिका कमिटीको सहभागिता सबैभन्दा ठूलो छ । यसले एमालेले स्थानीय तहको संगठनात्मक अवस्था र चुनावी तयारीलाई भेलाको केन्द्रमा राखेको छ ।
केन्द्रीय नेतृत्वका राजनीतिक धारणालाई जिल्ला र पालिका तहसम्म पु¥याउने तथा स्थानीय तहका समस्या, अनुभव र सुझावलाई केन्द्रीय नेतृत्वसम्म ल्याउने अपेक्षा छ । स्थानीय निर्वाचनलाई लक्षित गरेर आयोजना गरिएको भेलामा पालिका तहका प्रतिनिधिको उल्लेख्य सहभागिताले संगठन र चुनावी तयारीबीचको सम्बन्धलाई प्राथमिकता दिइएको छ । एमालेले भेलालाई आगामी स्थानीय निर्वाचनको तयारीसँग जोडेको छ ।
संगठन शुद्धीकरणको विषय एमालेका लागि अनुशासनको प्रश्नमा मात्रै सीमित रहने छैन । पार्टीको आन्तरिक कार्यशैली, जिम्मेवारी बाँडफाँट, नेतृत्व र कार्यकर्ताबीचको सम्बन्ध, संगठनात्मक गतिशीलता तथा तल्लो तहका कमिटीको प्रभावकारितासँग पनि यो विषय जोडिएको छ । विशेषगरी पालिका तहका प्रतिनिधिको ठूलो सहभागिता भएका कारण स्थानीय संगठनले भोगिरहेका समस्या, जनप्रतिनिधि र पार्टी कमिटीबीचको सम्बन्ध तथा आगामी निर्वाचनमा संगठन परिचालनको विधिबारे छलफल हुने अपेक्षा गरिएको छ ।
एमालेले राष्ट्रिय कार्यकर्ता भेलालगत्तै स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला र केन्द्रीय कमिटीको चौथो बैठक आयोजना गर्ने कार्यक्रम बनाएको छ । कार्यक्रमअनुसार मंसिर ४ गते बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला हुनेछ । त्यसको भोलिपल्ट अर्थात् मंसिर ५ गते केन्द्रीय कमिटीको चौथो बैठक बस्नेछ ।
यसअघि मंसिर ५ गतेका लागि तय गरिएको केन्द्रीय कमिटी बैठक एक दिन अगाडि सारेर मंसिर ४ गते गर्ने निर्णय स्थायी कमिटी बैठकले गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् । राष्ट्रिय कार्यकर्ता भेलाबाट संगठनको अवस्था र राजनीतिक कार्यदिशाबारे छलफल हुनेछ । जनप्रतिनिधिको भेलामा स्थानीय सरकार सञ्चालनका अनुभव, चुनौती र आगामी निर्वाचनसँग सम्बन्धित विषय उठ्न सक्नेछन् । त्यसपछि बस्ने केन्द्रीय कमिटी बैठकले यी छलफलबाट प्राप्त सुझाव र पार्टीको भावी योजनालाई संस्थागत निर्णयमा रूपान्तरण गर्ने अवसर पाउनेछ ।
आन्दोलनका लागि तयार रहन निर्देशन
एमाले अध्यक्ष ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र साङ्गठनिक रूपमा तयार रहन पार्टीपङ्क्तिलाई निर्देशन दिएका छन् । आइतबार काठमाडौँमा अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुुन् । मुलुकको तत्कालीन राजनीतिक अवस्थालाई मध्यनजर गरेर आन्दोलनमा उत्रिनु पार्टीसामु मुख्य कार्यभार रहेको उनको भनाइ छ ।
सन् १९१७ को रुसी विद्रोहको उदाहरण दिँदै अध्यक्ष ओलीले निर्वाचन, जनविद्रोह तथा उपद्रवकारी क्रियाकलापको माध्यमबाट सत्ता परिवर्तन हुने गरेको बताए । ‘परिस्थिति असह्य भएपछि आन्दोलन तत्काल निस्किन्छ, नागरिकमा बेचैनी र निराशा बढ्दै गइरहेको अवस्थामा नेकपा (एमाले) वैचारिक रूपमा स्पष्ट भएर जनपक्षीय आन्दोलनको बाटोमा जानुपर्छ,’ उनले भने, ‘आन्दोलन सधैँ लामो तयारीपछि मात्रै नभई परिस्थिति असह्य भएपछि तत्काल सुरु गर्नुपर्ने अवस्था आउन सक्छ ।’
एमालेले विगतदेखि नै विभिन्न राजनीतिक चुनौती र दमनको सामना गर्दै आएको दाबी गर्दै उनले पञ्चायतकाल र राजा महेन्द्रको शासनकालमा समेत पार्टीलाई समाप्त पार्ने प्रयास भएको स्मरण गरे । अहिले पनि नेपालको सबैभन्दा मजबुत, देशभक्त र लोकतान्त्रिक शक्ति नेकपा (एमाले) नै रहेको उनको जिकिर छ । नागरिकमा बेचैनी र निराशा बढ्दै गइरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले यस्तो अवस्थामा एमाले वैचारिक रूपमा स्पष्ट भएर जनपक्षीय आन्दोलनको बाटोमा जानुपर्नेमा जोड दिए । साथै, केहीले निर्वाचनमार्फत पार्टी निर्माण गर्ने तयारी गरिरहेको टिप्पणी गर्दै उनले एमाले पार्टी बनाउन नभई बलियो पार्टी लिएर निर्वाचनमा होमिनुपर्ने बताए ।









प्रतिक्रिया दिनुहोस्