भीषण वर्षाको अनुमानपछि सबै क्षेत्र सचेत



नन्दराम जैशी । सुर्खेत ।

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव नेपालतर्फ बढ्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ । यसले सम्भावित भारी वर्षा, बाढी, पहिरो, डुबान र हिमपातको जोखिमलाई लिएर सरकारी निकायदेखि यातायात तथा हवाई क्षेत्रसम्मले सतर्कता बढाएका छन् । मौसमको अवस्था निरन्तर निगरानी गर्ने, जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी बढाउने र आवश्यक परे तत्काल उद्धार तथा प्रतिकार्यमा परिचालन हुने गरी सम्बन्धित निकायले तयारी थालेका छन् ।

विभागले आगामी दिनमा वर्षाको मात्रा र क्षेत्रफल बढ्न सक्ने पूर्वानुमान सार्वजनिक गरेपछि सम्भावित जोखिम न्यूनीकरणका लागि सरोकारवाला निकायहरू सक्रिय भएका हुन् । विभागले मौसमी प्रणालीको विकास, यसको दिशा र तीव्रताअनुसार नेपालमा पर्ने प्रभाव फरक पर्न सक्ने भएकाले नियमित अद्यावधिक सूचनालाई आधार बनाएर सतर्क रहन आग्रह गरेको छ । विभागले नियमित रूपमा मौसम तथा बाढीसम्बन्धी बुलेटिन जारी गर्दै आएको छ । बंगालको खाडी तथा अरब सागरमा विकसित हुने मौसमी प्रणालीले नेपालमा प्रायः प्रत्यक्षभन्दा अप्रत्यक्ष प्रभाव पार्ने मौसमविद्हरू बताउँछन् ।

विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार भारततर्फ प्रवेश गरेपछि जमिनसँगको घर्षणका कारण प्रणाली कमजोर भए पनि त्यसबाट विकसित बादल, जलवाष्प र वर्षाको क्षेत्र नेपालसम्म विस्तार हुनेछ । त्यसैले प्रणालीको वास्तविक मार्ग, गति र शक्ति परिवर्तनसँगै नेपालमा पर्ने वर्षाको मात्रा पनि फरक पर्न सक्ने उनको भनाइ छ । मौसम प्रणालीको प्रभावका कारण बुुधबारदेखि नेपालका विभिन्न भागमा बादल लाग्ने र वर्षा हुने क्रम पनि सुरु भइसकेको छ । बिहीबारदेखि वर्षाको क्षेत्र र मात्रा थप बढ्ने तथा असोज ९, १० र ११ गते यसको प्रभाव तुलनात्मक रूपमा बढी देखिन सक्ने पूर्वानुमान गरिएको छ ।

मौसम विज्ञान विभागका अनुसार देशका विभिन्न भूभागमा वर्षासँगै मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना छ । विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको जोखिम बढी देखिएको छ भने अन्य प्रदेशका केही स्थानमा पनि भारी वर्षा हुन सक्ने जनाइएको छ । विभागकी प्रवक्ता पोखरेलका अनुसार वर्षाको प्रभाव तराईमा बाढी तथा डुबान, पहाडी क्षेत्रमा पहिरो र हिमाली क्षेत्रमा हिमपात तथा हिमआँधीको जोखिमका रूपमा देखिन सक्छ । ‘ठूलो वर्षाको पहिलो असर तराईका नदी तथा खोलामा पानीको बहाव बढ्नु र होचा भूभागमा डुबान हुनु हो,’ उनले भनिन्, ‘नदी किनारमा रहेका बस्ती, सडक, पुल तथा अन्य पूर्वाधारमा जोखिम बढ्न सक्ने भएकाले स्थानीय तह र सुरक्षा निकायले जोखिम क्षेत्रको अवस्थाबारे नियमित जानकारी लिन जरुरी छ ।’

मौसमविद् डेभिड ढकालका अनुसार २४ घण्टामा ५० मिलिमिटरभन्दा बढी र १०० मिलिमिटरभन्दा कम वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरभन्दा कमलाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षाका रूपमा वर्गीकरण गरिन्छ । ‘तर जमिन पहिले नै भिजेको अवस्थामा १०० देखि १५० मिलिमिटर वर्षा हुँदा पनि पहिरो, बाढी र सडक क्षतिको जोखिम उल्लेख्य रूपमा बढ्न सक्छ,’ उनले भने, ‘त्यसैले अहिलेको अवस्थामा ‘कति मिलिमिटर वर्षा हुन्छ’ भन्ने मात्रैभन्दा ‘कुन क्षेत्रमा, कति समय र कस्तो अवस्थामा वर्षा हुन्छ भन्ने विषय बढी महत्वपूर्ण हुन्छ ।’

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले असोज ८ देखि १२ गतेसम्म अत्यावश्यकबाहेक लामो दूरी तथा रातिको यात्रा नगर्न आग्रह गरेको छ । महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी सूचनामा सम्भावित सडक अवरोध हटाउन डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्नसमेत सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ ।
विशेषगरी पहाडी तथा हिमाली सडकमा वर्षाका कारण पहिरो खस्ने, सडक अवरुद्ध हुने र सवारीसाधन बाटोमै अलपत्र पर्ने सम्भावना भएकाले सडकको वास्तविक अवस्था नबुझी यात्रा नगर्न व्यवसायी र यात्रुलाई आग्रह गरिएको छ ।

यस्तै, सडक यातायातसँगै हवाईसेवामा समेत सम्भावित प्रतिकूल मौसमको असर पर्न सक्ने भन्दै वायुसेवा सञ्चालक संघ नेपालले सदस्य वायुसेवा कम्पनीलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। संघले असोज ९ देखि ११ गतेसम्म भारी वर्षा र प्रतिकूल मौसमको सम्भावनालाई ध्यानमा राख्दै उडान सञ्चालन गर्दा सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न भनेको छ । संघका अध्यक्ष प्रतापजंग पाण्डेले मौसमको अद्यावधिक विवरण नियमित रूपमा लिएर मात्रै उडान सञ्चालन गर्नुपर्ने बताएका छन् ।

सरकार ‘हाई अलर्ट’मा

आगामी असोज ९ गतेदेखि देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेपछि सरकारले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यको तयारी तीव्र पारेको छ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले सम्भावित बाढी, पहिरो, डुबान तथा यातायात अवरोधको जोखिमलाई मध्यनजर गर्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत मौसम प्रतिकूल हुन सक्ने भन्दै नागरिकलाई सुरक्षित रहन र आवश्यक सावधानी अपनाउन अनुरोध गरेका हुन् । प्रधानमन्त्री शाहले पोखरा आसपास, लुम्बिनीको पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमतीको पहाडी क्षेत्र, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा बाढी, पहिरो, डुबान र सडक अवरोधको जोखिमप्रति विशेष सतर्क रहन आग्रह गरेका छन् ।

उनले पानी परिरहेको समयमा तथा रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न, नदी तथा खोला आसपास र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजनामा रहेकालाई मौसममा सुधार नआएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न पनि उनले अनुरोध गरेका छन् । सम्भावित भारी वर्षा र त्यसबाट निम्तिन सक्ने बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै सरकारले पूर्वसूचना प्रणालीलाई थप चुस्त बनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरी नदीको जलसतह तथा जोखिमको अवस्था ‘रियल टाइम’मा निगरानी गरिनेछ ।

सम्भावित बाढी कुन समयमा खतराको तहमा पुग्न सक्छ र त्यसबाट कस्तो प्रभाव पर्न सक्छ भन्ने प्राविधिक विश्लेषणका आधारमा सूचना अद्यावधिक गरिने उप्रेतीले बताए । उनका अनुसार नागरिकका मोबाइलमा एसएमएसमार्फत आउने अलर्टलाई गम्भीरतापूर्वक लिन आग्रह गरिएको छ । समुद्रमा बन्न सक्ने ठूलो आँधीको प्रणाली तथा त्यसको सम्भावित दिशालाई समेत प्राधिकरणले निगरानी गरिरहेको छ । भने सम्भावित विपद्लाई ध्यानमा राख्दै देशभरका सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ । ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित कमाण्ड पोस्टमार्फत मौसमी अवस्थाको प्रत्यक्ष निगरानी तथा सम्भावित विपद्को प्रतिकार्य तयारीलाई तीव्र पारिएको प्राधिकरणले जनाएको छ ।

कहाँ–कहाँ छ बाढीको जोखिम ? 

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी पाँच दिन देशका प्रमुख नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरेको छ । हाल प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहे पनि आगामी दिनमा वर्षाका कारण नदीहरूमा जलसतह बढ्ने र आकस्मिक बाढीको जोखिम रहने महाशाखाले जनाएको हो । महाशाखाले बुुधबार जारी गरेको विशेष बाढी पूर्वानुमान बुलेटिनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा बहाव सतर्कता तहभन्दा उल्लेख्य तल थियो । कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको अवस्था पनि सामान्य थियो । तर बिहीबार असोज ८ गतेदेखि कोशी, कन्काई र कमला नदीमा जलसतह उल्लेख्य रूपमा बढ्नेछ ।

यसैगरी, असोज ९, १० र ११ गते देशभरका प्रायः सबै प्रमुख नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने बुलेटिनमा उल्लेख छ । ठूला नदीमा तत्काल ठूलो जोखिम नरहे पनि आज देशका विभिन्न ३१ जिल्ला भई बग्ने स–साना नदीहरूमा भने आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ । कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी, मोरङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, धनकुटा, भोजपुर र खोटाङमा जोखिम रहेको छ । बागमती प्रदेशका दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ उपत्यका, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ र चितवनका स–साना नदीमा जलसतह बढ्नेछ ।

त्यस्तै, गण्डकी प्रदेशका गोरखा, तनहुँ, कास्की, लमजुङ र नवलपरासी पूर्व तथा कोशी प्रदेशको उदयपुर आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्नेछ । महाशाखाका अनुसार असोज ८ गते कोशी, बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेश भई बग्ने केही स–साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्नेछ । असोज ९ गते भने देशका सातै प्रदेश भई बहने केही स–साना नदीहरूमा बहाव आकस्मिक बढ्न सक्ने पूर्वानुमान गरिएको छ । नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई मौसम र बाढीको अवस्था हेरी सुरक्षित रहन सुझाव दिइएको छ ।

सुदूरपश्चिममा वस्ती स्थानान्तरण

सुदूरपश्चिम प्रदेशका जिल्ला प्रशासन कार्यालयदेखि स्थानीय तह र सुरक्षा निकायसम्मले पनि पूर्वतयारी तीव्र बनाएको बताएका छन् । भारी वर्षाको सम्भावनासँगै सुदूरपश्चिममा बाढी, डुबान र पहिरोको जोखिमलाई ध्यानमा राख्दै जिल्लास्तरमा पूर्वतयारी अघि बढाइएको हो । बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार सम्भावित विपद्लाई ध्यानमा राखेर जिल्लाका स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति र विपद्को क्षेत्रमा काम गर्ने निकायलाई सचेत गराइएको छ ।

जिल्ला सुरक्षा समन्वय समितिको बैठकमा पनि सम्भावित जोखिमबारे छलफल गरिएको र मार्तडी–साफेबगर सडकखण्डमा रातिको आवागमन बन्द गर्ने विषयमा समेत छलफल भइरहेको उनले जानकारी दिए । उनका अनुसार जिल्लामा १३० भन्दा बढी वस्ती बाढी तथा पहिरोको जोखिममा छन् । दार्चुलाले भने सम्भावित जोखिमलाई मध्यनजर गर्दै जोखिममा रहेका वस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न थालेको छ । प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार मौसमसम्बन्धी बुलेटिन सार्वजनिक भएपछि जिल्लालाई उच्च जोखिममा राखेर स्थानीय तह र अन्य सरोकारवाला निकायलाई सचेत गराइएको छ ।

उनका अनुसार व्याँस गाउँपालिका–४ मडगाउँका जोखिममा रहेका स्थानीयलाई पालिकाको समन्वयमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । नदी तटीय क्षेत्रका बस्ती र बजारमा समेत जोखिम रहेको प्रशासनले जनाएको छ । गोकुलेश्वर र खलंगालगायत क्षेत्रमा नदीको बहाव बढ्दा समस्या आउन सक्ने भएकाले निगरानी बढाइएको छ । सम्भावित पहिरो तथा बाढीका कारण राजमार्ग अवरुद्ध हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै खाद्यान्न मौज्दात राख्न पनि भनिएको पौडेलले बताए । साथै अस्पतालहरूलाई पनि विपद्का बेला घाइते तथा बिरामीको उपचार व्यवस्थापन गर्न सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।

कैलालीमा भने कर्णाली, मोहनालगायत नदीको बहाव र मौसमसम्बन्धी सूचना नियमित लिने तथा नदी तटीय बस्तीलाई समयमै सचेत गराउने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार डुबानको जोखिममा रहेका क्षेत्रमा उद्धार टोली तथा आवश्यक सामग्री तयारी अवस्थामा राखिनेछ । उनका अनुसार पहाडी क्षेत्रमा पहिरोको सम्भावनालाई ध्यानमा राख्दै स्काभेटर तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई भनिएको छ । डुबान र पहिरोबाट प्रभावित नागरिकको उद्धारका लागि आवश्यक सामग्रीसमेत तयारी अवस्थामा राखिनेछ ।

यस्तै बझाङ, बैतडी, अछाम, डडेल्धुरा, डोटी, कञ्चनपुरमा पनि आवश्यक तयारी सूचना जारी गर्ने काम गरिएको त्यहाँका सम्वन्धीत प्रशासन कार्यालय र स्थानीय तहले जानकारी दिएका छन् । कञ्चनपुरमा दोधारा चाँदनी, लालझाडी र पुनर्वास तथा कैलालीमा धनगढी, भजनी, कैलारी र टीकापुर बाढी तथा डुबानको उच्च जोखिममा रहेका क्षेत्र हुन् । सुदूरपश्चिम प्रदेशको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनाले यस वर्ष प्रदेशका करिब सात हजार ६०३ घरधुरीका ३२ हजार २२७ जना मनसुनजन्य विपद्बाट प्रभावित हुनसक्ने अनुमान गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज ८ गते बिहीबार