प्रधानमन्त्रीको भारत भ्रमणः नेपालगन्ज–दिल्ली उडान र सुक्खा बन्दरगाहको विषय उठाउन माग



नेपालगन्ज ।

नेपालगन्ज उद्योग वाणिज्य संघले भारत जान लागेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई नेपालगन्ज क्षेत्रका दुई वटा एजेण्डालाई भ्रमणको पनि एजेण्डा बनाउन माग गरेको छ । उद्योग वाणिज्य संघले सबै सरोकारवाला तथा राजनीतिक दलहरूको समेत छलफलबाट आएका निष्कर्षस्वरुप ती एजेण्डाहरू तय गरेर बाँकेका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

संघले बुझाएको ज्ञापनपत्रमा नेपालगन्ज—दिल्ली सिधा हवाई उडान र एकीकृत जाँच चौकीलाई स्तरोन्नति गरी सुक्खा बन्दरगाह बनाउने एजेण्डालाई भ्रमणको पनि एजेण्डा बनाउन माग गरिएको छ । संघले पश्चिम नेपालको प्रमुख व्यापारिक, औद्योगिक तथा पर्यटकीय केन्द्रका रूपमा रहेको र बाँके, बर्दिया, दाङलगायत कर्णाली तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूको आर्थिक गतिविधिको महत्वपूर्ण आधारका रूपमा स्थापित रहेकोले यी दुई योजनाले त्यसलाई थप बल पु¥याउने जनाएको छ ।

नेपालगन्ज विमानस्थलबाट भारतको राजधानी नयाँदिल्लीसम्म सिधा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन हुन सकेमा बाँके, बर्दिया, दाङ तथा कर्णाली र लुम्बिनी प्रदेशका नागरिकलाई अन्तर्राष्ट्रिय आवागमनमा सहजता पुग्नुका साथै पर्यटन, धार्मिक यात्रा, स्वास्थ्य सेवा, शिक्षा, व्यापार तथा लगानी प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने संघको दाबी छ । कैलाश मानसरोवरलगायत धार्मिक तथा पर्यटकीय गन्तव्यमा आउने विदेशी पर्यटकका लागि नेपालगन्जलाई महत्वपूर्ण प्रवेशद्वारका रूपमा विकास गर्न सकिने सम्भावना रहेको ज्ञापनपत्रमा उल्लेख छ ।

हालै नेपालगन्ज विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण भएको र त्यहाँ अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पूर्वाधार निर्माण भइसकेको अवस्थामा नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न आवश्यक रनवे विस्तारलगायत पूर्वाधार तथा सेवा सुविधासहित स्तरोन्नति गर्नुपर्ने जनाइएको छ । नेपाल सरकार र भारत सरकारबीच आवश्यक हवाईमार्ग, उडान अनुमति तथा कूटनीतिक समन्वयको प्रक्रिया अगाडि बढाउन आवश्यक देखिएको संघको भनाइ छ ।

यसैगरी, नेपाल–भारत सीमाको जमुनाहा नाकामा रहेको एकीकृत भन्सार जाँच चौकीलाई थप स्तरोन्नति गरी आधुनिक सुविधासम्पन्न सुख्खा बन्दरगाह रूपमा विकास गर्नुपर्ने संघको माग छ । त्यसो हुन सकेमा पश्चिम नेपालको आयात–निर्यात व्यापारलाई व्यवस्थित, सहज तथा लागत प्रभावकारी बनाउन सकिने दाबी गरिएको छ ।यसबाट आधुनिक कन्टेनर यार्ड, गोदाम, कोल्ड स्टोरेज, बण्डेड वेरहाउस, कार्गो व्यवस्थापन, भन्सार जाँचपास तथा अन्य व्यापारिक पूर्वाधारको विकास भई बाँके, बर्दिया तथा कर्णाली र लुम्बिनी प्रदेशका कृषि, जडीबुटी, औद्योगिक तथा व्यावसायिक उत्पादनको बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

साथै, भारतको रुपैडिहास्थित ल्याण्ड पोर्टसँग समन्वय गरी नेपालगन्जलाई तेस्रो मुलुकसँगको व्यापार तथा पारवहनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको पनि उक्त पत्रमा उल्लेख गरिएको छ । यी दुवै आयोजना कार्यान्वयन हुन सकेमा नेपालगञ्जलाई पश्चिम नेपालको प्रमुख अन्तर्राष्ट्रिय हवाई, पर्यटन, व्यापार तथा पारवहन केन्द्रका रूपमा स्थापित गर्न सकिने र यसबाट समग्र क्षेत्रको आर्थिक विकास, रोजगारी सिर्जना, निजी क्षेत्रको लगानी तथा राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ ।

दुवै महत्वपूर्ण विषयलाई राष्ट्रिय प्राथमिकतामा राखी आवश्यक नीतिगत, प्राविधिक, वित्तीय तथा कूटनीतिक प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीसमक्ष प्रस्ताव पेश गर्न अनुरोध गरिएको छ । ती मागहरू नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाइमा बाँकेस्थित राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा विभिन्न क्षेत्रका अगुवाहरूबीच सम्पन्न सर्वपक्षीय बैठकबाट प्राप्त सुझाव, निर्णय तथा निष्कर्षको आधारमा तय गरिएको पनि उल्लेख गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर ३ गते बुधबार