वरिष्ठ कृषि वैज्ञानिक खत्री बने योजना आयोगको उपाध्यक्ष



सुर्खेत ।

वरिष्ठ कृषि वैज्ञानिक डा. भीमबहादुर खत्रीले कर्णाली प्रदेशको समग्र विकास योजना निर्माणको जिम्मेवारी पाएका छन् । चार दशकभन्दा लामो समय कृषि अनुसन्धान, बागवानी, आलुबालीको जात सुधार र वैज्ञानिक प्रविधि विकासमा बिताएका उनी कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका हुुन् । खत्रीले आइतबार बिहान मुख्यमन्त्री मंगलबहादुर शाहीसमक्ष पद तथा गोपनीयताको शपथ पनि लिएका छन् । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

उनी जुम्लाको तातोपानी गाउँपालिका–४ मा जन्मिएका हुुन् । गएको साउनदेखि रिक्त रहेको आयोगको उपाध्यक्ष पदमा खत्रीको आगमनसँगै प्रदेशको योजना निर्माण प्रक्रियाले नयाँ नेतृत्व पाएको हो ।
उनको अनुभवले कर्णालीको विकास प्राथमिकता निर्धारण, दीर्घकालीन योजना निर्माण र सरकारी कार्यक्रमको प्रभावकारितामा भूमिका खेल्ने अपेक्षा छ । कर्णालीमा वैज्ञानिक अनुसन्धानबाट प्राप्त ज्ञानलाई व्यवहारिक विकास योजनामा रूपान्तरण गर्ने अपेक्षा गरिएको हो । डा. खत्री नेपालका वरिष्ठ कृषि वैज्ञानिक, बागवानीविद् तथा प्राध्यापक पनि हुन् ।

विशेषगरी आलुबालीको अनुसन्धान, उन्नत जात विकास, मूल बीउ उत्पादन प्रणालीको स्थापना र किसानमैत्री कृषि प्रविधिको विकासमा उनले चार दशकभन्दा बढी समय काम गरेका छन् । सन् १९९५ देखि २०१६ सम्म राष्ट्रिय आलु अनुसन्धान कार्यक्रममा वरिष्ठ वैज्ञानिकका रूपमा कार्यरत रहँदा उनले आलुको जात सुधार, मूल बीउ उत्पादन, वास्तविक आलुको बीउ अर्थात् ट्र पोटाटो सिड (टिपिएस) प्रविधिको प्रवद्र्धन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा अनुसन्धान परियोजना सञ्चालन गरेका थिए ।

सन् २०१६ देखि २०१७ सम्म राष्ट्रिय आलु अनुसन्धान कार्यक्रमको संयोजकका रूपमा उनले राष्ट्रियस्तरको आलु अनुसन्धान, उन्नत जात विकास र बीउ उत्पादनसम्बन्धी कार्यक्रमको नेतृत्व गरेका थिए । उनको अनुभव प्रयोगशालामा अनुसन्धान गर्ने वा प्राज्ञिक लेख प्रकाशन गर्ने कार्यमा मात्र सीमित छैन । कृषि अनुसन्धानलाई किसानको उत्पादन प्रणालीसँग जोड्ने, अनुसन्धानका नतिजालाई प्रविधिमा रूपान्तरण गर्ने र संस्थागत तहमा कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी पनि उनले सम्हालेका छन् ।

यही अनुभव अब प्रदेशको योजना निर्माणमा पनि देखिने प्रदेश सरकारको अपेक्षा छ । त्यसैले खत्रीको अगाडिको मुख्य काम आफ्नो प्राविधिक अनुभवलाई प्रदेशको बहुआयामिक विकास आवश्यकतासँग जोड्नु हुनेछ । प्रदेशका विभिन्न क्षेत्रको भौगोलिक तथा जलवायुगत अवस्थाअनुसार बाली छनोट, बीउको उपलब्धता, उत्पादन प्रविधि, भण्डारण र बजारीकरणका कार्यक्रम तयार गर्नुपर्ने आवश्यकता छ ।

६१ अनुसन्धान केन्द्रको नेतृत्व

डा. खत्रीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा रहँदा देशभर रहेका ६१ अनुसन्धान केन्द्रको नेतृत्व गरेका छन् । उनले अनुसन्धान तथा प्रशासनिक कार्यक्रमको योजना तर्जुमा, समन्वय र अनुगमनको केन्द्रीय नेतृत्व गरेको अनुभव हासिल गरेका छन् । कृषि अनुसन्धानको ठूलो संस्थागत सञ्जालसँग काम गरेको यो अनुभव कार्यक्रमको प्राथमिकता निर्धारण, जनशक्ति परिचालन, स्रोत व्यवस्थापन र विभिन्न निकायबीच समन्वय गर्ने कामसँग सम्बन्धित छ ।

प्रदेश योजना आयोगमा पनि यस्तै प्रकृतिका संस्थागत समन्वय र योजना अनुगमनका पक्ष महत्वपूर्ण हुन्छन् । तर, प्रदेशस्तरीय योजना निर्माणको क्षेत्र र जिम्मेवारी कृषि अनुसन्धान संस्थाभन्दा व्यापक छ । उनले सन् २०१५ देखि २०१६ सम्म दैलेखस्थित बागवानी अनुसन्धान केन्द्रको प्रमुखका रूपमा काम गरेका थिए । त्यसअघि स्विस विकास तथा सहयोग नियोगअन्तर्गत राष्ट्रिय आलु विकास कार्यक्रममा रहेर मध्यपश्चिमाञ्चल विकास क्षेत्रका पहाडी तथा तराई भेगमा कृषक समूह गठन, बीउमा आत्मनिर्भरता र अनुसन्धान परीक्षणका काममा नेतृत्व गरेका थिए ।

नेपाल सरकारको कर्णाली अञ्चल विशेष कृषि विकास कार्यक्रम तथा विश्व बैंकको सहयोगमा सञ्चालित कृषि तथा खाद्य सुरक्षा आयोजनामा संयोजकको भूमिका निर्वाह गरेको अनुभव पनि उनीसँग छ । यसले सरकारी कार्यक्रम र विकास साझेदारको सहकार्यमा सञ्चालित परियोजनासँग उनको परिचय रहेको देखाउँछ । डा. खत्री यसअघि कर्णाली प्रदेश मन्त्रिपरिषद्बाट गठित बजेट खर्च तथा कार्यान्वयन कार्यविधि छानबिन समितिको संयोजकसमेत रहेका थिए । बजेट कार्यान्वयनसँग सम्बन्धित विषयमा काम गरेको यो अनुभव उनको नयाँ जिम्मेवारीसँग प्रत्यक्ष रूपमा जोडिनेछ ।

खत्रीको नेतृत्वमा आयोगले बजेट कार्यान्वयनलाई खर्चको प्रतिशतमा सीमित नराखी सेवा प्रवाह, उत्पादन वृद्धि, रोजगारी, आयआर्जन र नागरिकले प्राप्त गर्ने सुविधासँग जोड्न सकेमा योजना निर्माण र कार्यान्वयनबीचको दूरी कम गर्न मद्दत पुग्ने अपेक्षा छ । यसका लागि नियमित अनुगमन, तथ्यमा आधारित समीक्षा र कार्यान्वयनमा देखिएका अवरोध समाधान गर्ने संस्थागत व्यवस्था आवश्यक हुनेछ ।
यसअघि आयोगका उपाध्यक्ष सूर्यनाथ योगी नेतृत्वको टोलीले दोस्रो पञ्चवर्षीय गुरुयोजना तयार पारेको थियो । तर, उक्त योजना कार्यान्वयनको चरणमा पुग्नुअघि नै सरकार परिवर्तन भएको थियो ।

डा. खत्रीले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)मा विज्ञ परामर्शदाताका रूपमा कोभिड–१९ महामारीपछिको सामाजिक–आर्थिक पुनरुत्थान तथा कृषि उत्पादन चक्र प्रवद्र्धनसम्बन्धी काम गरेका थिए । त्यसैगरी, हेफर इन्टरनेसनल, विनरोक इन्टरनेसनल, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी), युरोपेली संघ, प्राक्टिकल एक्सन र गुड नेबर्स इन्टरनेसनललगायत संस्थाबाट सञ्चालित कृषि, गरिबी निवारण तथा खाद्य सुरक्षा परियोजनाको स्वतन्त्र मूल्यांकन टोली प्रमुखका रूपमा पनि उनले काम गरेका छन् ।

प्राज्ञिक पृष्ठभूमि र योगदान

विसं २०१४ फागुन ३ मा जन्मिएका खत्रीले अस्ट्रेलियाको तस्मानिया विश्वविद्यालयअन्तर्गत कृषि विज्ञान अध्ययन संस्थानबाट कृषिमा विद्यावारिधि गरेका हुन् । उनले फिलिपिन्सको बेङ्गेट स्टेट विश्वविद्यालयबाट सन् १९९३ देखि १९९५ सम्म बागवानीमा स्नातकोत्तर गरेका थिए । उनको स्नातक अध्ययन त्रिभुवन विश्वविद्यालयअन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको रामपुर क्याम्पस, चितवनमा सन् १९७९ देखि १९८२ सम्म भएको थियो ।

सन् २०२१ देखि बागवानी विषयका प्राध्यापकका रूपमा सक्रिय उनी त्रिभुवन विश्वविद्यालय, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, कीर्तिपुरमा स्नातकोत्तर तहका विद्यार्थीलाई अध्यापन गराउँदै आएका छन् । त्रिभुवन विश्वविद्यालय तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयका स्नातकोत्तर र विद्यावारिधि तहका शोधार्थीको मुख्य सल्लाहकार तथा शोध निर्देशकका रूपमा पनि उनको संलग्नता रहेको छ । आलु, तरकारी, फलफूल र जलवायु अनुकूलनसम्बन्धी उनका दुई दर्जनभन्दा बढी अनुसन्धानात्मक लेख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नलमा प्रकाशित छन् ।

विश्वविद्यालय अनुदान आयोग तथा विभिन्न अनुसन्धान जर्नलका लागि परियोजना प्रस्ताव र वैज्ञानिक लेखको समीक्षकका रूपमा पनि उनले काम गरेका छन् । नेपाल कृषि वैज्ञानिक समाज, एग्रिकल्चर कन्सन्र्ड सोसाइटी नेपाल र नेपाल बागवानी समाजका आजीवन सदस्य रहेका खत्रीले नेपालका ६४ जिल्लामा स्थलगत अध्ययन तथा प्राविधिक भ्रमण गरेको अनुभव हासिल गरेका छन् । यसका अतिरिक्त अस्ट्रेलिया, भारत, चीन, अमेरिका, बेलायत, नेदरल्यान्ड्स, पेरु, दक्षिण कोरिया, फिलिपिन्स, थाइल्यान्डलगायत विभिन्न देशको भ्रमणबाट पनि उनले अन्तर्राष्ट्रिय कृषि अनुसन्धान र प्रविधिसम्बन्धी अनुभव प्राप्त गरेका छन् ।

डा. खत्रीको नियुक्तिले कर्णाली प्रदेश योजना आयोगमा कृषि अनुसन्धान र प्राज्ञिक क्षेत्रको लामो अनुभव प्रवेश गराएको छ । तर, नियुक्तिको महत्व उनको विगतको अनुभवको सूचीमा मात्र सीमित रहनेछैन । त्यस अनुभवबाट प्रदेशले कस्तो विकास प्राथमिकता निर्धारण गर्छ, बजेट र योजनाबीचको सम्बन्ध कति प्रभावकारी बनाउँछ र नागरिकको जीवनमा देखिने परिणाम हासिल गर्न कस्तो भूमिका खेल्छ भन्ने कुराले उनको कार्यकालको महत्व निर्धारण गर्नेछ ।

चार दशक कृषि अनुसन्धानमा बिताएका खत्रीका लागि अबको जिम्मेवारी अनुसन्धानको नतिजा प्रस्तुत गर्नेभन्दा फराकिलो छ । प्रदेशको सीमित स्रोतलाई प्राथमिकताका आधारमा परिचालन गर्ने, विकासका आवश्यकता पहिचान गर्ने र योजनालाई कार्यान्वयनयोग्य बनाउने जिम्मेवारी उनको काँधमा आएको छ । कृषि वैज्ञानिकको अनुभवलाई कर्णालीको समग्र विकाससँग जोड्ने अवसरसँगै योजना निर्माण र कार्यान्वयनबीचको दूरी घटाउने चुनौती पनि उनीसामु छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज २६ गते सोमबार