१२औँ जनगणनाले यस्ता तथ्यांक दिनेछ



कोहलपुर ।

जनगणनाको १२औँ संस्करण मंसिर ९ मा सकिएको छ । ‘मेरो गणना मेरो सहभागिता’ नारासहित कात्तिक २५ बाट शुरू भएको गणनामा करिब ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक खटेका थिए । केन्द्रीय तथ्यांक विभागले गणनामा छुटेकाहरूलाई मंसिर १५ भित्र ११७८ नम्बरमा सम्पर्क गरेर विवरण टिपाउन अनुरोध गरेको छ ।

विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठ तीन महिनाभित्र जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरिने बताउँछन् । उनका अनुसार, मंसिर महिनाभित्र जिल्लाको विवरण केन्द्रमा आइपुग्नेछ । त्यसपछि ‘डाटा इन्ट्री’ शुरू गरिनेछ । श्रेष्ठ भन्छन्, ‘दुई वर्षभित्र गणनाको सम्पूर्ण तथ्यांक सार्वजनिक हुनेछ ।’

यस्ता विवरणको तथ्यांक आउने

यो जनगणनाका लागि कूल ८० प्रश्न तयार पारिएका थिए । तीमध्ये २५ वटा भदौ ३० देखि १८ असोजसम्म चलेको घरपरिवार गणनामा सोधिएका थिए । बाँकीमध्येका प्रश्न पनि सबै घरका लागि उपयुक्त नभएकाले आवश्यकता हेरेर सोधिएको महानिर्देशक श्रेष्ठ बताउँछन् । ‘जस्तो ५ वर्षमुनिको बच्चा नभएको घरमा त्यससँग सम्बन्धित प्रश्न सोधिराख्नु आवश्यकै भएन,’ उनले भने ।

मुलुक संघीय अभ्यासमा गएपछिको पहिलो जनगणना भएकाले पनि नयाँ संरचनाभित्रका सम्पूर्ण विवरण थाहा पाउन यसको विशेष महŒव छ । यसमा समेटिएको पारिवारिक खण्डमार्फत देशभरका परिवारको सबै खाले विवरण प्राप्त हुने विभागले जनाएको छ ।

घरको स्वामित्व, बनावट, संरचनासम्मको तथ्यांक आउने भएकाले यसमार्फत घरका प्रकार, तिनको संख्या, माटो–ढुंगा वा इँटा–सिमेन्ट केबाट बनेको हो भन्ने विवरणसमेत जुट्नेछ । विभागका अनुसार खानेपानीको स्रोत, खाना पकाउन प्रयोग हुने इन्धन, उज्यालोका लागि प्रयोग गरिने बिजुली, सोलार, बायोग्यास, मट्टीतेल आदिको विवरण पनि आउनेछ ।

चर्पी प्रयोग र त्यसको प्रकारसमेत जनगणनामा समेटिएको छ । त्यसै गरी रेडियो, टिभी, मोबाइल वा टेलिफोन, ल्यापटप, कम्प्युटर, इन्टरनेट, मोटरसाइकल, गाडी, रेफ्रिजेरेटर, वासिङ मेसिन, एअर कन्डिसनरलगायत सामग्री प्रयोगकर्ताको तथ्यांक जुट्नेछ ।

महिलाका नाममा भएको घरजग्गाको विवरण पारिवारिक खण्डभित्र समेटिएको छ । यस खण्डबाट कृषिबाहेक दर्ता नगरिएका र तलबी कामदार नभएका घरेलु व्यवसायको संख्या खुल्नेछ । विदेश गएका परिवार सदस्य, तिनको लिंग, उमेर, गएको वर्ष, जानुको कारण, गएको देशलगायत विवरण पनि दिइने विभागले जनाएको छ ।

त्यसै गरी एक वर्षभित्र निधन भएका परिवार सदस्य, तिनको उमेर, मृत्युको कारणलगायत समेत पारिवारिक खण्डमा समेटिएको छ । व्यक्तिगत खण्डमा चाहिँ परिवारका सबै सदस्यको नाम उल्लेख हुन्छ ।

यसबाट घरमूलीको नाम, उमेर समूह, लिंग आदिको जानकारी पाइनेछ । त्यसपछि बच्चाको जन्म दर्ता गरे-नगरेको, सम्बद्ध व्यक्तिको मातृभाषा, उसले प्रयोग गर्ने दोस्रो भाषा, धर्म, वैवाहिक स्थिति र विवाह भएको उमेरजस्ता विवरण जुट्नेछ । जन्मस्थान, जिल्ला, देश, अक्सर बसोबास गर्ने स्थान पनि यसमा समेटिनेछ ।

यस्तै शैक्षिक विवरणसम्बन्धी खण्डबाट शैक्षिक संस्था, शिक्षाको तह, अध्ययन गरेको संकाय पत्ता लाग्नेछ । प्रजननसम्बन्धी प्रश्न बच्चाको संख्या, अपांगता, जन्मान्तर, १८ वर्षमुनिका बालबालिका, उनीहरूको अभिभावकत्वजस्ता विवरण आउने गरी तयार पारिएका छन् ।

आर्थिक क्रियाकलापसम्बन्धी खण्डबाट सम्बद्ध व्यक्तिको आम्दानीको मुख्य स्रोत, काम गर्ने संस्थाको नाम र सेवाको किसिम थाहा हुनेछ ।
विभागका अनुसार यो जनगणनामा सामुदायिक प्रश्नावलीलाई विशेष महŒव दिइएको छ ।

यसबाट आधारभूत आर्थिक, सामाजिक सेवासुविधा, पूर्वाधार र विपद् अवस्थाको जानकारी जुटाइएको छ । सामुदायिक प्रश्नावलीले वडाको सेवासुविधाको स्तर, पूर्वाधारको अवस्था, जोखिम तथा विपद् व्यवस्थापनको विषयसमेत सम्बोधन गर्ने महानिर्देशक श्रेष्ठ बताउँछन् ।

सामुदायिक प्रश्नावली खण्डले वडाभरिका टोलको संख्या, वडा कार्यालयबाट सबैभन्दा टाढाको बस्ती, जग्गा नापको एकाइ, निर्यात हुने कृषिजन्य उपज आदिको तथ्यांक दिनेछ । वडाको मुख्य आम्दानी, बसोबास गर्ने जातजाति र उनीहरूको मातृभाषा थाहा हुनेछ ।

प्रकाशित मिति : २०७८ मंसिर १७ गते शुक्रबार