शुभाकर विश्वकर्मा । कोहलपुर ।
सामान्यतया बच्चा ३७ हप्ता पुगेपछि जन्मिन्छन् । कोही बच्चा ३७ हप्ताभन्दा पहिला जन्मिएका छन् भने उनीहरूलाई हामी समय नपुगी जन्मिएको बच्चा भनिन्छ । तर, नेपालगन्जमा ३१ हप्ता मै बच्चा जन्मियो । चिकित्सकका अनुसार त्यस्ता बच्चालाई विशेष स्याहार चाहिन्छ । कतिपय अवस्थामा उनीहरूलाई आइसीयुमै राखेर उपचार गर्नुपर्ने पनि हुन सक्छ ।
गर्भवती महिलामा विभिन्न स्वास्थ्य समस्या भएमा बच्चा छिटो जन्मिन्छन् । त्यस्ता बच्चालाई शल्याक्रिया गरेर जन्माउनुपर्ने हुन्छ । पुस ३ गते नर्सिङ होम नेपालगन्जमा जन्मिएको बच्चा भने सामान्यरुपमै जन्मिएको हो । उक्त बच्चा शारीरिक बनावट र तौल भने अस्वाभाविक थियो । उनी जम्मा १.४ केजीका मात्रै थिए । जन्मबित्तिकै मुटुको चालमा समस्या थियो । उनका औँला १२ वटा थिए ।
बच्चा जन्मिने जीवन चक्र नै पूरा नभएको उक्त बच्चाको शारीरिक विकास राम्रोसँग हुन सकेको थिएन । शरीरभित्र दुईवटा तह हुन्छन् । छातिभित्रअर्थात माथिल्लो तहमा मुटु, फोक्सोलगायतका अंग हुन्छन् । तल्लो भागअर्थात पेटमा आन्द्रालगायत अंग हुन्छन् । ती अंगहरु छुट्याउने एउटा तह हुन्छ । त्यसलाई ‘डाइसफाम’ हुन्छ ।
यो एक प्रकारको मासुको तह हो । तर ती बच्चामा यो मासुको तह विकास नभएको बालशल्य चिकित्सक डा.फिरोज आलम खाँ बताउँछन् । उनका अनुसार शरीरका अंगहरुको पूर्णरुपमा विकास भइनसकेका कारण ती बच्चालाई स्वास फेर्न समस्या थियो । शरीरको दायाँ भागमा रहने अंगहरुमा समस्या थियो ।
‘बच्चाहरुको जन्मजात फोक्सो फुल्ने र खुम्चिने हुन्छ । त्यो बच्चाको कलेजो छातिमा गएर टाँस्सिएको थियो । फोक्सोमा प्वाँल थियो । त्यसैले उनको फोक्सोले गर्ने काम कम भएर गयो । स्वास प्रश्वासमा समस्या थियो,’ उनले भने । त्यस्तो समस्या भएका बच्चामा पछि नखुल्ने सम्भावना धेरै कम हुन्छ । तर यो बच्चामा अप्रेसन पछि खुलेर गयो । ती बच्चालाई नेपालगन्ज १४ निवासी शकिना कवाडियाले जन्माएकी हुन् । उनी गर्भवती हुँदा उनमा विभिन्न किसिमका समस्या भएको चिकित्सकले बताएका छन् ।
त्यसैले बच्चा जन्मिसकेपछि भने उनीमा धेरै शारीरिक समस्या देखियो । उनलाई तत्काल अप्रेसन गर्नुपर्ने भयो । नर्सिङ होम नेपालगन्जमा जन्मिएको उक्त बच्चालाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रिफर गरियो । उक्त बच्चाको केस बालशल्य चिकित्सक डा. खाँले हेरे । उनका अनुसार ती बच्चाको जन्म पुस ३ गते भएको हो ।
उनलाई कोहलपुरमा पुस ५ गते रिफर गरिएको थियो । डा.खाँका अनुसार उक्त बच्चाको पूर्ण शारीरिक विकास भएकै थिएन । ३१ हप्ता मै जन्मिएका ती बच्चाको उक्त तहको विकास नै भएको थिएन । सोही कारणले उनलाई मुटुको चाल र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । त्यसका लागि बच्चाको अप्रेसनको विकल्प थिएन । उनी भन्छन्, ‘अहिलेसम्म धेरै अप्रेसन गरे । त्यो बच्चाको हकमा हामी सकिँदैन की भनेर चिन्तित थियौं । तर जसरी पनि बचाउनुपर्छ भनेर लाग्यौं । अप्रेसन सफल भयो । बच्चा बाँच्न सफल भयो ।’
समयमै उपचार नभएको भए बाँच्ने सम्भावना लगभग न्यून भएको भन्दै उनले भने, ‘तर त्यो बच्चा बाच्न सफल भयो । त्यति सानो बच्चामा यस्तो अप्रेसन विरलै हुने गर्छ । गरी हालेको खण्डमा सफल हुँदैन ।’ तर यो बच्चाको हकमा भने अप्रेसन सफल हुँदा आफूहरु निकै खुसी भएको उनले बताए । उनले अहिलेसम्म आफूले गरेका अप्रेसनमध्ये दुर्लभ र जोखिमपूर्ण भएको बताए ।
१३ जना चिकित्सकको सहभागितामा एक घण्टामा अप्रेसन भएका ती बच्चा डिस्चार्ज भइसकेका छन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एमएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी डा. दीप पोखरेलका अनुसार उनलाई १७ दिनपछि डिस्चार्ज गरिएको हो । उनी अहिले जोखिममुक्त रहेको उनले बताए । उनका अनुसार शिक्षण अस्पतालमा अहिलेसम्म बच्चाहरुमा गरिएको सबैभन्दा सफल अप्रेसन हो ।
कर्णाली र सुदूरपश्चिमको मुख्य अस्पतालको रुपमा रहेको कोहलपुरमा स्तरीय सेवा प्रदान हुन्छ भन्ने उदाहरण भएको उनले बताए । डा. खाँ भने अहिलेसम्म आफू एक दर्जन जति दुर्लभ अप्रेसन गर्न सफल भएको बताउँछन् । अस्पतालका उपनिर्देशक डा. दिनेश श्रेष्ठले भने दक्ष जनशक्ति र उपयुक्त स्रोत साधनको उपलब्धताका कारण यस्ता प्रकारका जटिल अप्रेसनहरु सफल भएको बताएका छन् ।
यता आफ्नो छोराको उपचार गरेर फर्किएकी शकिनाले डाक्टरले आफ्नो छोरालाई पुनर्जन्म दिएको बताएकी छन् । उनलाई तोकिएको समयभन्दा छिटो जन्मिएको बाँच्दैन की भन्ने डर थियो । तर अप्रेसनमार्फत बच्चा खतरापुक्त भएको भन्दै उनले खुसी व्यक्त गरिन् ।
उमेर नपुगी जन्मिएका बच्चामा कस्तो स्वास्थ्य समस्या देखिन्छ
– तौल कम हुन्छ
– शारीरिक विकासमा समस्या हुन्छ
– फोक्सोको समस्या भएर श्वास फेर्न गाह्रो हुन्छ
– खानेकुरा पचाउन सक्दैनन्
– चिसोले छिटो समात्छ
– ब्रेनमा ब्लिडिङ हुन सक्छ
– सुगर, क्याल्सियम कम हुन्छ
– जन्डिस छिटो लाग्छ
– रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ
– मुटुको समस्या हुन्छ
– दिसापिसाब गर्न सक्दैनन्
– निमोनियाको समस्या देखिन्छ
कसरी गर्ने उनीहरूको स्याहार ?
छिटो जन्मिएका बच्चाको स्याहार कसरी गर्ने भनेर उनीहरूको वजन कति छ ? र उनीहरू कति हप्तामा जन्मिएका हुन् ? त्यसको आधारमा भन्न सकिन्छ । समय पुगेर जन्मिएका बच्चाभन्दा नपुगी जन्मिएका बच्चाको स्वास्थ्य कमजोर हुन्छ । ३२ हप्ताभन्दा पहिला जन्मिएका बच्चालाई विशेष केयर र उपचार चाहिन्छ । ३२ हप्ताभन्दा माथिका बच्चा यदि उनीहरू स्वस्थ छन् भने आमासँगै राख्न सकिन्छ ।
त्यस्ता बच्चालाई छिटो चिसोले लाग्ने भएकाले तातो न्यानो गरेर राख्नुपर्छ । अस्पतालबाट डिस्चार्ज भए पनि उनीहरूको विकास राम्ररी नभएसम्म उपचारमा लगिरहनुपर्छ । बच्चाको विकास कसरी भइरहेको छ यसको बारेमा थाहा पाउन विशेषज्ञको सल्लाह लिनुपर्छ । जबसम्म अवस्था सामान्य हुँदैन तबसम्म फलोअपमा गइरहनुपर्छ ।
राम्रोसँग स्याहार पुगेमा समय नपुगी जन्मिएका बच्चालाई पनि बचाउन सकिन्छ । उनीहरू पनि बिस्तारै अरु बच्चाजस्तै सामान्य हुँदै जान्छन् । स्याहार पुगेमा जटिलताहरू पनि कम हुँदै जान्छन् । तर, उनीहरूले उचित स्याहार पाएनन् भने पछि गएर शारीरिक र मानसिक विकासमा समस्या देखिन्छ । लामो समय आइसीयुमा बस्नु परेको बच्चामा यो समस्या धेरै हुन्छ । त्यसैले, उनीहरूलाई विशेष किसिमको स्याहार गर्नुपर्छ ।









प्रतिक्रिया दिनुहोस्