भाइटीका भन्नेबित्तिकै बाल्यकालका अनेकौँ मीठा सम्झना मनमा ताजा भएर आउँछन् । दिदीबहिनीको घरमा टीका लगाउन जाने दिनको छुट्टै उत्साह र प्रतीक्षा हुन्थ्यो । बिहानैदेखि नयाँ लुगा लगाउने, टीकाको तयारी गर्ने र दिदीबहिनीको घर जाने हतारोले मनमा छुट्टै उमङ्ग भरिन्थ्यो । दिदीको घर पुग्दा पाइने न्यानो स्वागत, निधारमा सप्तरङ्गी टीका, गलामा फूलका माला र स्नेहले भरिएका आशीर्वादले मन आनन्दित हुन्थ्यो ।
अधिवक्ता वसन्त गौतम
नेपाली समाजको मौलिक पहिचान, धार्मिक आस्था, सांस्कृतिक परम्परा र पारिवारिक आत्मीयतालाई जीवन्त राख्ने पर्वहरू मध्ये तिहार विशेष महत्व बोकेको पर्व हो । दसैँपछि आउने यमपञ्चक अर्थात् तिहारलाई उज्यालो, खुसी, समृद्धि, प्रेम र भाइचाराको पर्वका रूपमा लिइन्छ । घरआँगनमा धकमक्क फुलेका सयपत्री र मखमली फूल, झिलिमिली बत्ती, सेलरोटीको बास्ना, देउसीभैलोको गुञ्जन र दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीय भेटघाटले तिहारलाई नेपाली जनजीवनको प्रिय र उल्लासमय पर्व बनाएको छ । तिहार केवल धार्मिक कर्मकाण्ड र मनोरञ्जनमा सीमित पर्व होइन । यसले प्रकृति, पशुपन्क्षी, धनसम्पत्ति, श्रम, पारिवारिक सम्बन्ध र सामाजिक एकताको महत्व बुझाउँदै प्रेम, सम्मान, कृतज्ञता र सहअस्तित्वको सन्देश दिन्छ । वर्षभरि मेहनत गरेर धान लगायतका अन्नबाली भित्र्याई भकारी भरिएको समयमा मनाइने यस पर्वले किसानको परिश्रम, उत्पादनको खुसी र प्रकृति प्रतिको कृतज्ञतालाई पनि अभिव्यक्त गर्छ ।
धनतेरसदेखि भाइटीकासम्म
धार्मिक आस्था र सांस्कृतिक परम्परा ः तिहारको प्रारम्भ धनतेरसबाट हुन्छ । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरसलाई धन, आरोग्य र समृद्धिको कामना गर्ने दिनका रूपमा लिइन्छ । धार्मिक मान्यताअनुसार यसदिन भगवान् धन्वन्तरीको पूजा गरिन्छ । समुद्र मन्थनका क्रममा अमृत कलशसहित धन्वन्तरी प्रकट हुनुभएको विश्वाससँग यो पर्व जोडिएको छ । यसदिन धातुका सामग्री तथा भाँडाकुँडा किन्ने परम्परा पनि छ । धनतेरसले धनसम्पत्तिसँगै स्वास्थ्य र आरोग्य जीवनका महत्वपूर्ण सम्पत्ति हुन् भन्ने सन्देश दिन्छ । तिहारका अवसरमा काग तिहारमा कागलाई यमदूतका रूपमा मानेर पूजा गरिन्छ । कुकुर तिहारमा मानिसको विश्वासिलो साथी कुकुरलाई माला, टीका र मीठा खानेकुरा दिएर सम्मान गरिन्छ । यी परम्पराले पशुपन्क्षीप्रतिको माया, दया र कृतज्ञताको भावना अभिव्यक्त गर्छन् । गाई तिहारमा गाईलाई लक्ष्मीको प्रतीक मानेर पूजा गरिन्छ । नेपाली समाजमा गाईको धार्मिक, सांस्कृतिक र आर्थिक महत्व रहिआएको छ । यसरी तिहारले मानिस मात्र होइन, प्रकृति र अन्य जीवजन्तुप्रति पनि सम्मान र सहअस्तित्वको भावना विकास गर्न प्रेरित गर्छ । तिहारको महत्वपूर्ण दिन लक्ष्मीपूजाका अवसरमा घर, आँगन, पसल तथा व्यावसायिक प्रतिष्ठान सफा गरी दीप प्रज्वलन गरिन्छ । घरको मूल ढोकादेखि पूजाकोठासम्म दीपावली गरेर माता लक्ष्मीको स्वागत गरिन्छ । सुख, शान्ति, धनधान्य र समृद्धिको कामना गर्दै गरिने यस पूजाले मानव जीवनमा धनको महत्व स्मरण गराउँछ । तर धन नै जीवनको अन्तिम उद्देश्य होइन । इमानदार श्रम, न्यायपूर्ण आर्जन, धनको सदुपयोग र सामाजिक उत्तरदायित्व पनि उत्तिकै महत्वपूर्ण छन् । लक्ष्मीपूजाको वास्तविक सन्देश घरमा बत्ती बाल्नुका साथै आफ्नो व्यवहार र कर्ममा इमानदारी तथा मानवीयताको उज्यालो फैलाउनु हो । गोवर्धन पूजाका दिन गोवर्धन पर्वतको पूजा गर्ने धार्मिक परम्परा छ । भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीलाई अतिवृष्टिबाट संरक्षण गर्नुभएको पौराणिक प्रसङ्गसँग यो पर्व जोडिएको छ । यसले प्रकृति र मानव जीवनबीचको अन्योन्याश्रित सम्बन्धलाई स्मरण गराउँछ । कृषिप्रधान नेपाली समाजमा गोरुको योगदानलाई सम्मान गर्दै गोरुतिहार पनि मनाइन्छ । धान लगायतका अन्नबाली भित्र्याएर भकारी भरिएको समयमा मनाइने तिहार किसानको मेहनत, उत्पादन र प्रकृतिप्रतिको कृतज्ञता व्यक्त गर्ने अवसर हो । यसले कृषि, श्रम र खाद्य सुरक्षाको महत्व बुझाउँछ ।
देउसीभैलो
संस्कृति, मनोरञ्जन र सामाजिक एकताको उत्सव ः तिहारको अर्को प्रमुख आकर्षण देउसीभैलो हो । गाउँटोल, बस्ती र सहरका गल्लीहरूमा बालबालिका, युवायुवती, दाजुभाइ, दिदीबहिनी तथा साथीभाइ समूह बनाएर देउसीभैलो खेल्ने परम्परा छ । मादल र अन्य बाजागाजाको तालमा गाइने गीत तथा नृत्यले घरआँगनमा छुट्टै रौनक थप्छन् । देउसीभैलो मनोरञ्जनको माध्यम मात्र नभई नेपाली मौलिक लोकसंस्कृति, लोकगीत र सामूहिक सामाजिक जीवनको जीवन्त अभिव्यक्ति हो । यसले पुस्तान्तरण हुँदै आएको सांस्कृतिक पहिचानलाई संरक्षण गर्छ । देउसीभैलोबाट संकलित रकम सामाजिक सेवा, विद्यालय, मठमन्दिर, बाटोघाटो निर्माण तथा विपन्न र असहाय व्यक्तिको सहयोगमा खर्च गर्ने परम्परा प्रशंसनीय छ । परिवार, छिमेकी र साथीभाइ मिलेर देउसीभैलो खेल्दा आपसी परिचय, आत्मीयता र सद्भाव बढ्छ । व्यस्त जीवनशैलीका कारण टाढिँदै गएका मानिसलाई एकै ठाउँमा भेला गराई सामूहिक खुसी साटासाट गर्ने अवसर यसले प्रदान गर्छ । तर पछिल्लो समय देउसीभैलोका नाममा जबर्जस्ती चन्दा माग्ने, ठूलो आवाजमा ध्वनि प्रदूषण गर्ने, मदिरा सेवन गरी होहल्ला गर्ने तथा समूहबीच विवाद र झैझगडा गर्ने प्रवृत्ति पनि देखिन थालेका छन् । यस्ता गतिविधिले पर्वको मौलिकता र गरिमा घटाउँछन् । देउसीभैलो सभ्य, मर्यादित र अनुशासित ढङ्गले खेल्दै यसको सांस्कृतिक तथा सामाजिक उद्देश्य जोगाउन आवश्यक छ ।
भाइटीका
दाजुभाइ र दिदीबहिनीबीचको प्रेम र विश्वास ः तिहारको सबैभन्दा आत्मीय र भावनात्मक पक्ष भाइटीका हो । कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका दाजुभाइ र दिदीबहिनी बीचको प्रेम, स्नेह, विश्वास र आत्मीयताको प्रतीक हो । धार्मिक मान्यताअनुसार यमराज र उनकी बहिनी यमुनाको सम्बन्धसँग यो पर्व जोडिएको छ । यमुनाले आफ्ना दाजु यमराजलाई टीका लगाएर सत्कार गरेको पौराणिक प्रसङ्गबाट भाइटीका मनाउने परम्परा सुरु भएको विश्वास गरिन्छ । यसदिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाई मखमली र सयपत्रीको माला पहि¥याएर दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्छन् । दाजुभाइले पनि दिदीबहिनीको सुख, सम्मान र सुरक्षाप्रति आफ्नो आत्मीयता व्यक्त गर्दै उपहार तथा दक्षिणा दिने चलन छ । भाइटीका भन्नेबित्तिकै बाल्यकालका अनेकौँ मीठा सम्झना मनमा ताजा भएर आउँछन् । दिदीबहिनीको घरमा टीका लगाउन जाने दिनको छुट्टै उत्साह र प्रतीक्षा हुन्थ्यो । बिहानैदेखि नयाँ लुगा लगाउने, टीकाको तयारी गर्ने र दिदीबहिनीको घर जाने हतारोले मनमा छुट्टै उमङ्ग भरिन्थ्यो । दिदीको घर पुग्दा पाइने न्यानो स्वागत, निधारमा सप्तरङ्गी टीका, गलामा फूलका माला र स्नेहले भरिएका आशीर्वादले मन आनन्दित हुन्थ्यो । टपरीभरि सजाएर राखिएका सेलरोटी, फलफूल, मिठाई र अन्य परिकार देख्दा बाल्यकालको मन झन् रमाउँथ्यो । दिदीबहिनीले आफ्नै हातले प्रेमपूर्वक खुवाउने सेलरोटी र मिठाईको स्वाद आज पनि सम्झनामा उत्तिकै ताजा छ । दिदीले मायाले दिने सानो उपहार पाउँदा हुने खुसीको त कुरै नगरौँ । त्यो उपहार कति मूल्यको थियो भन्ने कहिल्यै महत्वपूर्ण लागेन । त्यसमा मिसिएको दिदीको माया, अपनत्व र आशीर्वाद नै सबैभन्दा ठूलो सम्पत्ति थियो । समय बित्दै जाँदा बाल्यकालका ती रमाइला दिनहरू सम्झनामा सीमित हुँदै गएका छन् । जीवनका आआफ्ना जिम्मेवारी, व्यस्तता र भौगोलिक दूरीले भेटघाटलाई सहज नबनाए पनि दिदीबहिनीप्रतिको माया र आत्मीयता कहिल्यै कम हुँदैन । वर्षमा एकपटक आउने भाइटीकाले ती पुराना सम्झनालाई फेरि जीवन्त बनाउँछ र सम्बन्धको न्यानोपनलाई नवीकरण गर्छ । आज बुझ्दै छु, भाइटीकामा दिदीबहिनीले निधारमा लगाइदिने सप्तरङ्गी टीका केवल रङहरूको संयोजन होइन, त्यो त जीवनभर साथ रहने प्रेम, विश्वास, शुभेच्छा र आशीर्वादको प्रतीक हो । दिदीबहिनीले मायाले दिएको उपहारभन्दा ठूलो उपहार उनीहरूको आत्मीयता हो । भाइटीकाको वास्तविक खुसी महँगा उपहारमा होइन, भेटघाटमा, मीठो बोलीमा, सँगै बसेर हाँस्न पाउने क्षणमा र एकअर्काको सुखदुःखमा साथ दिने प्रतिबद्धतामा हुन्छ । दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध उपहारको मूल्य वा आर्थिक लेनदेनमा आधारित हुनुहुँदैन । टीका लगाउँदा कसले कति उपहार दियो, कसले कस्तो सामान ल्यायो वा कसको आर्थिक हैसियत कस्तो छ भन्ने तुलना गर्नु उचित होइन । आफ्नो गच्छे र हैसियतअनुसार प्रेमपूर्वक दिएको सानो उपहार पनि ठूलो आत्मीयताको प्रतीक हुन सक्छ । उपहारमा देखावटीपन, प्रतिस्पर्धा र अनावश्यक अपेक्षा नराखौँ । दाजुभाइ र दिदीबहिनीको नाता सम्बन्धलाई आर्थिक हैसियतसँग नजोडौँ । मायाले दिएको उपहारको महत्व त्यसको मूल्यमा होइन, भावनामा हुन्छ ।
पर्वको उल्लाससँगै विकृतिबाट सावधान
पर्वको नाममा भित्रिएका केही नकारात्मक अभ्यासप्रति पनि हामी सचेत हुन आवश्यक छ । तिहारमा जुवातास खेल्ने, अत्यधिक मदिरा सेवन गर्ने, अनावश्यक खर्च र देखावटी प्रतिस्पर्धा गर्ने तथा देउसीभैलोका नाममा झैझगडा र कुटपिट गर्ने प्रवृत्तिले पारिवारिक र सामाजिक सम्बन्धमा नकारात्मक असर पार्छ । आफ्नो आर्थिक क्षमताभन्दा बाहिर गएर उपहार तथा भोजभतेरमा प्रतिस्पर्धा गर्नु पनि उचित होइन । पर्व खुसी र आत्मीयताको माध्यम हुनुपर्छ, तनाव, हिंसा र आर्थिक बोझको कारण होइन । त्यसैले स्वस्थ्यकर खानपान, संयमित व्यवहार र सुरक्षित वातावरणमा तिहार मनाउनुपर्छ । बालबालिकालाई पटाका तथा आगलागीबाट सुरक्षित राख्ने, वातावरण प्रदूषण नगर्ने र ज्येष्ठ नागरिक, बिरामी तथा असहाय व्यक्तिको सहजतालाई ध्यान दिने संस्कार विकास गर्नुपर्छ ।
तिहारको वास्तविक सन्देश
सम्बन्ध जोगाऔँ, समाज उज्यालो बनाऔँ ः
तिहारले हामीलाई घरमा मात्र होइन, मनभित्र पनि उज्यालो बाल्न सिकाउँछ । ईष्र्या, द्वेष, अहंकार र वैमनस्य हटाएर प्रेम, सद्भाव, क्षमा र सहकार्यको भावना विकास गर्नु नै यस पर्वको गहिरो सन्देश हो । धानका बाला भित्र्याएर भकारी भरिएको खुसी, घरआँगनमा फुलेका सयपत्री र मखमली फूलको सौन्दर्य, लक्ष्मीपूजाको झिलिमिली, देउसीभैलोको उल्लास र भाइटीकाको आत्मीयताले तिहारलाई नेपाली समाजको साझा सांस्कृतिक उत्सव बनाएका छन् । यी परम्पराले परिवारलाई जोड्ने, छिमेकीसँग आत्मीयता बढाउने र समाजमा सहकार्य तथा एकताको भावना बलियो बनाउने काम गर्छन् । आजको व्यस्त र प्रतिस्पर्धात्मक जीवनशैलीमा मानिसहरू भौतिक रूपमा नजिक भएर पनि भावनात्मक रूपमा टाढिँदै गएको अवस्था छ । यस्तो समयमा तिहारजस्ता पर्वले पारिवारिक भेटघाट, सामाजिक सम्बन्ध र सांस्कृतिक पहिचानलाई पुनर्जीवित गर्ने अवसर प्रदान गर्छन् । त्यसैले चाडपर्वलाई औपचारिकतामा सीमित नराखी यसको मानवीय र सामाजिक महत्व आत्मसात् गर्नुपर्छ । आउनुहोस्, यस वर्षको तिहारलाई धन र देखावटीपनको प्रतिस्पर्धा होइन, प्रेम र सद्भावको उत्सव बनाऔँ । दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीयता अझ प्रगाढ बनाऔँ । ज्येष्ठ नागरिकको सम्मान, बालबालिकाको खुसी, विपन्न तथा असहायको सहयोग र सामाजिक एकताको भावनालाई प्राथमिकता दिऔँ । पशुपन्क्षी, प्रकृति र वातावरणप्रति कृतज्ञ बनौँ । देउसीभैलोको मौलिकता जोगाउँदै विकृति र विसङ्गतिलाई निरुत्साहित गरौँ । तिहारको उज्यालो प्रत्येक घरमा मात्र होइन, प्रत्येक मनमा फैलियोस् । दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, परिवारमा आत्मीयता, समाजमा सद्भाव र राष्ट्रमा शान्ति, समृद्धि तथा एकताको भावना अझ सुदृढ हुँदै जाओस् । सबैमा धनतेरस, काग तिहार, कुकुर तिहार, लक्ष्मीपूजा, गाई तथा गोवर्धन पूजा, देउसीभैलो र भाइटीकासहितको पावन तिहारको हार्दिक मंगलमय शुभकामना !









प्रतिक्रिया दिनुहोस्