नेपालगन्ज ।
घरेलु तथा साना उद्योग महासंघ बाँकेले विद्युत् प्राधिकरणविरुद्ध धर्ना, तालाबन्दी र घेराउसहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । बुझाइसकेको विद्युत् महसुलमा फेरि थप बुझाउनु पर्ने भन्दै खजुराका साना उद्योगीलाई प्राधिकरणले पत्र काटेपछि महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
प्राधिकरणको लापरबाहीले मारमा परेका उद्यमीलाई छुट रकमको नाममा उद्योग बन्द गर्ने नेपालगन्ज वितरण केन्द्रले प्रपन्च गरेको महासंघले आरोप लगाएको छ । मंगलबार सरोकारवालासँग भएको छलफलपछि प्राधिकरण उद्योग बन्द गराउन लागेको निष्कर्ष निकालेर महासंघले आन्दोलन घोषणा गरेको छ ।
छुट रकम कुनै पनि सर्तमा तिर्न नसकिने तथा मागबमोजिम कुनै सुनुवाइ पनि नभएकाले बाध्यतावस विरोधका कार्यक्रम गर्नुपरेको महासंघले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
जिल्लाभित्र यस्तै किसिमका अन्य उद्योगहरुमा समेत प्राधिकरणले सोही प्रकारका पत्र पठाएर औद्योगिक वातावरण बिगार्न लागेको समेत जानकारी प्राप्त हुन गएकोले सम्पूर्ण उद्योगी, व्यवसायीहरुलाई यस आन्दोलनमा सहभागी भइ उद्योगहरुलाई जोगाउनतर्फ एकजुट भइ लाग्न सम्पूर्ण व्यवसायीलाई महासंघले अनुरोधसमेत गरेको छ ।
घरेलु तथा साना उद्योग महासंघ बाँकेका महासचिव गिरीराज भुषालद्वारा जारी गरिएको विज्ञप्तिमा प्राधिकरणको कमजोरी र लापरबाहीले गर्दा साना उद्योगीलाई परेको समस्याका बारेमा जानकारी गराई थप रकम दिन नसक्ने जनाउँदासमेत कुनै वास्ता नगरेर उद्योगीलाई पीडित बनाएकोले आन्दोलनबाहेक अरु विकल्प नरहेको बताइएको छ ।
आन्दोलनका कार्यक्रमअनुसार २८ गते बिहान ११ बजे नेपाल विद्युत् प्राधिकरण कार्यालय नेपालगन्ज वितरण शाखामा धर्ना दिने, पुस २९ गते कार्यालय प्रमुखको कार्यकक्षमा १ घण्टा तालाबन्दी गर्ने र ३० गते सम्पूर्ण उद्योगहरु बन्द गरी नेपालगन्ज वितरण केन्द्रको सम्पूर्ण सेवाहरु ठप्प पार्ने रहेको छ ।
त्यसपछि पनि माग पूरा नभए माघ २ गते थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने महासंघले जनाएको छ ।
प्राधिकरणको प्राविधिक कमजोरीले कम बिलिङ भइ रकम तिर्दै आएकोमा हाल आएर थप बक्यौता तिर्नु पर्ने भनि पत्र पठाउँदा साना उद्योगी समस्यामा परेकोले सो विषयमा छलफल गरी बाँकी बक्यौदा रकम छुट दिलाइ दिन महासंघले यसअघि प्राधिकरणको लिखितरुपमा ध्यानाकर्षण गराएको थियो ।
महासंघका अनुसार प्राधिकरणका कारण खजुरा गाउँपालिकाअन्तर्गतका एक सय पाँचजना उद्योगीहरु समस्यामा परेका छन् ।









प्रतिक्रिया दिनुहोस्