वीरेन्द्र जैसी । नेपालगन्ज ।
‘सडक पार गरिसक्दा धुलोले गाडीको कलर नै चेन्ज हुन्छ । मान्छेको हालत त झन् कस्तो होला ?’ कर्णाली प्रदेशको लाइफलाइन मानिने कर्णाली राजमार्गमा सवारी चलाउँदै आएका चालक महेश थापाले भने । ‘जेनतेन सडक त बन्यो । पानी पर्दा हिलो र सुक्खा हुँदा धुलोबाट कहिल्यै मुक्त पाइएन,’ सोही गाडीमा सवार एकजना यात्रुले भने ।
कर्णाली राजमार्गको सुर्खेतबाट जुम्लासम्मको खण्डमा सबैभन्दा बढी सवारी चाप पर्ने दैलेख जिल्लाभित्रको सडकखण्डको कालोपत्रे उप्किएर र ठाउँठाउँमा भत्किएर यातायात असहज भएको लामो समय बितिसकेको छ । तर, उक्त खण्ड मर्मत नहुँदा दैनिक हजारौँ यात्रुहरूले सास्तीपूर्ण यात्रा गर्नुपरिरहेको छ । साथै, दुर्घटनाको जोखिम पनि उच्च रहेको छ ।
विशेषगरी दैलेखको पाताल खोलाभन्दा माथि साइखोलासम्मै करिब ५० किलोमिटर सडकको दुरावस्था रहेको छ । त्यसमध्येको करिब २० किलोमिटर सडकखण्ड पूर्णतया मर्मत गर्नुपर्ने अवस्था रहेको सवारी चालकहरू बताउँछन् । यसरी सडक बिग्रेको दुई वर्षजति भइसक्दा पनि मर्मत नहुने र भएको मर्मत पनि कमसल हुँदा चाँडै बिग्रने अवस्था रहेको उनीहरूको भनाइ छ ।
अहिले धुलोले गर्दा सडक आसपासका रुख विरुवाहरू ढाकेर सेताम्मे भएका छन् । टाढैदेखि देखिने उडिरहेको धुलोको दृश्यले कर्णाली राजमार्गको दुरावस्थालाई बयान गरिरहेका छन् । दुईपाँग्रेमा यात्रा गर्नेहरू धुलाम्मे भएर सकसपूर्ण यात्रा गरिरहेका छन् । एकातिर कर्णाली राजमार्गको चौडाइ नै साढे तीनदेखि पाँच मिटरको मात्रै छ ।जसले साना सवारीसाधन पनि एकपैटक ओहोरदोहोर गर्न नसक्ने अवस्था छ । त्यसैमाथि सडक नै बिग्रिएर अस्तव्यस्त हुँदा दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ ।
सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर रेशम ओली दैलेखखण्डको नियमित मर्मतका लागि नियमित मर्मतको ठेक्का नै रहे पनि निर्माण कम्पनीले काम नगर्दा समस्या भएको बताउँछन् । उनले उक्त ठेक्का समस्याग्रस्त रहेको र अब ठेक्का तोेडेर नयाँ प्रक्रिया अघि बढाउने तयारी रहेको बताए । उनले नयाँ ठेक्काका लाथि थप ५० करोड बजेटको सुनिश्चितता भएको बताए ।
तर, अब उक्त सडकको समान्य मर्मतले मात्रै समस्या समाधान हुन नसक्ने अवस्था रहेको पनि उनको भनाइ छ । साउन महिनाको पहिलो हप्ता संघीय सरकारका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल आउँदा पनि आफूहरूले उक्त सडकको नियमित मर्मतभन्दा पनि सडककै स्तरोन्नतिको सुझाव दिएको उनले बताए । ‘सामान्य टोलका सडकहरू पनि ६ मिटरभन्दा चौडा हुनेमा अहिले पनि कर्णाली राजमार्गको चौडाइ साढे तीनदेखि पाँच मिटर मात्रै छ ।
चाप दिनदिनै बढेको बढ्यै छ । त्यसैले अब सामान्य मर्मतले काम हुने अवस्था देखिन्न । मन्त्रीज्यूसँग पनि हामीले यही कुरा राखेका छौँ,’ ओलीले भने । अहिले कर्णाली राजमार्गले दैलेखमा मध्यपहाडी राजमार्गलाई पनि जोड्ने गर्दछ । यसैगरी, सुर्खेतबाट दैलेखको साइखोला हुँदै अछाम तथा सुदुरपश्चिमका पहाडी जिल्लामा जाने सवारीसाधनका लागि पनि यही सडक एक विकल्प बनेको छ ।
यसैगरी, कर्णालीका नागरिक तथा कर्णालीका विभिन्न पर्यटकीय स्थलमा जाने यात्रुहरूका लागि पनि यही सडक एकमात्र भरपर्दाे विकल्प छ । जसकारण कर्णाली राजमार्गमा अहिले सवारीको चाप बढ्दो क्रममा छ ।तर, सडक निर्माण गर्दा ट्र्याक मात्रै खोल्ने उदेश्यले साँघुरो सडक निर्माण गरिएकोमा सडकको स्तरोन्नति समयमा हुन सकेन । जसकारण अहिले कर्णाली प्रदेशको लाइफलाइन सडक जर्जर अवस्थामा पुगेको छ ।
पूर्वाधार विकासमन्त्री असार २३ गतेको राष्ट्रियसभाको बैठकमा बोल्दै कर्णाली प्रदेशका सबै मुख्य सडकलाई आगामी तीन वर्षभित्र दुई लेन बनाइने बताएका थिए । त्यसक्रममा उनले सडकका खाल्डाखुल्डी टालटुले शैलीमा नभई नियमित मर्मत प्रणालीमार्फत व्यवस्थापन गरिने पनि बताएका थिए । त्यसपछि उनी साउन पहिलो हप्ता कर्णालीका सडकको वास्तविक अवस्था ‘कागजी प्रतिवेदनबाट होइन, स्थलमै पुगेर बुझ्ने’ भनेर कर्णाली राजमार्गको स्थलगत यात्रामा निस्किए ।
बर्खाका कारण पहिरो, हिलो र अवरुद्ध सडक हुँदै उनले उक्त राजमार्गको यात्रा गरेका थिए । एकजना सवारी चालकले मन्त्री आउँदा बिग्रेको सडकमा पनि रोलर लगाएर सम्माउने काम भएको बताए । ‘मन्त्री आउँदा जस्तो अवस्था छ त्यस्तै रहन दिए पनि त हुन्थ्यो । तर, खुसी पार्नका लागि सडक चिल्लो बनाइएको थियो ।’ त्यसक्रममा मन्त्री लम्सालले सडक निर्माणको प्रगति, बजेट कार्यान्वयन, स्थानीयका गुनासा तथा वर्षौँदेखि अलपत्र परेका पूर्वाधार आयोजनाको अवस्थाबारे प्रत्यक्ष जानकारी लिएका थिए ।
त्यसक्रममा उनले कर्णालीमा सडकका लागि छुट्याएको बजेटको पर्याप्तताबारे अध्ययन तथा चुनौती पहिचान गर्ने उदेश्य रहेको बताएका थिए । मन्त्रीसमक्ष कर्णालीवासीहरूले वर्षायाममा निरन्तर पहिरो जाँदा राजमार्ग पटक–पटक अवरुद्ध हुने, त्यसले जुम्लाको मुख्य नगदे बाली स्याउको ढुवानी तथा निर्यातमा गम्भीर असर पार्ने गरेको भन्दै दुई लेनको पक्की सडक निर्माण गर्न आग्रह गरेका थिए ।
कर्णालीवासीका लागि यातायातको एकमात्र विकल्पको रूपमा रहेको कर्णाली राजमार्गको जोखिम र भएका दुर्घटनाका आधारमा कर्णालीवासीले उक्त सडकलाई मृत्युमार्गको पनि संज्ञा दिँदै आएका छन् । उक्त राजमार्गको सुर्खेतदेखि जुम्लासम्म दुई सय ३२ किलोमिटर दूरी रहेको छ । यही सडकले नेपालगन्जको जमुनाहदेखि हुम्लाको हिल्सासम्म जोड्ने महत्वाकांक्षी कर्णाली करिडोर सकडलाई पनि जोड्ने गर्दछ । तर, राज्यको लापरबाहीले यस सडकको उचित निर्माण त भएन नै, सहज आवागमनका लागि नियमित मर्मतसम्भार पनि नहुँदा नागरिकहरू कष्ट झेल्न बाध्य छन् ।









प्रतिक्रिया दिनुहोस्