दसैँको बेला घन्किने कालजयी धुनहरू



शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

दसैँ घरआँगनमै आइसक्यो । घरघरमा जमरा राखिएको छ । फूलपातीसम्म दसैँको माहोल भान्सासम्मै पुगिसकेको हुन्छ । गाउँघर र घरआँगन चिटिक्क हुँदैछन् । मालश्री धुन र दुर्गापूजा त्यसका प्रतीक हुन् । मुग्लानीहरू घर फर्किएका छन् । आकाशमा चङ्गाहरू उड्न थालिसके । पिङ खेल्दै रमाउँदैछन्, दौतरीहरू । दसैँ आएको सन्देश दिँदै घन्किन थालिसके आँसु, खुसी र सम्झना बोकेका कालजयी धुनहरू । माटो, ममता र दसैँ सम्झाउने ती अजर–अमर गीतहरू ।

दसैँ एक्लै पो कहाँ आउँछ र ? घर फर्किने मानिसहरूसँगै आशा, खुसी र भरोसा आउँछ । अनि सकिन्छ वर्षौँदेखिको पर्खाइ । आमाबुबाको, छोराछोरीको, अनि दौँतरीको । खासमा दसैँ आफैँमा धुन बनेर आउँछ । र त्यो धुनमा अझ रौनक थपेका छन्–केही गीतहरूले । नेपालीको महान् पर्व दसैँमा नोल्टाजिया, रौनकता र रोमाञ्चकता थप्ने गीत–संगीतहरूमध्येको एक कालजयी भाका हो, –‘नमुछे आमा दहीमा टिका ।’ पचासको दशकको आखिरीतिर रचिएको गीत दुई दशक बितिसक्दासमेत उत्तिकै चर्चित छ ।

दसैँमा धेरै सुनिने गीतमध्ये यो पनि पर्छ । यो लोकगीतले दसैँ र परदेशको पीडा दर्साउँछ । एक परदेशी, जो वर्षौँ भयो घर फर्किन नपाएको । आमाको हातबाट टीका नलगाएको । घर फर्किन नपाउने हरेक छोरा । अनि घर नफर्किएको छोराको प्रतीक्षामा आँखा रुझाउँदै बसेकी आमा । सुन्दा पनि मुटु, कलेजो चिर्लाझैँ हुन्छ । यस गीतका लेखक हुन्, नारायण रायमाझी । २०५७ मा कृष्ण राई र लक्ष्मी न्यौपानले युगल स्वर दिएका थिए ।

‘मुग्लान’ नामक नेपाली चलचित्रको गीत हो,–‘दसैँ आयो’ । यो गीत पनि दसैँमा अत्यधिक बज्ने गीतहरूमध्येको एक हो । यो गीत पछिल्लो पुस्ताका युवाहरूमाझ पनि निकै चर्चित छ । ‘दसैँ आयो’ गीतको शब्द लेखेका हुन्, लोकनाथ सापकोटाले । गीतमा उदीतनारायण झा, दीपानारायण झा, नारायण लामा, जुना प्रसाईं लगायतले स्वर दिएका छन् । यस्तै अर्को गीत हो,– ‘फूलपाती भाकेर’ । दसैँसँग सम्बन्धित यो चलचित्रको गीत हो । नेपाली चलचित्र ‘भरोसा’मा सङ्ग्रहित छ । यस गीतमा उदितनारायण झाको स्वर छ ।

यस गीतको मुख्य विशेषता हो,– दसैँका रीतिरिवाजको वर्णन । यो पनि दसैँमा कहिल्यै पुरानो नहुनेमध्येमा पर्छ । यसैगरी ‘वर्ष र दिनमा लै लै’ गीत पनि निकै चर्चित छ । रवि श्रेष्ठको शब्दमा तयार भएको हो, यो गीत । गीतमा दर्शक र स्रोताले दसैँ गीतको फरक स्वाद पाउँछन् । यसमा सुगम पोखरेलको स्वर छ । युवा पुस्ताले औधी रुचाएको दसैँ गीत हो । ‘मनमन्दिर’ नामक चलचित्रमा रहेको ‘रातो टीका दसैँको जमरा’ गीत पनि दसैँमा चर्चित गीतमध्येमा पर्दछ । यो गीतले पनि दसैँको झल्को ल्याउँछ । नायक राजेश हमाल र नायिका झरना थापाको नृत्यले उत्तिकै मोहित बनाउँछ । नारायण गोपाल र दिलमाया खातीको स्वर रहेको दसैँसम्बन्धी गीत हो,–‘विछोडको पीडा नसकी खप्न दसैँको बेलामा’ ।

‘यसपाली त यस्तै भो आमा…’ गीतले परदेशमा रहेका हरकोहीलाई रुवाउँछ । जनवादी गीत गाएर नेपालीको मनमुटुमा बस्न सफल जनगायक जीवन शर्माले गाएका चर्चित गीतमध्येको यो पनि एक हो । गीतमा घर जान नपाएको पीडा अर्को वर्ष घर फर्किने आशामा चित्त बुझाएका छन्, परदेशीले । आमालाई आशा देखाएर फर्किआउने विश्वास दिलाइएको छ, गीतमार्फत । घरबाट टाढा एक नेपाली गाउँ सम्झिएर यसै यसै भावुक छ । यो गीतमा सर्वसाधारणले आफ्नो पीडा यसमा पाउँछन् ।

माथि उल्लेखित गीतहरू पुरानो पुस्ताका गायक गायिकाहरूले गाएका गीतहरू हुन् । जुन गीतहरूको दशकौँसम्म पनि नेपाली मनमनमा उत्तिकै लोकप्रिय छन् । हरेक वर्षको दसैँको समयमा गीतहरू नगुञ्जिएको गाउँ र ठाउँ नै हुँदैन । दसैँसम्बन्धी पछिल्लो पुस्ताका गायक गायिकाहरूले गाएका गीतहरूसमेत उत्तिकै चर्चित छन् । एउटा दसैँसम्बन्धी गीत छ,–‘फौजीलाई कुन हो दसैँ’ । यो गीत सशस्त्र प्रहरी बल (एपीएफ)ले निर्माण गरेको हो ।

दसैँको समयमा ड्युटीमा खटिनुपर्नेमा पेसाकर्मप्रति समर्पित छ, यो गीत । दीपक कोइरालाको शब्द, गैरे सुरेशको संगीत तथा जगदीश समालको स्वर रहेको यो गीत राष्ट्रसेवक कर्मचारीप्रति पूर्ण रूपमा समर्पित छ । यो गीत पनि दसैँमा धेरै सुनिने गीतमा पर्दछ । अर्को गीत हो,–‘थालैभरि रातो रातो अक्षता र पाती…’ । सुनिल गिरीको स्वर, संगीत र शब्द छ । उक्त गीत रिकेस गुरुङले एरेन्ज गरेका हुन् । दसैँमा लाहुरे फर्किएको र गाउँको रमाइलो क्षणहरू समेटिएको गिरीको यो गीत पनि दसैँ गीतमा रुचाइएको गीत हो ।

यसैगरी दुई वर्षअघि मात्र बजारमा आएको गायक हेमन्त शर्माको ‘आउँथ्यो दसैँ’ गीत निकै रुचाइएको गीतमा पर्छ । केही वर्षदेखि ‘आउँथ्यो दसैँ आउन त पहिले नि, यस्तो मज्जा भा’थेन कहिले नि…।’ गीत दसैँ सुरु हुनेबित्तिकै छाइहाल्छ । दसैँ सुरु भएसँगै सामाजिक सञ्जालमा फेरि गुञ्जिन्छ । गीत टिकटक बनाउनेहरूको भीड हुन्छ । फेसबुक रिल्समा समेत उत्तिकै छाउँछ । गीतमा कतै बालबालिका नाचिरहेका हुन्छन् । कतै युवायुवती र पाका उमेरका व्यक्तिहरू पनि गीतमा रमाइरहेका हुन्छन् । हेमन्त र मेलिना राईको स्वर रहेको गीतले दुई वर्षअघि खुबै चर्चा कमाएको थियो । गीतले गत वर्ष पनि दसैँमा राम्रो स्थान पायो । यसपालि पनि दसैँ सुरू हुनु अघिदेखि नै गीतको लोकप्रियता बढिरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक २ गते आइतबार