काठमाडौँ ।
नेपाली काँग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा निर्वाचित भएका छन् । प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै सभापति बनेका थापाले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित सम्बोधनमार्फत काँग्रेस रूपान्तरणको प्रक्रिया सुरु भएको घोषणा गरेका छन् । आफ्नो विजयलाई व्यक्तिगत उपलब्धिभन्दा परिवर्तनको पक्षमा उभिएका कार्यकर्ता तथा नागरिकको विश्वासका रूपमा व्याख्या गर्दै उनले पार्टीलाई नयाँ ढंगले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सभापतिमा निर्वाचित भएपछि शनिबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालय पुगेका थापालाई नेता, कार्यकर्ता तथा समर्थकहरूले भव्य स्वागत गरेका थिए । स्वागतका क्रममा उनले आफूले प्राप्त गरेको नेतृत्वलाई अधिकारभन्दा बढी जिम्मेवारी र जबाफदेहिताका रूपमा लिएको बताए । पार्टीको गौरवशाली इतिहासलाई सम्मान गर्दै वर्तमान आवश्यकता र नागरिकका आकांक्षाअनुसार काँग्रेसलाई रूपान्तरण गर्नुपर्ने उनको तर्क छ । यो निर्वाचनलाई काँग्रेसभित्र नेतृत्व परिवर्तन, संगठनात्मक सुधार र पार्टीप्रति असन्तुष्ट बनेका नेता–कार्यकर्ता तथा समर्थकलाई पुन जोड्ने अवसरका रूपमा प्रस्तुत गरिएको छ ।
तर थापाले अघि सारेका प्रतिबद्धता व्यवहारमा कति कार्यान्वयन हुन्छन् भन्ने विषय भने उनको चारवर्षे कार्यकालको प्रमुख परीक्षण हुनेछ । काँग्रेसको सभापति चयनका लागि भएको निर्वाचनमा थापाले ६ हजार ५८४ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरे । उपलब्ध विवरणअनुसार आगामी ४ वर्षीय कार्यकालका लागि भएको निर्वाचनमा कूल सात हजार १३ मत खसेको थियो । २२८ पदका लागि भएको निर्वाचनमा सात हजार ३१७ जना महाधिवेशन प्रतिनिधि रहेका थिए ।
सभापति पदको मतपरिणामले थापालाई पार्टीको नेतृत्व सुम्पिएको छ । तर उपसभापति, महामन्त्रीलगायत अन्य पदको मतगणना बाँकी रहेकाले नयाँ केन्द्रीय नेतृत्वको पूर्ण संरचना तयार हुन अझै समय लाग्ने देखिएको छ । सभापतिमा निर्वाचित भएपछि सानेपास्थित पार्टी मुख्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै थापाले आफू विजयको उत्सव मनाउनेभन्दा ठूलो जिम्मेवारीको बोधका साथ उपस्थित भएको बताए । उनले भने, ‘निर्वाचन मतपरिणाम मेरो व्यक्तिगत विजय मात्रै होइन, यो परिवर्तनप्रतिको विश्वासको विजय हो । यो नेपाललाई नयाँ दिशा दिन चाहने हरेक नागरिकको विजय हो ।’
आफ्नो विजयलाई पार्टीभित्रको आन्तरिक लोकतन्त्र र नयाँ पुस्ताको उदयको रूपमा पनि उनले व्याख्या गरे । काँग्रेसको नेतृत्व परिवर्तनसँगै पार्टी सञ्चालनको शैली, संगठनात्मक संरचना र नागरिकसँगको सम्बन्धमा समेत परिवर्तन आवश्यक रहेको उनको भनाइ छ । थापाले काँग्रेसको इतिहासलाई पार्टीको महत्वपूर्ण सम्पत्तिका रूपमा उल्लेख गर्दै विगतको योगदानकै आधारमा वर्तमानमा जनताको विश्वास कायम रहने अवस्था नरहेको दाबी गरे । उनले भने, ‘इतिहासबाट प्रेरणा लिनुपर्छ, तर वर्तमानका चुनौती सामना गर्न नयाँ सोच, कार्यशैली र राजनीतिक व्यवहार आवश्यक छ ।’
असन्तुष्ट पक्षलाई फर्काउने लक्ष्य
सभापति थापाले आफ्नो सम्बोधनमा पार्टी छाडेर गएका नेता–कार्यकर्ता तथा कांग्रेसप्रति निराश बनेका समर्थकलाई पुन पार्टीमा जोड्ने विषयलाई विशेष प्राथमिकता दिएका छन् । पार्टीका नेताहरू मात्र नभई वर्षौँदेखि काँग्रेसलाई समर्थन गर्दै आएका तर पछिल्ला वर्षमा पार्टीको कार्यशैलीप्रति असन्तुष्ट भएर टाढिएका नागरिकलाई समेत फर्काउने उनले प्रतिबद्धता व्यक्त गरे । ‘असन्तुष्ट बनेका व्यक्तिहरूलाई काँग्रेसको कार्यालय, संगठन र परिवारप्रति पुन आकर्षित गर्ने वातावरण बनाउँछौँ,’ उनले भने, ‘पार्टीमा फर्किन चाहने व्यक्तिका लागि आह्वान गरेर पुग्दैन, पार्टीले आफ्नो व्यवहार र काम गर्ने तरिका पनि परिवर्तन गर्नुपर्छ ।’
थापाले काँग्रेसलाई समावेशी, पारदर्शी र जवाफदेही पार्टी बनाउने पनि प्रतिबद्धता जनाएका छन् । पार्टीको संगठनलाई तल्लो तहसम्म सुदृढ गर्ने, युवा तथा महिलाको सहभागिता बढाउने र आन्तरिक गुटबन्दी अन्त्य गर्ने विषयलाई उनले आफ्नो कार्ययोजनाको महत्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरे । पार्टीभित्र विचार र मतभेद रहन सक्ने भए पनि त्यसले संगठनलाई कमजोर बनाउने अवस्था आउन नहुने उनले बताए ।
‘पार्टीमा अहिले रहेका नेता तथा कार्यकर्ताको भरोसा थप मजबुत बनाउने र संगठनको काम गर्ने तरिकालाई प्रभावकारी बनाउने छौँ,’ उनले भने, ‘निर्वाचनमा प्राप्त मतले नेतृत्व चयन गर्छ, तर व्यापक जनविश्वास कायम गर्न राजनीतिक दलले आफ्ना प्रतिबद्धता व्यवहारमा देखाउनुपर्छ ।’ साथै थापाले देशको वर्तमान राजनीतिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । सरकारका गलत निर्णयको विरोध गर्ने तर देशको हितमा हुने निर्णयलाई समर्थन गर्ने उनको भनाइ छ ।
उपसभापति र महामन्त्रीको मतगणनामा ढिलाइ
सभापतिको मतपरिणाम सार्वजनिक भए पनि काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति, महामन्त्रीलगायत अन्य पदको मतगणना बाँकी रहेको छ । निर्वाचन समितिले सम्बन्धित पदका उम्मेदवारसँगको छलफलमा शनिबार दिउँसो ३ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरेको बताइएको थियो । तर, निर्धारित समयअनुसार गणना सुरु हुन नसकेको र यस विषयमा निर्वाचन समिति तथा उम्मेदवारहरूबीच छलफल भएको महामन्त्री पदका उम्मेदवार नैनसिंह महरले जानकारी दिएका छन् ।
अन्य पदको मतपरिणामले नयाँ केन्द्रीय नेतृत्वको संरचना निर्धारण गर्नेछ । सभापति थापाले अघि सारेका रूपान्तरणका योजनालाई कार्यान्वयन गर्न उपसभापति, महामन्त्री र अन्य पदाधिकारीको भूमिका महत्वपूर्ण हुनेछ । त्यसैले सभापतिको निर्वाचनबाट नेतृत्व परिवर्तनको सन्देश प्राप्त भए पनि समग्र संगठनको सञ्चालन र भावी कार्यदिशा तय गर्न बाँकी पदको परिणाम र त्यसपछि बन्ने नेतृत्व टोलीको भूमिका निर्णायक रहनेछ ।
तर, काँग्रेसलाई नयाँ उचाइमा पु¥याउने थापाको उद्घोषको वास्तविक अर्थ संगठनमा हुने सुधार, पार्टीभित्रको लोकतान्त्रिक अभ्यास र नागरिकको विश्वास जित्ने कामबाट मापन हुनेछ । सभापतिको निर्वाचन सम्पन्न भएको छ, अब थापाको नेतृत्वका लागि सबैभन्दा महत्वपूर्ण चरण प्रतिबद्धतालाई व्यवहारमा रूपान्तरण गर्नु हुनेछ ।









प्रतिक्रिया दिनुहोस्