काँग्रेस महाधिवेशनको प्रक्रिया सुरु



नेपालगन्ज ।

देशको सबैभन्दा लामो इतिहास बोकेको दल नेपाली काँग्रेसको १५औँ केन्द्रीय महाधिवेशन प्रक्रिया शनिबारदेखि सुरु भएको छ । पार्टीको वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रीय तहसम्मको नेतृत्व चयनका लागि सुरु भएको महाधिवेशन बहुप्रतीक्षित र विवादको लामो श्रृंखलाबीच हुन लागेको हो ।महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते स्थानीय अनुकलता अनुसार वडा अधिवेशन, असोज ७ गते गाउँ–नगरपालिका अधिवेशन, १० गते प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र असोज १६–१९ गतेसम्म केन्द्रीय महाधिवेशनको कार्यतालिका निर्धारण गरिएको छ ।

केन्द्रीय महाधिवेशनबाट नेतृत्व चयनका गर्न असोज १९ गते मतदानको कार्यतालिका तोकिएको छ । गत वर्ष माघमा भएको विशेष महाधिवेशनपछि पार्टीभित्र स्पष्ट तीन धारहरू देखिएर विभाजनको संघारमा पुगेको काँग्रेसमा अहिलेपनि एक मत भएर महाधिवेशन हुन लागेको छैन । महाधिवेशनबाट निर्वाचित संस्थापन पक्षले शनिबारबाट अधिवेशन सुरु गर्दा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले भने असोज १५ गतेदेखि छुट्टै अधिवेशन गर्ने घोषणा गरेको छ ।शेखर कोइराला पक्षले दुवै महाधिवेशनमा सहभागिता नजनाउने घोषणा गरेको छ । यद्धपि पहिले देउवा र कोइराला खेमामा रहेका ८० प्रतिशतभन्दा बढी नेताहरू सभापति गगन थापाको पक्षमा आइसकेका छन् । यसले पार्टीभित्र विशेष महाधिवेशनको म्यान्डेटको स्वीकार्यता थप बढाएको छ ।

काँग्रेसको विधान अनुसार वडा अधिवेशनले वडा समितिको चयन गर्दछ भने क्षेत्रीय प्रतिनिधिहरू पनि चयन गर्ने गर्दछ । त्यसपश्चात हुने पालिकादेखि क्षेत्रीय अधिवेशनमा वडाबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिहरू सदस्य हुन्छन् । क्षेत्रीय अधिवेशनले निर्वाचित गरेका महाधिवेशन प्रतिनिधिहरूले केन्द्रीय महाधिवेशनमा भाग लिन्छन् र केन्द्रीय नेतृत्व चयन गर्ने गर्छन् । पालिका तथा क्षेत्रीय अधिवेशनमा वडा समितिका अध्यक्षहरूसमेत सदस्य हुन्छन् भने क्षेत्रीय अधिवेशनमा पालिका सभापतिहरू पनि सदस्य हुन्छन् ।यसरी हुने क्षेत्रीय समितिको अधिवेशनबाट निर्वाचित हुने केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू र गाउँ तथा नगर समितिका सभापतिहरू केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ ।

केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू नै प्रदेश महाधिवेशनका पनि प्रतिनिधि हुने व्यवस्था पार्टीको विधानमा छ । जिल्ला अधिवेशनमा पनि प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा सदस्यहरू नै सदस्य हुने व्यवस्था छ । त्यही व्यवस्थाले दिएको सुविधाका आधारमा काँग्रेसले अहिले पहिलो चरणमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गरेर महाधिवेशन प्रतिनिधिहरू छनौट गरी केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने र दोस्रो चरणमा जिल्ला तथा प्रदेशस्तरीय अधिवेशन गर्ने कार्यतालिका बनाएको छ ।विशेष महाधिवेशनबाट संशोधित विधानअनुसार काँग्रेसको अब बन्ने केन्द्रीय कार्यसमिति दुई सय ३२ जना सदस्यहरू रहनेछन् । केन्द्रीय कार्यसमितिमा एक सय ७१ जना महाधिवेशन प्रतिनिधिबाट निर्वाचित र ६१ जना सभापतिबाट मनोनित सदस्य रहने व्यवस्था छ । यसैगरी प्रतिनिधिसभा संसदीय दलको नेता र प्रदेश कार्यसमितिको सभापति केन्द्रीय कार्यसमितिको पदेन सदस्य हुने व्यवस्था छ ।

१४औँ महाधिवेशन हुँदा काँग्रेसको केन्द्रीय कार्यसमिति एक सय ६८ सदस्यीय हुने व्यवस्था थियो । यसैगरी काँग्रेसको संशोधित विधानअनुसार ‘ल्याटरल इन्ट्री’ (विशेष प्रवेश) मार्फत पार्टीमा प्रवेश गरेकाहरूलाई पनि केन्द्रीय कार्यसमितिमा स्थान दिइने छ । त्यस्तो व्यवस्थाबाट सात जना केन्द्रीय सदस्यमा निर्वाचित हुनेछन् । यस्तै, ३५ वर्ष मुनिका २१ जना युवालाई पनि केन्द्रीय कार्यसमिति राखिने भएको छ ।काँग्रेसको केन्द्रीय कार्यसमितिमा सभापति १, उपसभापति २, महामन्त्री २ र सहमहामन्त्री ८ गरी १३ जना पदाधिकारी रहने व्यवस्था छ । ८ सहमहामन्त्रीको निर्वाचन अनिवार्य रूपमा महिला, आदिवासी जनजाति, दलित, मधेशी, खसआर्य, थारू, मुस्लिम र पिछडिएको क्षेत्रबाट हुनुपर्ने व्यवस्था गरिएको छ ।

खुला केन्द्रीय सदस्यमा ३५ र महिला खुला सदस्यमा नौ जना निर्वाचित हुने व्यवस्था छ । प्रत्येक प्रदेशबाट ३–३ जनाका दरले ७ प्रदेशबाट २१ जना निर्वाचित गरिनेछ भने समावेशी क्लस्टरबाट ५४ केन्द्रीय सदस्य निर्वाचित गर्ने व्यवस्था विधानमा गरिएको छ । समावेशी क्लस्टरअन्तर्गत आदिवासी जनजाति १५, खसआर्य १३, दलित १०, मधेशी ९, थारू ४, मुस्लिम ३ र पिछडिएको क्षेत्रबाट १ सदस्य हुने व्यवस्था छ ।क्लस्टरअनुसार छुट्याइएको कोटामा पनि महिलाका लागि कोटा तोकिएको छ । जसअनुसार आदिवासी जनजाति १५ जनामा ७ महिला, खसआर्य १३ जनामा ६ महिला, दलित १० जनामा ४ महिला र १ मधेशी दलित, मधेशी ९ जनामा ४ महिला, थारू ४ जनामा २ महिला र मुस्लिम ३ जनामा १ महिला हुनुपर्ने व्यवस्था छ ।

महाधिवेशनको आधार वडा अधिवेशन 

काँग्रेसको विधानले वडा अधिवेशनबाटै क्षेत्रीय प्रतिनिधिको चयन गरिने व्यवस्था गरेको छ । वडा क्षेत्रभित्रका क्रियाशील सदस्यहरूले मतदान गर्न पाउने वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिहरूमध्येबाटै महाधिवेशन प्रतिनिधिहरू चयन गरिने भएकोले काँग्रेसको अधिवेशनमा वडा अधिवेशन आधार अधिवेशनका रूपमा रहेका छन् ।१५० वा सोभन्दा कम क्रियाशील सदस्य भएको वडाको अधिवेशनले क्रियाशील सदस्यमध्येबाट क्षेत्रीय अधिवेशनका लागि कम्तिमा तीन जना महिला, एक श्रमिक वा पेशागत क्षेत्रसहित नौ जना क्षेत्रीय प्रतिनिधिहरू चयन गर्नेछ । यस्तै ३० वर्ष उमेर नपुगेका एक महिलासहित तीन युवालाई पनि क्षेत्रीय प्रतिनिधिका लागि वडा अधिवेशनले प्रत्यक्ष निर्वाचित गर्नुपर्ने वैधनिक व्यवस्था छ ।

त्यसैगरी १५० भन्दा बढी क्रियाशील सदस्य भएको वडामा बढीमा ५५ को सीमाभित्र रहेर प्रति १५० थप क्रियाशील सदस्यमा दुई महिला र एक युवासहित छ जना थप प्रतिनिधि प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ ।यसैगरी, महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारू, मुस्लिम, अल्पसंख्यक, पिछडिएको क्षेत्रबाट प्रत्यक्ष निर्वाचित हुने सदस्य सङ्ख्याको ५० प्रतिशत सङ्ख्यामा वडाको जनसङ्ख्याको बनोटअनुसार समानुपातिक आधारमा तोकिएबमोजिम प्रतिनिधि निर्वाचित गर्नु पर्ने विधानमा उल्लेख छ ।यस्तै वडा अधिवेशनले एक वडा सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव एक र एक सह–सचिव निर्वाचित गर्ने व्यवस्था छ ।

काँग्रेसको विधानअनुसार गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाअन्तरर्गतका वडाबाट निर्वाचित हुने वडा सभापतिले निर्वाचित वडा कार्यसमितिबाट कोषाध्यक्ष मनोनीत गर्न पाउँछन् ।गाउँपालिका वडा अधिवेशनबाट कम्तिमा दुई महिला, एक दलित र ३० वर्ष मुनिको एक युवासहित सात जना लाई वडा सदस्यमा निर्वाचित हुने व्यवस्था छ । यसैगरी, नगर  उपमहानगरपालिका वडा अधिवेशनले दुई महिला, एक दलित र ३० वर्ष मुनिका दुई युवासहित आठ जना र महानगरपालिकाको वडा अधिवेशनबाट कम्तिमा तीन महिला, एक दलित र ३० वर्ष मुनिका तीन युवासहित ११ जना वडा सदस्यमा प्रत्यक्ष निर्वाचित गर्ने व्यवस्था छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज ४ गते आइतबार