यस वर्षको बडादसैँ आजदेखि सुरु



कोहलपुर (बाँके) ।

हिन्दु समुदायको महान पर्व बडादसैँ आजदेखि सुरु भएको छ । आज नवरात्र प्रारम्भ तथा घटनास्थपनासमेत रहेको छ । घटस्थापनाको शुभसाइत बिहान ११ः४७ बजे रहेको छ । त्यसपछि नवरात्रारम्भ आरम्भ हुनेछ । चित्रा नक्षत्र र वैधृति योगसमेत परेकोले घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिएको नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ । समितिका अनुसार असोज २६ गते सोमबार बिहान १०ः०७ बजे झण्डा फेर्ने शुभसाइत रहेको छ ।

झण्डा पश्चिम मोहडा फर्काएर फेर्नुपर्ने जनाइएको समितिका अध्यक्ष सहप्रा.डा. पुरुषोतम भट्टराईले जानकारी दिए । उनले असोज २९ गते बिहीबार श्रीपचलीभैरव यात्रा रहेको जनाएका छन् । असोज ३१ गते शनिबार फूलपाती परेको अध्यक्ष भट्टराईले बताए । सो दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान ७ः३७ बजे र स्थिरासनको शुभसाइत बिहान १०ः३९ बजे रहेको उनको भनाइ छ । कात्तिक १ गते आइतबार महाष्टमी तथा कालरात्रि मनाइनेछ । कात्तिक ३ गते मंगलबार महानवमी परेको छ ।

कात्तिक ४ गते बुधबार विजया दशमी, देवी विसर्जन तथा टीका लगाउने दिन रहेको समितिले जनाएको छ । देवी विसर्जनको शुभसाइत बिहान ८ः४९ बजे रहेको छ । टीका लगाउने शुभसाइत बिहान १०ः२६ बजे रहेको छ । टीका लगाउँदा पश्चिम मोहडा फर्किनुपर्ने र टीका लगाइमाग्ने व्यक्ति पनि पश्चिम फर्किनुपर्ने जनाइएको छ । सोही दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान १०ः५१ बजे रहेको छ । स्थिरासनको शुभसाइत दिवा ११ः५२ बजे तथा खड्गयात्रा पनि सोही दिन हुनेछ । कात्तिक ८ गते आइतबार अखिलबलिपूर्ति तथा कोजाग्रत पूजा हुनेछ ।

यसरी मनाइन्छ घटस्थापना 

नेपालीहरुको मूल पर्व विजयादशमीको पहिलो दिन घटस्थापना आज घरघरमा जमरा राख्ने तथा घटको स्थापना गरेर मनाइँदैछ । सुख–समृद्धि र ऐश्वर्यको प्रतीक मानिने कलश स्थापना गर्ने दिन नवरात्रको पहिलो दिन अर्थात् घटस्थापना हो । घटलाई सुख–समृद्धि र ऐश्वर्य दायक तथा मंगलकारी मान्ने गरिएको छ । यसरी स्थापना गर्ने घटको मुखमा भगवान विष्णु, गलामा रुद्र एवं महादेव, मूलमा ब्रह्मा तथा मध्यमा देवी शक्तिको निवास मानेर सोहीअनुसार पूजा गर्ने गरिन्छ । नवरात्रिको समयमा ब्रह्माण्डमा उपस्थित शक्तिहरुको घटमा आह्वान गरेर उनीहरुलाई कार्यरत गर्ने गरिएको छ । यो घटको पूजा गर्नुले घरको सबै विपददायक तरंगहरु नष्ट भएर सुख शान्ति र समृद्धि आउने धार्मिक विश्वास रहेको छ ।

घटस्थापना गरिसकेपछि कलशको मध्यमा स्थापित नवदूर्गामध्येकी पहिली देवी शैलपुत्रीको पूजा गर्ने गरिन्छ । शैलपुत्री हिमालयकी पुत्री पार्वतीको अर्को नाम हो । वृषभ वाहन भएको कारणले नै यी देवीलाई वृषरुढा नामले समेत चिन्ने गरिएको छ । शैलपुत्री दूर्गाको पहिलो रुप भएकोले पनि नवरात्रमा उनको पहिलो दिन घटस्थापनलगत्तै पूजा गर्ने गरिन्छ । यसरी कलशलाई छोपिएको पातको बिर्कोलाई अक्षता अर्थात् चामलले भरिदिने गरिन्छ । त्यसमा एउटा रातो कपडाले बेरिएको नरिवल राखिन्छ ।

यसरी राखिएको नरिवलको मुख अर्थात् भेट्नाको भाग पूजा गर्ने व्यक्तिको तर्फ भएमा शत्रु बढ्छ भन्ने मान्यता छ । त्यो मुख पूर्वतर्फ भयोभने धननष्ट हुन्छ भन्ने विश्वास छ । त्यसपछि एकपटक सम्पूर्ण देवी देवतालाई विशेष मन्त्रहरुद्वारा आह्वान गर्ने गरिन्छ । यसरी कलशको सामु गहुँ र जौको माटोको पात्रमा रोप्ने गरिन्छ । सोही अंकुरित जौलाई पनि नवदूर्गाको स्वरुप मानेर पूजा गर्ने गरिन्छ । हरेक दिन यसरी गरिने जौयुक्त पात्रलाई घामले नदेख्ने ठाउँमा राख्ने गरिन्छ । घाम नदेखिएको यो जमरा विजयादशमीको दिन रातो टीकासँग मिसाएर लगाउने गरिन्छ भने टीकाको पाँचौँ दिन पूर्णिमाको दिन यसको विसर्जन गर्ने गरिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज २५ गते आइतबार